७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसमा टिकट लिन गायकदेखि पत्रकारसम्म

पर्वत- नेपाली कांग्रेस पर्वतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको दाबी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीनतीन जनाको नाम छनोट गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।
जिल्ला समितिलाई असोज १७ गतेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न केन्द्रीय समितिले परिपत्र गरेको थियो । पर्वत कांग्रेसले दुई दिन ढिला गरी बिहीबार केन्द्रीय समितिलाई उम्मेदवारको दाबी गरेका ६७ जनाकै नाम केन्द्रमा पठाएको छ । ‘जिल्लामा सहमति नभएपछि अब केन्द्रबाट जसले टिकट ल्याउँछ, उसैलाई सबैले सहयोग गर्नेगरी सबै दरखास्त केन्द्रीय समितिमा पठाएका छौं,’ सचिव श्रेष्ठले भने ।
केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिकमा सम्भावित एक महिलासहित तीनतीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तोकिएभन्दा तीन गुणा बढी नेताले दाबी गरेपछि सहमति हुन नसकेको हो । केन्द्रले तोकेअनुसार नाम पठाउँदा प्रतिनिधिसभा र प्रदेशसभा गरी १८ जनाको नाम सिफारिस हुनुपर्ने थियो ।
पर्वतका दुईवटै क्षेत्रीय समितिले तीनतीन जनाको नाम छनौट गर्न नसकेपछि परेका सबै दर्खास्त जिल्ला समितिमा पेस भएको र जिल्ला कार्य समितिमा पनि सहमति नभएपछि सबै जिम्मा केन्द्रीय समितिमा पुगेको सचिव श्रेष्ठले जानकारी दिए ।
पर्वत कांग्रेसबाट टिकट लिन लोकगायक विमलराज क्षेत्रीदेखि पत्रकार रमेश पौडेल र सरस्वती शर्माले दाबी प्रस्तुत गरेका छन् । क्षेत्रीले प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ तथा पौडेल र शर्माले प्रदेशसभामा समानुपातिकबाट दाबी गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशी, पूर्वसांसद ऋषिकेश तिवारी, पार्टी सचिव विश्वप्रकाश प्रसाई, महासमिति सदस्य वसन्तबहादुर सिके र नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव ललितकला गुरुङले दर्खास्त दिएका छन् ।
यसैगरी प्रदेशतर्फ पर्वत (क) मा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेताहरू युवराज जोशी, बिद्धान गुरुङ, भवानीशंकर पौडेल, कृष्णबहादुर खत्री क्षेत्री, राम शर्मा पौडेल, विप्लवजंग हमाल, दुर्गाबहादुर खत्री क्षेत्री र चन्द्रकान्त पौडेलले दर्खास्त दिएका छन् ।
प्रदेशसभा सदस्यमा पर्वत (ख) बाट प्रत्यक्षमा १५ जना नेताले दाबी गरेका छन् । जिल्ला सभापति खिमप्रसाद भुसाल, नेताहरु खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, ऋषिकेश तिवारी, राजेन्द्र तिवारी, नवराज गुरुङ, परबिन गुरुङ, एकनारायण न्यौपाने, आनन्दप्रसाद भुसाल, अशोक उच्चै ठकुरी, मोहन गुरुङ, मुना भुसाल, राधाकुमारी कुँवर क्षेत्री र सुमन तिवारीले पार्टीबाट उम्मेदवार बन्न दर्खास्त दिएका छन् ।
त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा लालकाजी गुरुङ, जसमति गुरुङ, खिमप्रसाद भुसाल, जितबहादुर सुनार, राधाकुमारी कुँवर क्षेत्रीले दर्खास्त दिए । प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवारको दाबी गर्नेमा पर्वत क र ख मा ३० जना छन् ।
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्मल विश्वकर्मा, कुलबहादुर पुन, बलभद्र शर्मा, डा. चूडामणि शर्मा, जोगमाया प्रसाई, चन्द्रबहादुर खत्री क्षेत्री, सोमबहादुर पुन, टीकाराम सुवेदी, मीनाकुमारी केसी, कुलप्रसाद उपाध्याय, नन्दबहादुर पुन, मीनबहादुर नेपाली, अञ्जली शर्मा, रुद्रलाल उपाध्यायले दर्खास्त दिएका छन् ।

प्रकाशित: २० आश्विन २०७४ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App