८ वैशाख २०८१ शनिबार
राजनीति

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

म्याग्दी- नेपाली कांग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बिहीबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति खम्बिर गर्बुजा र युवानेता अमृतमान शेरचन सफारिस भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ क्याप्टेन मीनबहादुर कार्की, विमला गौचन, त्रिलोचन विश्वास विकको नाम सिफारिस भएको छ । तीमध्ये कार्की पार्टी जिल्ला सचिव, गौचन महिला संघकी अध्यक्ष र विक दलित नेता हुन् ।
यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ । बानियाँ सांसद तथा पार्टीका निवर्तमान सभापति हुन् भने महत र भण्डारी जिल्लास्तरका नेता हुन् । क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ मुकुन छन्त्याल, मनकुमारी विश्वकर्मा र क्याप्टेन रवीन्द्र गर्बुजाको नाम सिफारिस गरिएको पार्टी सचिव क्याप्टेन मीनबहादुर कार्कीले बताए । उनका अनुसार क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको मात्र नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ तमबहादुर थापा, दिलबहादुर केसी, दीर्घबहादुर सुनार, कमरा कामी पटेल, उदिमबहादुर पुनको नाम सिफारिस गरिएको छ ।
‘सबै नेताको प्रतिनिधित्व गरिएको छ, आजैदेखि चुनावको तयारी सुरु हुन्छ’, पार्टी सभापति गर्बुजाले भने । उनले जिल्लामा पार्टीको अवस्था राम्रो भएकाले पनि संघ र प्रदेशसभाको निर्वाचनमा विजय हुने बताउँदै वाम तालमेलबाट केही दबाब भए पनि पार्टीको अभियानलाई सहरदेखि ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने बताए । निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच ६०÷४० को भागबन्डामा जिल्लामा समेत सहकार्य निश्चित भएपछि कांग्रेस निर्वाचन जित्ने रणनीति बनाउन जुटेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल उम्मेदवारको नाम सिफारिस गरिएपछि सुरु भएको छ ।

प्रकाशित: २० आश्विन २०७४ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App