८ वैशाख २०८१ शनिबार
राजनीति

६ दलीय गठबन्धन, सिट संख्या बाँडफाँट आज

काठमाडौं- नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान र साँझ गरी दुई पटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको कार्यदलको बैठकले दुई पक्षीय र बहुपक्षीय छलफल गरेर शनिबारसम्म प्रत्यक्षतर्फको सिट संख्या टुंगो लगाउने समझदारी गरेको हो ।
कार्यदलले अन्य दलसँग समेत चुनावी तालमेलका लागि ढोका खुला राख्दै उनीहरूलाई पनि समेट्ने प्रयत्न जारी राख्ने निर्णय गरेको छ । ‘प्रत्यक्षतर्फ कति प्रतिशत सिट संख्या पाउने, सम्भावित जित्ने जिल्ला र क्षेत्रका विषयमा सैद्धान्तिक भएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘जित्न सक्ने सम्भावित जिल्ला र क्षेत्र हेरेर शनिबार साँझसम्म सिटसंख्या टुंगो लगाउनेछौं ।’
त्यस्तै, कार्यदलले निर्वाचनमा ६ राजनीतिक दलहरु किन तालमेल गरेर अघि जानुप¥यो भन्ने विषयमा साझा अवधारणा तयार पार्नेछ । निर्वाचनका लागि ६ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याउने निर्णय कार्यदलले गरेको छ ।
 ‘हामी किन मिलेर चुनावमा जानुप¥यो भन्ने साझा अवधारण बाहिर ल्याउनेछौं,’ एक सदस्यले भने, ‘त्यसै हामीलाई भोट देऊ भनेर हुँदैन । चुनाव जिते हामी यो काम गर्नेछौं भनेर साझा न्यूनतम कार्यक्रम ल्याउँछौं ।’
कार्यदलको निर्णयअनुसार कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कार्यदल सदस्य मीनेन्द्र रिजालसहितका नेताले शनिबार साँझ ५ बजे बस्ने बैठकमा न्यूनतम साझा कार्यक्रमका साथै साझा अवधारणाको मस्यौदा पेस गर्नेछन् । त्यसलाई कार्यदलको बैठकले थपघट गरेर अन्तिम रूप दिने सहमति भएको एक सदस्यले जानकारी दिए ।
बैठकमा कांग्रेसतर्फका कार्यदल सदस्यहरूले प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सरकारको स्थायित्व आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राजपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । संघीय फोरम नेपालका प्रतिनिधिले प्रधानमन्त्री निर्वाचनमै आफ्नो दलले मतदान गरेको दाबी गर्दै सरकारलाई समर्थन कायमै रहेको बताएका थिए । राप्रपाका प्रतिनिधिले साझा कार्यक्रमसहितका विषयलाई टुंगो लगाएर मात्र सरकारको विषयमा प्रवेश गर्नुपर्ने धारणा राखेका थिए । राप्रपाले निर्वाचन सम्पन्न गर्न र लोकतान्त्रिक व्यवस्था सुदृढ सरकारलाई पूर्ण समर्थन रहनेमा कांग्रेसलाई आस्वस्त पारेको छ ।
एमाले र माओवादी नेताहरूले राप्रपा र संघीय समाजवादी फोरमलाई आफ्नो गठबन्धनमा आउन र नयाँ सरकार बनाएर अघि बढ्न प्रस्ताव गरिरहेको पनि दुवै दलका नेताहरुले कार्यदलको बैठकमा सुनाएका थिए ।    
त्यसअघि बिहान बसेको कार्यदल बैठकले कांग्रेस नेता विमलेन्द्र निधिलाई संयोजक तोकेको थियो । कार्यदलको बैठक र गतिविधिका विषयमा जानकारी दिने जिम्मेवारी नेता मिनेन्द्र रिजाललाई तोकेको छ ।
कार्यदलमा कांग्रेसबाट निधि, रिजाल र पूर्णबहादुर खड्का, राप्रपाबाट बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र फोरम लोकतान्त्रिकबाट गोपाल दहित सहभागी छन् ।
००
सरकार पुनर्गठनबारे नसोच्न दाहालको आग्रह

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादीलाई सरकारबाट बाहिर पठाएर सरकार पुनर्गठनबारे नसोच्न आग्रह गरेका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई शुक्रबार साँझ बालुवाटारमा भेट गरी  अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् ।
एमालेसँग चुनावी तालमेलसहित पार्टी एकीकरण गरेर जाने घोषणापछि अन्य दललाई साथ लिएर देउवा अघि बढ्न लागेको चर्चासँगै बालुवाटार पुगेका दाहालले कांग्रेससँग राम्रो सम्बन्ध कायम गरेर अघि बढ्न आफू तयार रहेको बताएका थिए । सरकारलाई दिएको समर्थन कायमै रहने आश्वासन पनि दाहालले दिएका छन् ।
जबाफमा देउवाले संवैधानिक व्यवस्थाअनुसार तोकिएको मितिमा कसरी शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्ने भन्ने आफ्नो चासो र चिन्ता रहेको बताएका थिए । निर्वाचन सुनिश्चित गर्ने विषयमा मात्र आफ्नो ध्यान केन्द्रित रहेको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले सरकार पुनर्गठनका बारेमा आफूले केही नसोचेको पनि बताएका थिए ।
त्यसअघि दिउँसो उपप्रधानमन्त्रीसमेत रहेका माओवादी नेता कृष्णबहादुर महराले प्रधानमन्त्री देउवालाई भेटेका थिए ।    
त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवालाई भेट गरी सरकारलाई आफ्नो दलका तर्फबाट पूर्ण समर्थन रहने आश्वासन दिएका छन् ।

प्रकाशित: २१ आश्विन २०७४ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App