coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आर्थिक समृद्धि र विकासको खाका कोर्दै बाम गठबन्धन

काठमाडौं- एमाले र माओवादी केन्द्रसहित नेतृत्वको वाम गठबन्धन आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक समृद्धि र विकासका अजेन्डामा केन्द्रित भई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र निर्माणमा जुटेको छ ।

‘सामाजिक न्याययुक्त समतामूलक समृद्धि र विकास निमार्णमा घोषणापत्रले विशेष जोड गर्नेछ । आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक समृद्धि र विकासका विषय नै घोषणापत्रका मुख्य पक्ष हुनेछन् ।’

गठबन्धनको घोषणापत्र मस्यौदा समितिले एक साताभित्र काम सम्पन्न गर्ने गरी जिम्मेवारी बाँडफाँड गरेर काम थालेको छ ।
‘सामाजिक न्याययुक्त समतामूलक समृद्धि र विकास निमार्णमा घोषणापत्रले विशेष जोड गर्नेछ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक समृद्धि र विकासका विषय नै घोषणापत्रको मुख्य पक्ष हुनेछन् ।’ उनका अनुसार मुलुकको समग्र पक्षको विकास कसरी गर्ने भन्ने बारेमा गठबन्धनको दृष्टिकोण घोषणापत्रमार्फत सार्वजनिक गरिनेछ ।
घोषणापत्र मस्यौदा समितिका अर्का सदस्य एमाले नेता प्रदीप ज्ञवालीले न्यायोचित वितरणसहितको आर्थिक समृद्धिमा केन्द्रित भएर घोषणापत्र तयार पारिने बताए । ‘कृषि, पर्यटन, ऊर्जा, खानी, जलस्रोत, रेल्वे, सडक र भौतिक पूर्वाधारमा विशेष जोड रहने गरी घोषणापत्र बनाउँदैछौं,’ ज्ञवालीले नागरिकसँग भने, ‘घोषणापत्रमा भाबी नेपालको तस्बिर देखाउनेछौं ।’ उनका अनुसार राजनीतिक मुद्दा लगभग टुंगिएकाले विकास र समृद्धिमै जोड गरेर गठबन्धनले घोषणापत्र तयार पार्न लागेको हो ।
‘कृषिको आधुनिकीकरणदेखि विज्ञान र प्रविधिको विकासमा पनि विशेष जोड दिनेछौं,’ ज्ञवालीले भने, ‘रेलदेखि पानीजहाजसम्मका विकासका कुरा समावेश गरेर घोषणापत्रमा समृद्धिमा जोड गर्नेछौं ।’ उनका अनुसार घोषणापत्रमा नेपालका प्राकृतिक सम्पदालाई बढीभन्दा बढी उपयोग गर्ने गरी विकास र समृद्धिको खाका कोरिनेछन् ।
प्राकृतिक पर्यटनसहितको धार्मिक पर्यटनको क्षेत्रलाई विश्वव्यापी बनाउने र आधुनिक विश्वमा भित्रिएका प्रविधिको उपयोग गर्ने नीति लिइनेछ । ‘हामी प्राकृतिक सम्पदाको बढीभन्दा बढी उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन ध्यान दिनेछौं ।’
वाम गठबन्धनको घोषणापत्रमा उत्तर दक्षिण सडकलाई प्राथमिकतमा राखेर अविलम्ब निर्माण सम्पन्न गर्ने, उत्तरी नाकालाई बढी प्रभावकारी बनाउने, चीनसँग भएको पारवहान सन्धिलाई कार्यान्वयनमा लैजाने, परनिर्भरता घटाउने गरी मुलुकभित्र उत्पादनमा जोड दिने, व्यापार घाटा घटाउने, पूर्वपश्चिम रेल र हुलाकी मार्ग निर्माण गर्ने, विद्युतीय रेल र विद्युतीय सवारीलाई प्राथमिकता दिइनेलगायतका विषय घोषणापत्रमा समावेश गरिनेछ ।
यसैगरी, मुलुकमा भएका राजनीतिक आन्दोलनमा वामपन्थी आन्दोलनले अग्रणी भूमिका खेलेको विषयमा जोड गर्दै नयाँ संविधान जारी गरेको स्वामित्व घोषणापत्रमार्फत गठबन्धनले लिने भएको छ । आवश्यकताअनुसार संविधान संशोधन गर्न तयार रहेको सन्देश पनि घोषणापत्रमार्फत दिइनेछ ।  
वामपन्थी दलको जोडबलमा नयाँ संविधान जारी भएकाले त्यसको सही कार्यान्वयन पनि सोही गठबन्धनले मात्र गर्न सक्ने तर्क घोषणापत्रमा राखिने भएको छ । आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, सीमान्तकृत तथा अल्पसंख्यकसहित लैङ्गिक विभेदमा परेकालाई सामाजिक न्याय दिने तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने विषयलाई पनि घोषणापत्रमा प्राथमिकता दिइने सदस्यहरूले बताएका छन् ।
एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको घोषणापत्र तयारी कार्यदलमा एमालेवाट भीम रावल, प्रदीप ज्ञवाली, माओवादीवाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल तथा नयाँ शक्ति नेपाल पार्टीवाट डम्वर खतिवडा संलग्न छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि र दीर्घकालीन विकासका अजेन्डामा केन्द्रित भएर घोषणापत्र बनाउन निर्देशन दिएबमोजिम समितिले सदस्यहरुलाई कामको जिम्मेवारी बाँडफाँट गरेको छ ।

प्रकाशित: २१ आश्विन २०७४ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App