८ वैशाख २०८१ शनिबार
समाज

चेपाङ समुदायका लागि जुट्यो दशैं खर्च

चेपाङवस्तीमा दशैंका लागि खाद्यन्न र अन्य सामाग्री सहयोग हस्तान्तरण गरिदै । तस्बिर : किसान संगीत नेपाली

लमजुङ – बेसीसहर नगरपालिका ११ चितीको चेपाङटारमा बस्दै आएका विपन्न अवस्थाका चेपाङ समुदायलाई दशैं मनाउनका लागि आर्थिक सहयोग जुटेको छ।

नागरिक दैनिकमा दशैं मनाउन आर्थिक समस्या भएको समाचार प्रकाशित भएपछि उनीहरुलाई दशैं खर्चका लागि नगद, खाद्यन्न र खाद्य सामाग्री जुटेको हो । काठमाडौंका शिखर प्रसाईंले पैंतिस हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । खर्चको अभावमा दशैं मनाउन समस्या हुने थाहा पाएपछि व्यक्तिगत रुपमा उनीहरूलाई सहयोग गरेको सहयोगदाता प्रसाईंले बताए । सो रकमबाट प्रति परिवारलाई ३ हजार र बालबालिकाका लागि पिङ निर्माण गर्न २ हजार रुपैयाँ प्रदान गरिएको थियो।

ज्याला मजदुरी, मेलापात र खेतीपाती गरेर दशैंका लागि केही रकम जोहो गर्ने, नपुग रकम गाउँघरमा ऋण खोज्ने वा दशैं पछि कामकाज गरिदिने शर्तमा पैसा लिनु पर्नेे बाध्यता रहेको उनीहरू बताउँछन् । वर्षदिनको चाड मनाउन धौ–धौ भएको अवस्थामा आर्थिक सहयोग पाएपछि निकै सजिलो भएको ६४ वर्षीय सुकमान चेपाङ बताउँछन् । ‘रिनधन गरेर जसोतसो दशैं मनाउने सुरमा थियौं,’ उनले भने, ‘तीन–तीन हजारका दरले सहयोग पायौं, हामीलाई ठूलो भरथेग भयो ।’ पिङ बनाउन समेत आर्थिक सहयोग पाएपछि यसवर्ष चेपाङवस्तीमा पिङ समेत बनेको छ । दशैंमा नयाँ लुगा लगाउन र मिठो खाना सँगै पिङ पनि खेल्न पाएपछि यसवर्ष सो वस्तीका बालबालिका निकै रमाएका स्थानीय कोपिला चेपाङले बताइन्।  

दशैंमा खाद्यन्न लगायतका अन्य सामाग्रीहरुको आवश्यक पर्ने भएकाले बेसीसहरका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्माले पनि उनीहरूलाई प्रति घर एकबोरा चामल सहित नुन, तेल, चिनी, चियापत्ति, विस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेका छन् । चाडपर्वका बेलामा उनीहरूको मुहारमा खुशी छाउँदा देख्नेहरूलाई पनि सन्तुष्टि मिल्ने भएकाले सहयोग गरेको विश्वकर्मा बताउँछन् । त्यस्तै, बेसीसहरका अर्जुन राउतले पनि उनीहरूलाई खाजाको सामाग्री र विस्कुट, मिठाई सहयोग गरेका थिए । विगतको तुलनामा यसवर्षको दशैंमा धेरै रमाइलो महसुस भएको चेपाङ समुदायकी अगुवा अमृता चेपाङले बताइन्। 

