७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तहमा यस्तो छ दलीय हैसियत

काठमाडौं- ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी जनप्रतिनिधि नेकपा एमालेका विजयी भएका छन् । एमालेपछि ठूलो संख्यामा विजयी हुने जनप्रतिनिधिमा क्रमशः नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका रहेका छन् ।

निर्वाचन आयोगका अनुसार आवश्यक कुल जनप्रतिनिधिमध्ये ठूला तीन दल कांगे्रस, एमाले र माओवादीका मात्र ८७.९८ प्रतिशत उम्मेदवार विजयी भएका छन् । आयोगले वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सात प्रदेशमा स्थानीय तहको निर्वाचन गरेको थियो ।

वैशाख ३१ गते पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का १३ हजार ५ सय ५६ जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो । दोस्रो चरणअन्तर्गत असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का १५ हजार ३८ जनप्रतिनिधि र तेस्रो चरणमा असोज २ गते प्रदेश नम्बर २ का ६ हजार ६ सय २७ जनप्रतिनिधिका लागि निर्वाचन गरिएको थियो ।

सात प्रदेशका कुल ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि भएको निर्वाचनमा १ लाख ४८ हजार ९ सय ८१ जनाले विभिन्न राजनीतिक दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आयोगको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार कांग्रेसले उठाएको थियो । एमालेले सात प्रदेशमा ३३ हजार १ सय ४३ उम्मेदवार उठाएको थियो जसमध्ये १४ हजार ९८ जना विजयी भएका छन् । कुल जनप्रतिनिधिको ४०.०२ प्रतिशत स्थानमा एमाले उम्मेदवार विजयी भएका छन् । पहिलो चरणमा एमालेका ६ हजार ५४, दोस्रो चरणमा ६ हजार ७ सय ९४ र तेस्रो चरणमा १ हजार २ सय ५० उम्मेदवार निर्वाचित भएका छन् ।

संसदका सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तह निर्वाचनमा सात प्रदेशमा ३३ हजार ५ सय ५३ उम्मेदवार उठाएको थियो । तीमध्ये ११ हजार ४ सय ५७ उम्मेदवार निर्वाचित भएका छन् । कुल जनप्रतिनिधिको ३२.५२ प्रतिशत कांग्रेसबाट छन् । कांग्रेसको भन्दा ७.५ प्रतिशत बढी जनप्रतिनिधि एमालेका विजयी भएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसका ४ हजार ५ सय ५१, दोस्रो चरणमा ५ हजार १ सय ६८ र तेस्रो चरणमा १ हजार ७ सय ३८ उम्मेदवार विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रले सात प्रदेशमा ३० हजार २ सय ३० उम्मेदवार स्थानीय तह निर्वाचनमा उठाएको थियो । यीमध्ये ५ हजार ४ सय ४० उम्मेदवार निर्वाचित भएका छन् । कुल जनप्रतिनिधिको १५.४४ प्रतिशत माओवादीका तर्फबाट विजयी भएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा माओवादीका २ हजार ३ सय ६१, दोस्रो चरणमा १ हजार ९ सय ५२ र तेस्रो चरणमा १ हजार १ सय २७ उम्मेदवार निर्वाचित भएको देखिन्छ ।

स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुने पार्टीको सूचीमा संघीय समाजवादी फोरम, नेपाल चौथो नम्बरमा रहेको छ । समाजवादी फोरम तीन चरणमा सम्पन्न निर्वाचनमा कुल ८ हजार १ सय ३५ उम्मेदवार उतारेको थियो । जसमध्ये १ हजार ४ सय ३९ विजयी भएका छन् । कुल जनप्रतिनिधिको ४.०८ प्रतिशत समाजवादी फोरमबाट छन् । समाजवादी फोरमका तर्फबाट पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा भएको निर्वाचनमा एक उम्मेदवार पनि विजयी भएका थिएनन् । दोस्रो चरणको निर्वाचनमा ३ सय ८२ र तेस्रो चरणका निर्वाचनमा १ हजार ५७ जना संघीय समाजवादीका उम्मेदवारलाई आयोगले निर्वाचित भएको घोषणा गरेको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मात्र सहभागी बनेको राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल सबैभन्दा बढी उम्मेदवार विजयी हुने पार्टीको सूचीमा पाचौं स्थानमा छ । राजपाले निर्वाचनमा ४ हजार ९ सय ३३ उम्मेदवार उठाएकोमा एक हजार एक सय १२ जना निर्वाचित भएका छन् । कुल जनप्रतिनिधिको ३.१५ प्रतिशत राजपाको छ । संविधान संशोधनको माग राखी आन्दोलनमा रहेको राजपा पहिलो र दोस्रो चरणका निर्वाचनमा सहभागी बनेको थिएन ।

नेपाल लोकतान्त्रिक फोरमले तीन चरणमा ७ प्रदेशमा भएका स्थानिय तह निर्वाचनमा कुल ७ हजार ८१ उम्मेदवार मैदानमा उतारेको थियो । जसमध्ये ४ सय ६० जना निर्वाचित भएका छन् । कुल जनप्रतिनिधिमा १.३० प्रतिशत लोकतान्त्रिक फोरमबाट विजयी भएका छन् । पहिलो चरणको निर्वाचनमा ६, दोस्रो चरणमा २ सय ८९ र तेस्रो चरणमा १ सय ६५ जना लोकतान्त्रिक फोरमका उम्मेदवार विजयी भएका छन् ।
सबै प्रदेशका  स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ सय ८५, राष्ट्रिय जनमोर्चाबाट १ सय ८६, नेपाल मजदुर किसान पार्टीबाट ९८ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ६ सय ४६ जना विजयी भएका छन् ।

पहिलो र दोस्रो चरणका निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार एमालेका विजयी भएका थिए भने तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवार विजयी भएका छन् । तर, समग्रमा तीन चरणको निर्वाचनमा सबैभन्दा बढी एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तहमा कुल जनप्रतिनिधिको ९८.१७ प्रतिशत हिस्सा ९ दलका प्रतिनिधिले ओगटेका छन् ।

प्रकाशित: २० आश्विन २०७४ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App