८ वैशाख २०८१ शनिबार
राजनीति

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

कांग्रेसको जिल्ला कार्यालय । तस्बिर :रमेश खतिवडा

दोलखा – कम्युनिष्ट गढ दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ । 

प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि दुई ओटा क्षेत्र रहेको दोलखामा कांग्रेसबाट चुनाव लड्नका लागि ४ दर्जन बढीले आकांक्षा राखेपनि पार्टी जिल्ला समितिले सबैको नाम जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाइदिएको छ ।

यस अघिका प्राय जसो निर्वाचन एमालेले जित्दै आएको दोलखामा वाम गठबन्धन पछि तेश्रो शक्तीका रुपमा रहेको माओवादी केन्द्र समेत थपिएपछि कम्युनिष्ट गढमा काँग्रेस भित्र बलिया उम्मेद्वार खोजी शुरु भएको हो । २०७० को संविधान सभा निर्वाचनमा एमालेले दुवै क्षेत्रमा गरेर ३० हजार ८ सय ८३ मत ल्याई दुवै सिट जितेको थियो । यस्तै काँग्रेसले जिल्लाभर २२ हजार ९ सय ६१ मत ल्याई एमाले संग दुवै क्षेत्रमा प्रतिष्पर्धा गरेको थियो । माओवादीले दुवै क्षेत्रमा गरेर १७ हजार ७ सय ४९ मत ल्याएको थियो । स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै गाउँपालिकाका ७४ ओटै वडाध्यक्षहरूले ल्याएको मत जोड्दा गरेर एमालेले ३८ हजार, कांग्रेसले २७ हजार र माओवादीले १६ हजार मत पाएका थिए । 

वामपन्थी गठबन्धन पछि एमाले र माओवादीको मत जोड्दा मतान्तर निकै बढेका कारण कम्युनिष्टहरूको गढका उम्मेद्वार विरुद्ध लड्न बलिया उम्मेदवार उठाउने कसरतमा जिल्ला स्तरका युवा नेताहरूले पहल थालेका छन् । संघीय प्रतिनिधि सभाको सांसद सदस्यका लागि ६ जना काँग्रेस नेताले उम्मेद्वारी आकांक्षा राखेका छन् । प्रतिनिधि सभाको प्रत्यक्ष सांसद उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरिएकामा पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद जिपछिरिङ लामा, पूर्व पार्टी सभापतिहरू देवी न्यौपाने, उद्धवराज काफ्ले, ताराबहादुर कोइराला, पार्टी जिल्ला सभापति रुद्रबहादुर खड्का र नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले छन्। 

लेवी र शुल्क उठाएर फारम भर्न लगाई गरिएको सिफारिस बैठकमा पूर्व केन्द्रीय सदस्य लामा भने सहभागी थिएनन् । उनको नेविसंघ महामन्त्री काफ्ले, पार्टी जिल्ला सचिव सन्तोष रिमाल लगायत युवा नेताले रकम संकलन गरेर फारम भरी सिफारिस गराएका थिए।

संघीय सांसदका लागि कम्युनिष्ट पार्टीहरूको मत चोर्न सक्ने बलियो उम्मेदवार अघि सार्न माग गर्दै जिल्ला सचिव रिमाल सहितका नेताहरुले लविङ थालेका छन्। 

नेता कार्यकर्ताएका अनुसार वाम गठबन्धन पछि ७० र ७४ को दुवै निर्वाचनको परिणामलाई विश्लेषण गर्दा एमाले माओवादी जोड्दा  र कांग्रेसको मत परिणामको अन्तर गत स्थानीय निर्वाचनमा २८ हजार र २०७० को निर्वाचनमा २५ हजार ७ सय देखिन्छ । 

‘यति ठूलो अन्तर भएका कम्युनिष्ट गठबन्धनसंग निर्वाचन लड्न निकै ठूलो चुनौती छ’ जिल्ला सचिव रिमालले भने – ‘त्यसैले गुटगत र व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर निर्वाचनमा जान आकांक्षी नेताहरूलाई र केन्द्रीय समितिलाई आग्रह गरिरहेका छौं’।     

स्रोतका अनुसार संघीय सांसदका लागि पूर्व केन्द्रीय सदस्य लामालाई उठ्न दबाब परेको छ । २०७० को निर्वाचनमा समेत उम्मेदवार बनेर पराजय व्यहोरेका उनले गरेको सामाजिक कामका कारण प्रत्येक गाउँमा रहेको व्यक्तिगत मत र सञ्जालका कारण उनलाई उठाउन दबाब परिरहेको भीमेश्वर नगर सभापति राजेश श्रेष्ठले बताए । 

