७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावी दौडमा पुरानै अनुहार

पूर्वेली ब्युरो

 

विराटनगर- आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न मोरङका मुख्य दलमा आकांक्षीको लर्को लागेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलमा उम्मेदवार बन्नेको लर्को लागेको हो ।

कांग्रेसमा अन्य दलको तुलनामा अत्यधिक आकांक्षी देखिएका छन् । एउटै क्षेत्रबाट ५६ जनासम्म आकांक्षीको नाम जिल्लामा सिफारिस भएपछि जिल्ला समितिलाई केन्द्रमा सिफारिस गर्न अप्ठेरो परेको छ  ।

मोरङमा कांग्रेस र एमालेमा उम्मेदवार बन्न चाहनेको भीड लागेको छ । कांग्रेसमा अन्य दलको तुलनामा अत्यधिक आकांक्षी देखिएका छन् । एउटै क्षेत्रबाट ५६ जनासम्म आकांक्षीको नाम जिल्लामा सिफारिस भएपछि जिल्ला समितिलाई केन्द्रमा सिफारिस गर्न अप्ठ्यारो परेको छ  ।
केन्द्रले एक  क्षेत्रबाट तीन जनाको मात्रै नाम पठाउन निर्देशन दिए पनि मोरङ कांग्रेसले क्षेत्रीय समितिले सिफारिस गरेका सबै आकांक्षीको नाम केन्द्रमा सिफारिसको तयारी गरेको कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।
मोरङको क्षेत्र नम्बर ६ ले जिल्ला समितिलाई प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ४ जना, समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको थियो । यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस गरेको थियो । क्षेत्र नम्बर ६ बाट मात्रै हैन, अन्य क्षेत्रबाट पनि धेरै आकांक्षीको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रस“ग तालमेल गरेको एमाले मोरङले अझैसम्म केन्द्रमा आकांक्षीको नाम सिफारिस गरेको छैन । शनिबार बस्ने जिल्ला समिति बैठकले मोरङबाट केन्द्रमा नाम सिफारिस गर्ने एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभामा ऋषिकेश पोखरेलको नाम सर्वसम्मत सिफारिस भएको छ । अन्य क्षेत्रमा भने आकांक्षी धेरै देखिएका छन् । मोरङमा प्रतिनिधिसभामा भन्दा बढी उम्मेदवारको रुचि प्रदेशसभामा भएको पाइएको छ । प्रदेशसभामा क्षेत्रले सिफारिस गरेको भन्दै विभिन्न पार्टीका आकांक्षीले समाजिक सञ्जालमार्फत भोट माग्न थालिसकेका छन् । प्रदेशसभाका लागि युवा उम्मेदवारहरूले ज्यादा आकांक्षा देखाएका छन् ।   
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलले स्थानीय तहका कार्यकर्तामा अन्योल पैदा गरेको छ । कुन क्षेत्र आफ्नो भागमा पर्ने हो र कसले टिकट पाउने भन्ने अन्योल दुवै दलका आकांक्षीमा छ । तालमेल भएको स्थानमा छाड्न आकांक्षी मानसिक रुपमा तयार रहेको अध्यक्ष ढकालले दाबी गरे ।  
केन्द्रमा चुनावी तालमेल नहु“दै माओवादी केन्द्र मोरङले भने क्षेत्रबाट आएका उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिसकेको छ । प्रतिनिधिसभाको निर्वाचनमा मोरङका ६ क्षेत्रमध्ये माओवादी केन्द्रले २ क्षेत्र आफूले पाउनुपर्ने दाबी गरेको छ । केन्द्रमा ६० र ४० को आधारमा सहमति भएकाले मोरङमा माओवादी केन्द्रले २ क्षेत्र पाउने माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बुले बताए । माओवादी केन्द्रले १, २ र ३ क्षेत्रमध्ये एउटा र ४,५ र ६ मध्ये एउटा क्षेत्र लिने योजना बनाएको छ । माओवादी केन्द्रले जुनजुन क्षेत्र पाए पनि मोरङबाट सावित्रीकुमार काफ्ले र शिवकुमार मण्डललाई उम्मेदवार बनाउने लगभग निश्चित गरिसकेको  माओवादी केन्द्र स्रोतले जनाएको छ । प्रदेशसभाका लागि माओवादी केन्द्रले मोरङमा ४ क्षेत्र दाबी गरेको छ । प्रदेशसभाका १२ मध्ये ४ क्षेत्रमा माओवादीले उम्मेदवार उठाउने योजना बनाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ । जुन क्षेत्र आफ्नो भागमा पर्छ त्यही क्षेत्रबाट सिफारिस भएका उम्मेदवारलाई चुनावमा उठाउने माओवादी केन्द्रको योजना रहेको मोरङ इन्चार्ज कुशल लिम्बुले बताए । उनले भने, ‘मोरङमा कुन क्षेत्र आफ्नो भागमा पर्छ भन्ने निश्चित नभएकाले सबै क्षेत्रबाट सिफारिस भएर आएका नामलाई केन्द्रमा पठाएका छौं ।’
प्रतिनिधिसभामा उम्मेदवारका आकांक्षी थोरै भए पनि प्रदेशसभाका लागि इच्छा गर्नेहरू माओवादी केन्द्रमा धेरै देखिएका छन् । गत संविधानसभा चुनावमा मोरङका ९ मध्ये ५ स्थान कांग्रेस, ३ एमाले र १ स्थानमा माओवादी केन्द्र विजयी भएको थियो । हाल निर्धारण गरिएको ६ क्षेत्रमध्ये ३ स्थानमा कांग्रेस, २ स्थानमा एमाले, माओवादी गठबन्धन र एक स्थानमा राजपा, संघीय समाजवादी फोरम गठबन्धन बलियो रहेको छ ।

