७ वैशाख २०८१ शुक्रबार
राजनीति

वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र भागबन्डा गर्ने

काठमाडौं- तीन दलीय वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबन्डाको प्रमुख आधार दोस्रो संविधानसभा र स्थानीय तह चुनावमा प्राप्त गरेको मतलाई बनाउने भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको क्षेत्र निर्धारण कार्यदलको बैठकले तीन दिनभित्र प्रतिनिधिसभा तथा प्रदेशसभाका चुनावका लागि भागबन्डामा क्षेत्र निर्धारण गर्ने तयारी गरेको हो ।
‘२०७० सालका दोस्रो संविधानसभा निर्वाचन र हालै भएको स्थानीय तह चुनावमा प्राप्त गरेको मतका आधारमा कुन दलले कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने निर्धारण गर्ने सहमति भएको छ,’ कार्यदलका सदस्य  एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘चुनाव जित्नका लागि गठबन्धन बनाउने हो । एकको प्रभाव क्षेत्र अर्काको भागमा पर्दा विपक्षीले चुनाव जित्न सक्छ ।’
प्रमुख प्रतिपक्षी एमाले, सत्ता साझेदार माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने र पार्टी एकीकरणको प्रक्रिया सुरु गरेको घोषणा मंगलबार गरेका थिए । पाण्डेका अनुसार कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषयमा चुनाव परिणाम सार्वजनिक भएपछि मात्रै टुंगो लगाइनेछ ।
एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य पक्षका लागि छुट्ट्याइएपछि बाँकी रहने निर्वाचन क्षेत्रलाई ६० र ४० अनुपातमा भागबन्डा गर्ने निर्णय गरेको थियो । एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा गठन भएको कार्यदलमा एमालेका तर्फबाट पाण्डेका अतिरिक्त विष्णु पौडेल, माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिबाट गंगा श्रेष्ठ सदस्य छन् ।  तीन दलका एकता समितिले निर्वाचन क्षेत्र भागबन्डा गर्न र चुनावी घोषणापत्र तयार पार्न छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।
दोस्रो संविधानसभा चुनावमा नेकपा माओवादी पहिलोबाट तेस्रो स्थानमा खुम्चिएको थियो भने पहिलो र दोस्रो तहका स्थानीय चुनावमा खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर, प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको चुनावमा भने कमब्याकको सम्भावना देखाएको थियो । पहिलो संविधानसभामा तेस्रो रहेको एमालेले दोस्रोमा नेपाली कांग्रेसको करिब बराबरीका साथ दोस्रो भएको थियो । स्थानीय चुनावमा प्रदेश नम्बर २ र ४ बाहेक अन्यमा एमाले पहिलो दल बनेको थियो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारहरूले चुनाव हारेर नफर्किने गरी भागबन्डामा क्षेत्र निर्धारण गर्ने निर्देशन दिएका थिए । दुवै नेताले तीन दिनभित्र सो काम सक्न निर्देशन दिएका थिए ।

 

प्रकाशित: २० आश्विन २०७४ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App