८ वैशाख २०८१ शनिबार
अर्थ

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

पाँचथर – पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गरेका छन्। 

फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गरेका हुन्। यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ। 

वैदेशिक रोजागारीका लागि उनी ०६६ सालमा बेल्जियम गए। त्यहाँ उनले झन्डै मासिक रु एक लाख ५० हजार कमाइ गर्थे तर त्यहाँ कमाएको पैसाभन्दा थोरै भएपनि स्वदेशमा नै कमाउनुपर्छ भन्ने सोचाई लिएर चार वर्षपछि उनी घर फर्किए। 

घर फर्किएपछि उनले वैदेशिक रोजगारीबाट कमाएको रकम बाख्रापालन व्यवसायमा लगानी गरे। अहिले उनको फार्ममा बयर जातका बाख्राबाख्री र त्यसका पाठापाठी छन्। पाठापाठी बिक्री गरेर उनले मासिक रु ४० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन्। 

फार्मबाट उत्पादन भएका पाठापाठी जिल्ला तथा झापा, इलाम, मोरङलगायत विभिन्न जिल्लाका सहकारी संस्था, व्यक्ति र समूदले लैजाने गरेका छन् । दुई महिनासम्म हुर्काएका पाठापाठीे बीउको रुपमा बिक्री हुने गरेका छन् । एउटा पाठा रु १५ हजारसम्म बिक्री हुने गरेको उनले बताए। 

नेम्वाङले भने, “अर्कोको देशमा गएर पसिना बगाएर बढी नै धन कमाए पनि बरु स्वदेशमै सिठोपिठो खाएर थोरै पैसा कमाएकोमा आनन्द र गौरव महसुस हुन्छ।” अहिले पनि समाज र राज्यले कृषकलाई हेर्ने दृष्टिकोण बदल्न नसकेकोप्रति उनको गुनासो छ । 

व्यावसायिक रुपमै कृषि तथा पशुपालन क्षेत्रतर्फ लागेका युवालाई राज्यले समेत प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने र हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने भनाइ नेम्वाङको छ । उनलाई अहिलेसम्म जिल्ला पशुसेवा कार्यालयले रु दुई लाख अनुदान स्वरुप दिएको छ भने उत्कृष्ट कृषक भनेर रु १० हजार रकम र प्रमाणपत्र दिएको छ। 

यस्तै बाख्रापालन व्यवसायलाई अघि बढाउन विभिन्न प्राविधिक सहयोग पनि जिल्ला पशु विकास कार्यालयले गर्दै आएको छ। पशुपालक कृषक नेम्वाङले बाख्रापालन फार्मबाट प्राप्त आम्दानीले फिदिम बजारमै ससेस फ्याक्ट्रीसमेत सञ्चालन गरेका छन्। रु आठ लाखको लागतमा उनले ससेस फ्याक्ट्री सञ्चालन गरेका छन्। 

गर्न सक्दा हुँदो रहेछ भन्ने गतिलो उदाहरण दिएको नेम्वाङको अहिले गाउँघरका साथीभाइले समेत प्रशंसा गर्दछन् । आउँदा दिनमा अझै व्यवस्थित र प्रभावकारी ढंगबाट बाख्रापालन गर्दै जाने उनको लक्ष्य छ । जीत बहादुर भण्डारी /रासस

प्रकाशित: २१ आश्विन २०७४ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App