०००
उम्मेदवारी चयनमा ‘सकस’  
प्रतिनिधिसभाका लागि सहमतिमा उम्मेदवारको नाम सिफारिस गरेका कांग्रेस  र एमालेका लागि प्रदेशसभाको उम्मेदवारी चयनले सबैभन्दा ठूलो सकस दिएको छ ।
प्रतिनिधिसभाका लागि अधिकांश ठाउँमा एक–एकजनाको नाम सिफारिस गरेका दलहरूभित्र प्रदेशका लागि भने नाम सिफारिसमै पनि मतदान गर्नुपर्ने अवस्था आएको छ ।
    एउटा तहका नेताहरूको व्यवस्थापन स्थानीय तहमा भइसकेको र उच्च तहका नेताहरूले केन्द्रीय संसद् ताक्ने भएपछि प्रदेशमा दाबी गर्ने नेताकार्यकर्र्ताको संख्या ठूलो देखिएको हो । केन्द्रमा नेताहरू गठबन्धनको तयारीमा व्यस्त रहे पनि जिल्लाबाट अधिकांश दलका स्थानीय संयन्त्रहरूले सम्भावित उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।
    झापामा  एमाले, कांग्रेस र माओवादीलगायतका दलले प्रतिनिधिसभाको अधिकांश क्षेत्रमा एकएक जनाको नाम सिफारिस गरेका छन् । तर, प्रदेशका लागि भने केन्द्रले निर्धारण गरेभन्दा बढी नाम सिफारिस भएको छ ।
    कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माका अनुसार पार्टी केन्द्रले हरेक क्षेत्रबाट तीन जनाको नाम सिफारिस गर्न भनेर जिल्ला समितिलाई भनेको थियो । तर, झापाका १० वटा प्रदेश क्षेत्रबाट कम्तीमा ५० जनाको नाम सिफारिस भएको छ । एमालेमा पनि अवस्था उस्तै छ । एमालेले झापाका सबै प्रदेशसभा क्षेत्रमा निर्वाचनद्वारा तीन जनाको नाम सिफारिस गरेको छ । चुनावमा एउटै क्षेत्रमा कम्तीमा १ दर्जन नेताले दाबेदारी प्रस्तुत गरेका थिए । ‘ठूलो कार्यकर्ता पंक्ति, बलियो जनाधार र इतिहास बोकेका दलहरूभित्र यस्तो आकाक्षां हुनु स्वाभाविक हो’, कांग्रेस नेता शर्माले भने, ‘यसलाई अन्यथा लिन हुँदैन ।’
    आकांक्षीको संख्या धेरै हुँदा व्यवस्थापनको चुनौती हुने तर कांग्रेसले त्यसलाई व्यवस्थापन गर्ने दाबी उनको छ । एमाले नेताहरू पनि प्रदेशमा भएको दाबेदारीको ठूलो संख्याले कुनै समस्या नहुने बताउँछन् । ‘ठूलो दलमा जिम्मेवारीका लागि दाबी गर्ने कुरा अनौठो होइन’, एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसद रबिन कोइरालाले भने, ‘यसमा पार्टीको निर्णय सर्वोपरी मानेर सबै दाबेदार हिँड्नुहुनेछ ।’ उनले प्रदेशसभामा भएको ठूलो संख्याको दाबेदारीले एमालेभित्र कुनै असहज अवस्था नआउने पनि बताए ।
    एमालेभित्र पनि तीन जनाको नाम सिफारिस गर्न केन्द्रले निर्देश गरेको छ । तर, स्थानीय संयन्त्रहरूले तीन जनाको छनोट गर्दा निर्वाचनकै विधि अपनाएका छन् । यसले तीन जनाको नाम सिफारिस हुँदा जिल्ला कमिटीले ‘छुटाउनै नहुने नाम सामेल गराउने’ जिल्लाका एक नेताले बताए । यसो गर्दा १० वटा नामका लागि एमालेमा पनि ५० हाराहारी नाम केन्द्रमा पुग्ने निश्चित छ ।
तर, प्रतिनिधिसभाका हकमा भने एक जनाको मात्रै नाम सिफारिस गरेर एमालेले विवाद नभएको सन्देश दिएको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसमा पनि केही क्षेत्रबाहेक सबैमा एक जनाकै नाम सिफारिस भएको छ । जसअनुसार  नेता कृष्णप्रसाद सिटौला आफ्नो पुरानै क्षेत्र झापा ३ बाट चुनाव लड्ने भएका छन् ।
एमालेले क्षेत्र नम्बर १ बाट गोपाल बुढाथोकी, २ बाट पवित्रा खरेल, ३ बाट पुष्प पोखरेल र ४ बाट एलपी साँवाको नाम सिफारिस गरेको जिल्ला सचिवालयका शिव ढुंगेलले जानकारी दिए ।
कांग्रेसले झापा क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ भने २ बाट सुधीर शिवाकोटी, उद्धव थापा, सरिता प्रसार्इं, राजेश खड्काको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ३ बाट कृष्णप्रसाद सिटौला, ४ बाट देउकुमार थेवेको नाम सिफारिस भएको छ । कांग्रेसले ५ नम्बर क्षेत्रको नाम टुंगो लगाएको छैन । तर, क्षेत्रीय कमिटीले नेता केशवकुमार बुढाथोकीलाई एमाले अध्यक्ष ओलीसँग लडाउने तयारी गरेको छ । तर, नेता बुढाथोकीले यसअघि नै चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

