७ वैशाख २०८१ शुक्रबार
अन्य

व्यंग्य : थ्री इडियट्स

केही समयअघिको कुरा हो, बलिउडमा एउटा फिल्म अत्यन्तै चर्चित भएको थियो । नाम हो, थ्री इडियट्स । सुरुमा यो त्यति चल्ला कि जस्तो लागेको थिएन । तर पछि के भएछ कुन्नि, फिल्म अत्यन्तै चल्यो । नाम पनि कमायो, दाम पनि । सुनिन्छ, यो भारतमा मात्र होइन, भारतबाहिर अरु देशमा पनि उत्तिकै चलेको थियो । फिल्म हेर्न मानिस हल–हलमा पुगेका थिए । यसरी थ्री इडियट्स बक्स अफिसमा खुबै हिट भयो ।

सबैभन्दा अर्थपूर्ण कुरा त के हो भने यत्रो फिल्म बनाउने घोषणा भइसक्यो, यसको निर्देशक को हो, त्यसको अहिलेसम्म ठेगान लागेको छैन । फिल्मको निर्माण चिनियाँ कम्पनीले गर्न लागेको भन्ने कुरा पनि गोप्य सूत्रबाट थाहा भएको हो । ब्यानरमा त युएमएल एन्ड एमबी फिल्मस् भनेर लेखिएको छ ।

