coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

काठमाडौं- नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर लाखौं रुपैयाँ कुम्ल्याउने गरेको नयाँ तथ्य भेटिएको छ। नेपाल आयल निगमको जनकपुर डिपोको लागि इण्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनीबाट लोड भएको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो।

नेपालमा भन्दा भारतमा पेट्रोल महंगो भएकाले उतै तेल बेच्न पाए ट्यांकर सञ्चाकललाई लाखौं रुपैयाँ फाइदा हुन्छ। निगमको जनकपुर डिपोको लागि  पेट्रोल ल्याएको ट्यांकरले भारतमै तेल बेचेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिँदा यस्तो तथ्य भेटिएको हो।

१२ हजार लिटरको ट्यांकर नियन्त्रणमा लिँदा तीन हजार लिटरमात्र पेट्रोल ट्यांकरमा रहेको धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । ‘कागजात नियन्त्रणमा लिएर आयल  निगममा पठाएका छौं, सिंहले भने, ‘गाडी नियन्त्रणमा लिँदा तीन हजार लिटरमात्र तेल थियो।’

नेपालमा भन्दा भारतमा पेट्रोल २१ रुपैयाँ ४७ पैसा महंगो भएकाले उतै बेच्दा ट्यांकर सञ्चालकलाई फाइदा हुन्छ । नौ हजार लिटरमात्र पेट्रोल भारतमै बेच्दा पनि एक खेपमै एक लाख ९३ हजार दुई सय ३० रुपैयाँ फाइदा हुन्छ। तर, भारतमा बेचेर आएको हल्लापछि उक्त ट्यांकरले कारबाही पर्ने डरले जनकपुरकै पम्पबाट तीन हजार लिटर पेट्रोल भरेको हुन सक्ने प्रहरीको आशंका छ।

बरौनीमा १२ हजार लिटर पेट्रोल लोड गरेको सो ट्यांकरले निगमको जनकपुर डिपोमा नपुराई बेचेको पुष्टी भएको छ । सो ट्यांकरले निगमको डिपोमा पेट्रोल नल्याएको जनकपुर डिपो प्रमुख सरोज रायले बताए । ‘दसैं विदा भएकाले सो गाडी निगममा आएको छैन , रायले भने । भारतमै बेचिएको भन्ने बारेमा राय नागरिकसँग धेरै कुरा गर्न चाहेनन्।

श्रोतका अनुसार निगमका डिपो प्रमुखसँगको मिलेमतो नभएसम्म  ट्यांकर सञ्चालकले तेल बेच्न सक्दैनन् । आइओसीमा तेल लोड गर्नको लागि निगम पत्र दिनुपर्छ । लोड भएको गाडी निगमको डिपोमा आएर खनाउनुपर्ने र विलिङ गर्नुपर्ने हुन्छ । रायले डिपोमा नआएको बताए पनि ट्यांकरका सञ्चालक राजेश पाठकले निगमको डिपोबाट विलिङ भैसकेको दाबी गरे । पाठकले भारतमै बेचेको भन्नै आरोप झुटो भएको दाबी गरे । नौ हजार लिटर तेल राजिव आयल स्टोरमा बेचेको पाठकले बताए।

आयल निगमका वितरण विभाग प्रमुख विरेन्द्र गोइतले यो विषयमा आँफूलाई जानकारी नभएको बताए । वदमासी भएको भए कारबाही हुने उनले बताए ।

श्रोतका अनुसार सो ट्यांकर निगमका अधिकारी, धनुषा प्रहरीको मिलेमतोमा त्यसै छाडिएकोमा नेपाल प्रहरीका एआइजी विजयलाल कायस्थको दबाब पछि नियन्त्रणमा लिए पनि फेरी कागजातमात्र राखेर छोडिएको थियो । प्रहरीले खानतलासीको लागि नियन्त्रणमा लिइसकेको ट्यांकरलाई मिलेमतोमा कारबाही नगरी त्यसै छाडेपछि स्थानीयले प्रहरीको उच्च निकायमा खबर गरेका थिए । प्रहरीले छाडेपछि बजारका पम्पबाट पेट्रोलबाट भरेर फेरी निगम लैजाने तयारी अनुरुप सो तीन हजार लिटर पेटोल भरेको ट्यांकर सञ्चालकमाथि आरोप रहेको छ ।

प्रकाशित: २० आश्विन २०७४ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App