रुकुम- २०३० वैशाख २ गते रुकुमकोटबाट रातारात सदरमुकाम मुसीकोट सारियो । सोही बेला हाल प्रदेश नं. ५ मा रहेको रुकुमकोटका बासिन्दा सदरमुकाम फिर्ता माग्न मुसीकोट पुगे । उनीहरूले निकै दबाब पनि दिए । उक्त दबाबको सुनुवाइ भएन । उल्टै उनीहरुमाथि दमन भयो । सदरमुकाम मुसीकोट आउँदा पूर्वी रुकुमको अधिकार खोसियो । उनीहरु चारपाँच दिन लगाएर सरकारी सेवा लिन मुसीकोट आउनुपर्ने अवस्था भयो । साँघुरो गारेटो बाटोमा जोखिमपूर्ण यात्रा गरेर सेवा लिँदा यहाँका बासिन्दाले अन्याय भएको महसुस गरे ।
पूर्वी रुकुमले पुनः ४४ वर्षपछि न्याय पाएको छ । जिल्लालाई विभाजन गरी दुई जिल्ला निर्माण गरिएपछि यहाँका बासिन्दाले न्यायको महसुस गरेका छन् ।
मुलुक संघीय संरचनामा गएपछि जिल्ला दुई भागमा विभाजन भयो । पूर्वी रुकुमले पुनः ४४ वर्षपछि न्याय पाएको छ । जिल्लालाई विभाजन गरी दुई जिल्ला निर्माण गरिएपछि यहाँका बासिन्दाले न्यायको महसुस गरेका छन् ।
प्रदेश नं. ५ मा पर्ने पूर्वी रुकुमको प्रस्तावित सदरमुकाम सिस्ने गाउँपालिकाको रुकुमकोटमा सरकारी कार्यालय स्थापना भएका छन् ।
‘घरभित्रको न्याय खोसिएका हामी,’ सिस्ने गाउँपालिका रुकुमकोटका ७३ वर्षीय ज्ञानेश्वर आचार्यले भने, ‘अहिले फेरि न्याय पाएका छौं ।’ यहाँका जनताको बलिदानीले गर्दा न्याय पाएको उनको भनाइ छ । सदरमुकाम खोसिएपछि रोकिएको विकास निर्माणले गति लिने यहाँका बासिन्दाको अपेक्षा छ । पहाडको उपत्यका मानिने रुकुमकोट अन्य गाउँपालिका भन्दा विकसित छ ।
सदरमुकाम घोषणासँगै यहाँका बासिन्दामा उमंग छाएको छ । ‘हामी न्यायको प्रतीक्षामा थियौं,’ युवराज आचार्यले भने, ‘न्याय पाइछाड्यौं ।’ सामान्य कामका लागि मुसीकोट जाने बाध्यता अन्त्य भएपछि यहाँका बासिन्दामा खुसी छाएको छ ।
‘रुकुमकोटमा पुनः सदरमुकाम हुन्छ भन्ने लागेको थिएन,’ कमानसिंह विकले भने, ‘भगवान् भरोसा, यहाँ सदरमुकाम स्थापना भयो ।’ सदरमुकाम फिर्ता माग्न मुसीकोट जाँदा सरकारी पक्षवाट मुद्दासमेत लगाइएको ज्ञानेश्वर आचार्यले बताए ।
पूर्वी रुकुममा सरकारी कार्यालय स्थापना
पूर्वी रुकुमको प्रस्तावित सदरमुकाम रुकुमकोटमा सरकारी कार्यालयहरु उद्घाटन गरिएको छ । बिहीबार रुकुमकोटमा एक कार्यक्रममा बीच गृहमन्त्री जनार्दन शर्माले कार्यालय उद्घाटन गरेका हुन् ।
उनले जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, राष्ट्रिय अनुसन्धान कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा यहाँका बासिन्दाले स्थानीय झाँकी प्रस्तुत गरेका थिए ।
गृहमन्त्री शर्माले पूर्वी र पश्चिम रुकुमको भावनात्मक एकता भएको दाबी गरेका छन् । ‘रुकुमकोटको सदरमुकाम मुसीकोट लिँदा भावना दुई भागमा विभाजन भएको थियो,’ उनले भने, ‘जिल्ला विभाजन भएपछि एक भएको छ ।’ रुकुमकोटमा सदरमुकाम ल्याउन सहज नभएको भन्दै जनताको साथले यो सम्भव भएको उनको भनाइ छ ।
माओवादी केन्द्रका नेता समेत रहेका शर्माले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीचको एकता स्थायी सरकार र स्थायी राजनीति स्थापनाका लागि भएको बताए । अहिले बेलाबेला सरकार फेरिने हुँदा जनताको अपेक्षाअनुसार विकास नभएको भन्दै उनले यसले सरकार स्थायी बनाउनुको साथै जनअपेक्षाअनुसार विकास हुने दाबी गरे । सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका पूर्वी रुकुममा पर्दछन् ।
प्रकाशित: २० आश्विन २०७४ ०३:४१ शुक्रबार