coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केन्द्रको पर्खाइमा जिल्ला नेता

वीरगन्ज- प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सकिएलगत्तै जिल्लामा क्रियाशील राजनीतिक दलहरू संसदीय र प्रदेशसभाको निर्वाचनको तयारीमा व्यस्त छन् । केन्द्रमा ठूला पार्टीले सुरु गरेको तालमेल र गठबन्धन कसरतले ती सबै तयारी छायामा परेका छन् ।
स्थानीय तह निर्वाचन परिणामपछि नेपाली कांग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रलगायत दलबाट पर्साको ४ वटा संसदीय र ८ वटा प्रादेशिक निर्वाचन क्षेत्रबाट उम्मेदवारको चर्चा चलिरहेका बेला बैठक, टिकट वितरण र आकांक्षीको व्यवस्थापनमा दलहरू जुटिसकेको अवस्थामा तीन दलीय वाम गठबन्धन घोषणा भयो । लगत्तै कांग्रेसको अगुवाइमा लोकतान्त्रिक गठबन्धन बन्न लागेका बेला तालमेलको राजनीतिमा कुन क्षेत्र कसको भागमा पर्ने भन्ने अन्योल बढेको छ ।
‘केन्द्रमा गठबन्धनका लागि प्रयास हुन लागेका बेला यहाँ हतार गरेर कुनै अर्थ छैन । तापनि आकांक्षीहरूको दाबेदारी संकलन गर्ने काम भइरहेको छ,’ कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेलले भने, ‘हाम्रो पार्टीभित्र छलफल चलिरहेको छ ।’
पर्साका वीरगन्ज महानगरपालिका, ३ वटा नगरपालिका र १० गाउँपालिकासहित १४ स्थानीय तहमध्ये कांग्रेसले ३ वटा जितेको छ । धेरै ठाउँमा मुख्य प्रतिस्पर्धी छ । वीरगन्ज महानगरपालिकासहित ४ वटा स्थानीय तह जितेको फोरम नेपालले पनि सबै उम्मेदवार निक्र्योल गर्न सकेको छ ।
‘हामीले ४ मध्ये २ वटा संसदीय क्षेत्रका लागि उम्मेदवार तय गरेर जिल्लाबाट केन्द्रलाई उम्मेदवारको नाम सिफारिस गरेर पठाएका छौं,’ फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘२ वटा संसदीय क्षेत्र र लगभग सबै प्रदेशसभा सदस्य क्षेत्रका लागि आकांक्षीहरुको दाबेदारी लिने काम भइरहेको छ ।’
यहाँ २ वटा स्थानीय तह जितेको एमाले र ३ वटा जितेको माओवादी केन्द्रले पनि उम्मेदवारको टुंगो लगाएको छैन । ‘बेग्लाबेग्लै चुनावमा गएको भए स्वाभाविक रूपमा दलीय उम्मेदवारको संख्या बढी हुने थियो । अब गठबन्धनमार्फत जानु पर्दा दलीय उम्मेदवारीको संख्या घट्ने भएको छ र फरक किसिमले उम्मेदवार टुंगो लगाउनुपर्ने हुन्छ,’ एमाले नेता बसरुद्दिन अन्सारीले भने, ‘तापनि साम्भावित उम्मेदवार कोको हुन सक्छन् भन्ने कुरा अहिले छलफलमा छ ।’
संसदीय र प्रादेशिक निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढेर जाने उनले अनुमान गरेका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा पर्साका पाँचमध्ये ३ सिट नेपाली कांग्रेसले, एमाले र फोरम नेपालले एकएक सिट जितेका थिए । दोस्रोसंविधानसभा निर्वाचनमा यहाँबाट एमालेले तीन र कांग्रेसले दुई सिट जितेको थियो । कांग्रेस र त्यसपछि एमाले बाहुल्य देखिएको जिल्लामा यी दुई पार्टीको पक्कड स्थानीय तह निर्वाचनमा गुमेको छ ।

प्रकाशित: २० आश्विन २०७४ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App