८ वैशाख २०८१ शनिबार
राजनीति

सिलवाल डिआइजीकै हैसियतमा एमाले प्रवेश

काठमाडौं- राजीनामा दिएर बसेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी कर्मचारी पदमा कायमै रहँदा नेकपा एमाले प्रवेश गरेका छन्।

सर्वोच्च अदालतमा रहेको प्रहरी महानिरीक्षक सम्वन्धि मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि विज्ञप्ती जारी गरी उनले राजीनामाको घोषणा गरेका थिए। घोषणाको दोस्रो दिन उनको राजीनामापत्र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगे पनि स्विकृत भएको छैन।

राजीनामा स्विकृत नभएपनि उनी शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीबाट टीका र खादा लगाउँदै एमालेमा औपचारिकरुपमा प्रवेश गरे। उनी दुई दिन अघि ललितपुरमा आयोजित एमाले कार्यक्रममा समेत सहभागि थिए।

प्रहरी नियमावली अनुसार डिआइजी तहको अधिकृतको राजीनामा मन्त्रिस्तरीय निर्णयबाट मात्रै स्विकृत हुनसक्छ। राजीनामा स्विकृत नभएसम्म राजीनामा दिने प्रहरी अधिकारी बहाल रहेकै मानिन्छ। स्रोतका अनुसार सिलवालले दिएको राजीनामा प्रहरी प्रधान कार्यालयबाट गृहमन्त्रालय पुगेको छैन।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले सिलवालको राजीनामा प्रधान कार्यालय आइपुगेको तर स्विकृत नभएको बताए। उनका अनुसार राजीनामा प्रशासनीक प्रक्रियामै छ। प्रहरी नियमावली अनुसार कर्मचारी रहेकै बखत राजनीतिक दलमा संलग्न भए कारबाही हुन सक्ने प्रावधान छ।  

प्रकाशित: २० आश्विन २०७४ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App