माओवादी केन्द्रले पनि जिल्लामा उम्मेदवार टुंगो लगाएको छ । उसले प्रतिनिधिसभा चुनावमा क्षेत्र नं. १ बाट बोधराज दाहाल, २ बाट धर्मशिला चापागाई, ३ बाट मोहन टुडु, ४ बाट झलकसिंह दर्लामी र ५ बाट रेवतराज पुरी (गगन) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, प्रदेशसभाका लागि माओवादीभित्र पनि आकांक्षीको लर्को छ । माओवादी स्रोतका अनुसार पार्टीले कम्तीमा ४० जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । राप्रपाले भने असोज २२ गतेभित्र उम्मेदवार टुंगो लगाउने तयारी रहेको जनाएको छ ।
उम्मेदवारी सिफारिस तीव्र    
सुनसरीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलहरूले उम्मेदवार छनोट र सिफारिस तीव्र पारेका छन् । यहाँबाट उम्मेदवार सिफारिस भएकामा विभिन्न दलबाट तीन जना मन्त्री र दुई जना केन्द्रीय नेता छन् ।
वाणिज्यमन्त्री रहेका कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको नाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । क्षेत्र नं. १ बाट कांग्रेसले प्रतिनिधिसभाका लागि विश्वकर्मासँगै लक्ष्मी खतिवडा र विनोद राईको पनि सिफारिस गरेको छ । कांग्रेसबाटै अर्थमन्त्री रहेका ज्ञानेन्द्र कार्कीको क्षेत्र नं. ४ बाट प्रतिनिधीसभामा नाम सिफारिस भएको छ । यो क्षेत्रबाट कांग्रेसले पूर्व जिल्ला सभापति रामबहादुर बस्नेत र जमिल अन्सारीको पनि नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ ।
एमाले सचिव भीम आचार्य जिल्लाको क्षेत्र नं. १ को ‘ख’ क्षेत्रबाट उम्मेदवार बन्ने प्रायः निश्चित भएको छ ।
मधेसी दलमध्ये लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाबाट उम्मेदवार बन्ने पक्का छ । मधेसी दलमध्ये संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं. ४ बाटै प्रतिनिधिसभाका लागि सिफारिस भएको छ । तर, उनी कहाँबाट उम्मेदवार बन्ने टुंगो लागेको छैन ।
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा ६ वटा क्षेत्र रहेकोमा अहिले चारवटा मात्र कायम गरिएको छ । जसमा क्षेत्र नं. १ बाट एमालेले प्रतिनिधिसभामा प्रकाश राई र जयकुमार राईको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका लागि क्षेत्र नं. १ ‘क’ बाट भने प्रदीप भण्डारीको नाम सर्वसहमत सिफारिस भएको कार्यवाहक अध्यक्ष रमेश बस्नेतले बताए । कांग्रेसले क्षेत्र नं. बाट प्रदेशसभाका लागि उमेश थापा, किशोर राई, मदन ढकाललगायतको नाम सिफारिस गरेको छ ।
यस्तै, क्षेत्र नं. २ बाट एमालेमा प्रतिनिधिसभाका लागि रेवती भण्डारीको सम्भावना बलियो छ । कांग्रेसबाट क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि जिल्ला सभापति राजीव कोइराला, महासमिति सदस्य राजीव ढुंगाना, सीताराम मेहता र बरेन्द्र कार्कीको सिफारिस गरिएको छ । कांग्रेसबाट जिल्ला सभापति कोइरालाको नाम २ र ३ नम्बर क्षेत्रबाट सिफारिस भएको छ । प्रदेशसभाका लागि क्षेत्र नं. २ बाट कांग्रेसका बद्रीनारायण चौधरी, हेमकर्ण पौडेल, फूलराज सुवेदीलगायतको नाम सिफारिस गरिएको छ ।