चेपाङटारमा ८ र हिलेटक्सारको भिरकुनामा ३ घर गरी जिल्लामा कूल ११ घर चेपाङको बसोबास रहेको छ । सो बस्तीका बासिन्दाको आर्थिक तथा शैक्षिक अवस्था निम्नस्तरको छ । आरसीसी घर कसैका छैनन् । नजिकैका ब्राम्हण र क्षेत्री जातिको छिमेकी वस्तीमा वरबोटफाँटमा फलेको मग्मग् बास्ना आउने धानको भात पाक्छ तर वर्खाका केही महिना यो वस्तीका अधिकाँश घरमा हरेक साँझ–बिहान मकैकै च्याख्ला फत्किन्छ, भर्सिन्छ र पाक्छ । अनि त्यही च्याख्लाले बालबालिका देखि वृद्धवृद्धासम्मको पेट भरिन्छ र भोक मेटिन्छ। 
सातपुस्ता अघि मकवानपुरको लोथरबाट वरबोट फाँटमा आएर बसोबास गर्दै आएका चेपाङ समुदायको जीवनशैली सरसर्ती हेर्दा कुनै वृत्तचित्र(डकुमेन्ट्री)को दृश्य जस्तै लाग्छ तर गरिविका कारण अभाव, अशिक्षाको चेपेटोमा छन् उनीहरू । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरुको गुजारा सामान्य ज्याला मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुराबाट चल्दै आएको तिलक चेपाङ बताउँछन् । बासको लागि अधिकाँशको घर छैन, कच्ची पर्खालमा जस्ताले छाएको अस्थायी टहरामा बस्दै आएका छन् । गरिखाने आफ्नै भन्ने पर्याप्त जग्गा छैन, अधियाँ जग्गा कमाएर अन्नबाली भिœयाउँछन् । गाउँमा कसैको राम्रो आम्दानी हुने रोजगार छैन, मेलापात र ज्याला मजदुरी गरी खान्छन् । गाउँभरीमा एसएलसी पास गरेका २ जना मात्रै, अरु पढ्दैछन् । धेरैजसो विद्यार्थीहरू पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईवस्तुको गोठालो, भाइबैनीको धरालो भएर समय बिताउँछन् । 

अझैपनि गाउँमा सचेतनाको कमी छ । मुलुकमा भइरहेको परिवर्तन र उतारचढावको बारेमा उनीहरू बेखबर छन् । स्वास्थ्य प्रति जानकार छैनन्, त्यसैले एक दम्पतिले ७ सन्तानसम्म जन्माएका छन् । महिला तथा पुरुषमा जाँडरक्सी खाने र धुम्रपान गर्ने प्रवृत्ति बढ्दो छ । सरसफाईको महत्व नबुझेकै कारण घर–घरमा शौचालय निर्माण गरिएको भएपनि उचित प्रयोग छैन, बालबालिकाको मलमूत्र आँगन र पिंढीमा पनि देखिन्छ। 

पैसाको अभावमा राम्रो, बलियो र व्यवस्थित घर बनाउन नसकेका चेपाङहरूले गाईवस्तु, कुखुरा र बाख्राको लागि छुट्टै गोठ समेत बनाउन नसक्दा पशुपंक्षीलाई पनि आफू बस्ने घरमै राख्दै आएका छन् । पालीमा गाईवस्तुु बाँध्ने, खाना बनाउने ठाउँ नजिकै कुखुरा बाख्रा थुन्ने, बारीबाट ल्याइएको मकै घर भित्रै पसारो पारिएको र ठाउँ–ठाउँबाट पानी चुहिएर घरभित्रै चिसो भएपछि दुर्घन्दित बनेपछि बसोबासमा समेत समस्या थपिएको उनीहरू बताउँछन् । अल्पसंख्यक जातिमा सूचिकृत चेपाङगाउँका बासिन्दा खाने, लाउने जस्ता आधारभूत समस्याले समेत चेपिएका छन् । अहिले पनि अधिकांशको आँङ्गमा सुकिलो र नफाटेको लुगा छैनन्, खानाका लागि पर्याप्त अन्न, बस्नको लागि चिटिक्कको पिंढी, सुत्नको लागि सजिलो विस्तारा जस्ता न्युनतम गास, बास र कपासको व्यवस्था समेत उनीहरुले पाउन सकेका छैनन्। 

प्रकाशित: १९ आश्विन २०७४ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App