आजभोलि संसारमा भारत र चीनको ठूलै प्रतिस्पर्धा चलिरहेको छ । यो सबैलाई थाहा भएकै कुरा हो । त्यही भएर पनि होला, भारतले बनाएको फिल्म संसारभरि नै चर्चित बनेपछि चीनलाई डाह लागेको छ । त्यो स्वाभाविकै हो । त्यसैले भारतले थ्री इडियट्स बनाएजस्तै अब चीनले पनि अर्को थ्री इडियट्स बनाउने तयारी गरेको छ । हालसालै मात्र चीनले बनाउन लागेको नयाँ थ्री इडियट्सको निर्माणसम्बन्धी घोषणा भएको थियो ।
अस्तिसम्म त चीनले जे बनायो, भारतले पनि त्यही बनाउँदै आइरहेको थियो । यसपालि चाहिँ भारतले जे बनायो, चीन पनि त्यही बनाउँदै छ । अर्थात् भारतले थ्री इडियट्स बनाएको थियो । अब चीनले पनि थ्री इडियट्स नै बनाउने तयारी गरेको छ । चीन पनि नयाँ थ्री इडियट्स बनाएर विश्वभरि चर्चित बन्ने र पैसा कमाउने धुनमा छ । चीनले बनाउने यो थ्री इडियट्सको निर्माण भने जम्मै नेपालमा हुनेछ । सुटिङ, कलाकार, प्राविधिक जम्मै नेपाली । निर्माता मात्रै चीन । त्यो पनि खुला निर्माता होइन, गोप्य निर्माता ।
अस्ति भर्खर मात्रै चीनले बनाउन लागेको नयाँ थ्री इडियट्स को घोषणा भयो । कार्यक्रममा इडियट्स भई खेल्ने तीनै प्रमुख कलाकारका साथै अरु कलाकारको पनि बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर पनि थिइन् । त्यसैले मानिसले ठानेका छन् कि अब बन्ने थ्री इडियट्सकी हिरोइन चाहिँ करिश्मा मानन्धर नै हुनुपर्छ । भारतले बनाएको थ्री इडियट्समा पनि एउटै मात्र हिरोइन थिई, करिना कपुर । संयोग हेर्नुस्, तिनै करिनाकी दिदीको नाम पनि करिश्मा नै हो । अतः यसलाई यसरी पनि भन्न सकिन्छ, भारतले बनाएको थ्री इडियट्समा बहिनी हिरोइन थिई, चीनले बनाउन लागेको थ्री इडियट्समा दिदी हिरोइन छन् । आखिर चीनले जे गर्छ, अलि माथिल्लो लेबलमै गर्छ ।
नयाँ थ्री इडियट्स बन्ने भएपछि देशैभरि हल्लाखल्ला मच्चिएको छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिक, व्यापारिक, साहित्यिक जम्मै क्षेत्रमा अहिले यसैको चर्चा छ । यो फिल्म यस्तो होला वा उस्तो होला भन्ने अनुमान र अड्कल पनि तीव्र गतिमा भइरहेको छ । फिल्मको कथावस्तु यस्तै होला भन्ने कुरा त बाहिर आएको छैन । तथापि फिल्मको नामअनुसार यो मूर्खहरूसम्बन्धी फिल्म होला भनेर हचुवा अनुमान भने लगाउन सक्छौँ । बाहिर देखाउँदा आफू मूर्खजस्तो देखाउने । तर, यथार्थमा अरु जम्मैलाई मूर्ख बनाउने टाइपको कथा यसमा हुन सक्छ । यस्तो कथावस्तु भएको फिल्म बजारमा खुब चलेको पनि पाइन्छ । दर्शकले कलाकारलाई मूर्ख ठानिरहेको हुन्छ । यथार्थमा कलाकारले नै दर्शकलाई मूर्ख बनाइरहेको हुन्छ । पटकथामा यस्तो ट्विस्ट आइदिएको हुन्छ कि दर्शकले आफू मूर्ख बनेको थाहै पाउँदैनन् । यस्तो फिल्ममा संवाद राम्रो हुनु त स्वाभाविकै भयो । वास्तवमा दर्शकलाई मूर्ख बनाउने नै संवादबाट हो । अतः अत्यन्तै चिल्लो शैलीको संवाद यसमा हुनेछ ।
फिल्मलाई सफल र सम्पन्न बनाउने एउटा पक्ष त्यसको साजसज्जा पनि हो । पूरा नक्कली भए पनि सक्कलीजस्तो देखिने साजसज्जा र कला यसमा हुनेछ । बाहिर जे देखिन्छ, भित्र त्यस्तो हुँदैन । यस्तो सेटिङ यसमा हुनेछ । भेषभूषा चाहिँ बरु अलि पृथक हुने सम्भावना छ । किनभने फिल्मको कथाअनुसार थ्री इडियट्स बन्ने तीनैजना पात्रलाई कुनै वस्त्रको आवश्यकता पर्नेछैन । फिल्म थ्री इडियट्स भए पनि पात्रको वस्त्र भने पिके टाइपको हुनेछ । अर्थात् फिल्मको कथाले कुनै वस्त्रको माग गर्दैन । अस्ति फिल्मको घोषणा कार्यक्रममै संकेत मिलिसकेको छ नि, फिल्मका तीन प्रमुख पात्रलाई कुनै वस्त्र आवश्यक पर्नेछैन । अरु फिल्ममा हिरोइनहरू विनावस्त्र प्रस्तुत हुने गर्छन् । यो फिल्ममा हिरोहरू विनावस्त्र प्रस्तुत हुनेवाला छन् । यो पनि थ्री इडियट्सको मौलिक पक्ष हो । कथाले मागेपछि कलाकारले त्यो गर्नैपर्छ ।
अब आउने मंसिरसम्म फिल्म रिलिज गर्ने तयारी छ । प्रमुख कलाकार उत्साहित छन् । केही स्पट ब्वाय र सहायक कलाकार असन्तुष्ट रहेको बुझिन्छ । तर फिल्म निर्माणमा त्यसको कुनै अर्थ छैन । यसमा सबैभन्दा अर्थपूर्ण कुरा त के हो भने यत्रो फिल्म बनाउने घोषणा भइसक्यो, यसको निर्देशक को हो, त्यसको अहिलेसम्म ठेगान लागेको छैन । निर्देशकको नाम पनि घोषणा भएको छैन । यस्तो स्थिति छ । फिल्मको निर्माण चिनियाँ कम्पनीले गर्न लागेको भन्ने कुरा पनि गोप्य सूत्रबाट थाहा भएको हो । ब्यानरमा त युएमएल एन्ड एमबी फिल्मस् भनेर लेखिएको छ । तर, त्यो देखाउने निर्माता मात्र हो ।
अब जेहोस्, नेपाली भूमिमै एउटा ठूलो बजेटको नयाँ फिल्म बनाउने घोषणा भएको छ । जसरी बनाओस् जसले बनाओस्, हामी दर्शकको काम त हेर्ने मात्रै हो । हेरी नै रहौँ । कि कसो ?  
   

प्रकाशित: २१ आश्विन २०७४ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App