 एमालेबाट क्षेत्र नं. २ को प्रदेशसभामा भने ‘क’ बाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य धर्मराज निरौलाको सम्भावना बलियो छ । क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा एमालेकै वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीको पक्कापक्कीजस्तै छ ।
कांग्रेसले प्रतिनिधिसभाको क्षेत्र नं. ३ बाट हरि सापकोटा र सत्यनारायण चौधरीको पनि नाम सिफारिस गरेको छ । ३ नं. क्षेत्रबाट प्रदेशसभाका लागि ओम थापा, भरत गौली, दीपेन्द्र केसी, महेश बास्तोलालगायतको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि रमेश श्रेष्ठ र जगदीश कुसियतमध्ये एक जनाको सिफारिस गरिनेछ । कांग्रेसबाट क्षेत्र नं. ४ का लागि प्रदेशसभामा रेवती दुलाल, उपेन्द्र कटुवाल, डिल्ली कार्कीलगायतको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि क्रमशः १ बाट मुकसाहाङ म्याङ्बो, २ बाट डम्बर सुवेदी, ३ बाट सन्तोष थारू र ४ बाट निर्मल बरालको नाम सिफारिस गरिसकेको छ । यस्तै, प्रदेशमा क्षेत्र नं. १ बाट अशोक राई, उमिला बरायली, चोत्लुङलगायतको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ बाट शिवकुमार डाँगी, चन्द्रकुमार चौधरी, उमेश साह र माया पोखरेलको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. ३ बाट भानु मैनाली, दुर्गेश चौधरी र चेतना रिजालको नाम सिफारिस गरिएको छ ।  क्षेत्र नं. ४ बाट राजन कटुवाल, जागिर हुसेनलगायतको सिफारिस भएको छ । तर, अब केन्द्रमा वामपन्थी दलहरूबीचको धुव्रीकरणले सिफारिस गरिएका उम्मेदवारमध्ये कुन क्षेत्र कसले पाउने भन्ने आधारबाट मात्र टुंगो लाग्ने माओवादीका नेता हिमाल सुवेदीले नागरिकलाई बताए ।
 सुनसरीमा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पराजय भोगेको कांग्रेसले असार १४ गते भएको स्थानीय निकायको निर्वाचनमा ‘कमब्याक’ भएको थियो ।  एमालेको केही स्थानीय निकायमा क्षति पुगे पनि संख्यात्मक हिसाबले जिल्लाभर अगाडि छ । मधेसी दलका दुई शीर्ष नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा साख जोगिएको छ । एकीकृत माओवादी भने स्थानीय निकायमा नराम्ररी पराजित हुन पुग्यो ।
०४८ सालको आमनिर्वाचन, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा कांग्रेसले जित्दै आएकोमा ०६४ सालको निर्वाचनमा शून्य हात लागेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ मा मात्र जितेको थियो ।
पहिलो पटकको संविधाससभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालले क्षेत्र नं. ३, ४ र ५ मा जितेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार क्षेत्र नं. ३ र संघीय समाजवादी फोरम नेपाल अध्यक्ष यादव क्षेत्र नं. ५ बाट बिजयी भएका थिए । एमालेले पहिलो संविधानसभाको निर्वाचनमा दुईवटा र दोस्रोमा तीनवटा निर्वाचन क्षेत्र जितेको थियो ।
जनयुद्धपछि पहिलोपटक ०६४ को संविधानसभा निर्वाचनमा भाग लिएको माओवादी पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ विजयी भएको थियो ।
(विनोद सुवेदी÷विराटनगर, अमर खड्का÷इटहरी र राजु अधिकारी÷झापाको सहयोगमा )

प्रकाशित: २२ आश्विन २०७४ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App