१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक गठबन्धन चुनाव केन्द्रित छलफलमा

काठमाडौं- नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको छलफलमा जुटेका छन् ।
लोकतान्त्रिक शक्तिहरूबीच चुनावी तालमेल गरेर जाने सहमतिसहित कार्यदल गठन गरेका कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक चुनावी तालमेलको अनौपचारिक छलफलमा जुटेका हुन् ।
राजपाका कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्ला उपत्यकाबाहिर भएका कारण बिहीबार औपचारिक छलफल हुन सकेन । ‘हतारमा बैठक राखिएकाले कार्यदलका सबै नेताहरु उपस्थित हुन सक्नुभएन,’ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले भने, ‘भोलि ( शुक्रबार) बिहान ८ बजे कार्यदलको बैठक बस्छ र आवश्यक गृहकार्य थाल्नेछ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको अनौपचारिक बैठकमा दलहरूले प्रत्यक्षतर्फ कति प्रतिशत सिट संख्या पाउने, सम्भावित जित्ने जिल्ला र क्षेत्रका विषयमा सैद्धान्तिक छलफल सुरु गरेका छन् । दलहरुले पाउने प्रतिशत टुंगो लगाएपछि उनीहरूले जित्नसक्ने सम्भावित जिल्ला र क्षेत्र, त्यहाँ कसलाई उम्मेदवार बनाउँदा जित्न सकिन्छ भन्ने विषयमा पनि अनौपचारिक छलफल भएको छ ।
‘सिट र ठाउँ ओगटेर मात्र हुँदैन, जित्ने आधार पनि हुनुपर्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘त्यसका लागि क्षेत्रहरूको पहिचान गर्ने, न्यूनतम साझा कार्यक्रम बनाएर जाने जस्ता विषयमा छलफल सुरु भएको छ ।’
त्यस्तै, निर्वाचनमा नेताहरूको परिचालन, पार्टीहरूको साझा अवधारणा ल्याउने विषयमा पनि दलहरुबीच छलफल भएको छ ।
चुनावी तालमेलका लागि गठन भएको कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि र मीनेन्द्र रिजाल, राप्रपाबाट बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य छन् । त्यस्तै, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र फोरम लोकतान्त्रिकबाट गोपाल दहित कार्यदलमा रहे पनि शुक्रबारको बैठकबाट फोरम लोकतान्त्रिकबाट रामजनम चौधरी सहभागी हुनेछन् । बिहीबारको बैठकमा फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी थिए ।
यसैबीच कांग्रेसले माओवादी नेता मोहन बैद्यसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतालाई भेट्न बालुवाटार पुगेका बैद्यले कांग्रेससहितको गठबन्धनमा सहभागि हुने अवस्था नरहेपनि एमाले, माओवादीसहितको गठबन्धनले संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रलाई नै संकटमा पारेको तर्क गरेका थिए ।
 

 

प्रकाशित: २० आश्विन २०७४ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App