लामा भने ७० मा आफू माथि अन्तर्घात भएकाले फेरी नउठ्ने अडानमा छन् । ‘अन्तर्घात भएन भने जति सुकै कम्युनिष्ट किल्ला भनेर दाबी गरिएपनि सजिलै गरी भत्काउन सकिन्छ’ उनले भने – तर के गर्नु कांग्रेस भित्रको पूरानो रोगका कारण मलाई थाहा छ केही साथीहरूले अन्तर्घात गरेर दुख दिन्छन’।

लामाले २०७० मा ल्याएको मत र स्थानीय तहको निर्वाचनमा ल्याएको मतलाई विश्लेषण गर्दा कतिपय एमाले र माओवादीका गढ मानिएका वडाहरूमा समेत उनको व्यक्तिगत प्रभाव रहेको ठहर कांग्रेस भित्रका युवा पंक्तीको छ । 

अन्तिम समयमा केन्द्रीय नेतृत्वले लामालाई नै चुनाव उठाउने भन्दै संघको टिकट उनैले लिएर आउने लख नेता कार्यकर्ताले काट्ने गरेका छन् । 

लामा नउठेमा नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले उम्मेदवार बन्ने बहस समेत जिल्लामा छ । उनी युवाहरू माझ लोकप्रिय छन तर उनी माथि समेत अन्तर्घात हुने डर कार्यकर्तामा छ । 

यस्तै लामाको विकल्पमा पूर्व पार्टी सभापति देवी न्यौपाने र उद्धवराज काफ्ले मध्ये एक उम्मेदवार हुने आंकलन कार्यकर्ताको छ । दोलखाको कांग्रेस राजनीति भित्र निष्ठावान मानिएका दुवै नेता मध्ये एकलाई उठाउँदा कांग्रेसको भोट बच्न सक्ने तर्क कतिपय कार्यकर्ताको छ । 

पार्टी जिल्ला सभापति रुद्रबहादुर खड्का र निवर्तमान सभापति तारा कोइरालाले समेत आकांक्षा राखेपनि रुद्रबहादुर खड्काले टिकट ल्याउने लख कतिपय कार्यकर्ताले काटिरहेका छन् । यद्यपी नरम स्वाभाव र विपक्षका कतिपय नेता संगको गठजोड र उठबसका कारण उनी प्रति भरोसा नभएकाले धेरै नेता कार्यकर्ताबाटै अन्तर्घात हुने आंकलन कतिपय कार्यकर्ताको छ । उनले भने आफू उम्मेद्वार आकांक्षी बने पनि सर्वसम्मत गराउने आफूले प्रयास गरिरहेको बताएका छन् । कोइरालाले यस अघिका तीन ओटै संसदीय निर्वाचनमा उठेर पराजय व्यहोरिसकेका कारण चौथो पटक टिकट नपाउन सक्ने आंकलन पनि नेता कार्यकर्ताको छ ।  

संघमा लामा उम्मेद्वार बनेमा क्षेत्र नम्बर १ मा नेविसंघ महामन्त्री काफ्ले प्रदेश उम्मेदवार बन्न सक्ने चर्चा कार्यकर्ता पंक्तीमा छ । क्षेत्र नम्बर २ मा भने पार्टी सभापति खड्का वा निवर्तमान सभापति कोइराला मध्ये एकलाई केन्द्रले उम्मेदवारका रुपमा अघि सार्न सक्ने अनुमान कार्यकर्ताको छ । 

काफ्लेले जिल्लामा लड्ने तीनै जना उम्मेदवार बीच सन्तुलन मिलाउनुपर्ने कारण केन्द्रमा लामा लडेमा मात्र आफू प्रदेशको चुनाव लड्ने कुरा आफ्ना निकटहरूलाई बताउँदै आएका छन् । कोइराला र खड्का प्रदेशमा नझर्ने बताइरहे

पनि केन्द्रले लामालाई संघको टिकट थमाएर पठाउदा उनिहरू दुई मध्ये एक जना २ नम्बर प्रदेशको उम्मेदवार बन्न सक्नेछन् । २ नम्बर प्रदेशमा विकल्पका रुपमा युवा नेताहरू केशवराज चौलागाई, सन्तोष पाण्डे र राकेश श्रेष्ठ प्रत्यक्ष निर्वाचनका लागि योग्य उम्मेदवार बन्न सक्ने आंकलन कार्यकर्ताको छ । 

यस्तै समानुपातिक सांसदका लागि केन्द्र सभामा ३, र प्रदेश सभामा २४ जनाको नाम सिफारिस भएपनि केन्द्र सभामा पूर्व पार्टी सभापति माधवमणी राजभण्डारी र प्रदेश सभामा महासमिति सदस्य एवं पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति विनिता अधिकारी र महाधिवेशन प्रतिनिधि गोपिलाल थामी पर्न सक्ने आंकलन कार्यकर्ताको छ । 

 

 

प्रकाशित: २१ आश्विन २०७४ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App