४ वैशाख २०८१ मंगलबार
अर्थ

तीन महिनाभित्र चमेलियाबाट बिजुली

काठमाडौं- दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट तीन महिनाभित्र बिजुली उत्पादन हुने भएको छ । पुस १६ गतेभित्र बिजुली उत्पादन हुने गरी उक्त आयोजनाको काम भइरहेको छ ।
आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको सुक्खा परीक्षण (ड्राइ टेस्ट) सम्पन्न भएको छ । सुरुङभित्र पानी हालेर गरिने परीक्षण (वेट टेस्ट) को काम दुई हप्तापछि गरिने आयोजना प्रमुख अजयकुमार दाहालले बुधबार नागरिकलाई बताए । ‘वेट टेस्टको तयारीमा जुटेका छौं,’ उनले भने, ‘डिसेम्बर (पुस १६) भित्र आयोजनाबाट बिजुली निकाल्ने योजना अनुसार काम भइरहेको छ ।’
सुदूरपश्चिममा निर्माणाधीन उक्त आयोजनाको मुहान (हेडवक्र्स)को परीक्षण यसअघि नै सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए । आयोजनाको आठ सय ८८ मिटरको मुहानमा पानी भरेर चुहावट हुन्छ, हुँदैन हेरिएको थियो ।
अडिट टनेल–१,२ र ३ को पनि सकिएको छ । आयोजनाको प्रसारण लाइनको काम पनि सकिएको छ । सन् २००७ बाट निर्माण थालिएको आयोजना १० वर्षपछि सकिँदै छ । सुरुमा आयोजना ०६८ वैशाख (९ मे २०११) मा सक्ने लक्ष्य राखिएको थियो ।
आयोजना निर्माणको समय पटकपटक थपिँदै आएको छ । पछिल्लोपटकको कार्यतालिका अनुसार अहिले ०७४ को पुस १६ गते (डिसेम्बर) सम्ममा आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको काम लक्ष्यभन्दा ६ वर्ष ढिला भएको छ । समयसँगै लागत पनि बढ्दै गएको छ । सुरुमा साढे आठ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । हालसम्म १४ अर्ब ५० करोड खर्च भइसकेको पनि दाहालले जानकारी दिए ।
कमजोर भू–बनोटका कारण पनि निर्माणले गति लिन नसकेको आयोजनाको भनाइ छ । आयोजनाको सुरुङ खुम्चिएपछि लामो समय निर्माणको काम रोकिएको थियो ।
ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) ले खुम्चिएको सुरुङ खुलाएको छ । खनिसकिएको सुरुङमध्ये कमजोर भू–बनोटका कारण आठ सय ४३ मिटर खुम्चिएको थियो
प्राधिकरण सञ्चालक समितिले सुरुङ खुलाउन एक अर्ब नौ करोड ३८ लाख रुपैया“ (भ्याट सहित) लागत स्वीकृतिमा चलनचल्तीभन्दा बढी दर दिएर अनियमितता गरेको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो ।
लेखासमितिको निर्देशनपछि प्राधिकरणले भुक्तानी रोकेको थियो । भुक्तानी नपाएको भन्दै सिजिजिसीले खुम्चिएको सुरुङ खुलाउने काम दुई वर्ष रोकेको थियो ।
आयोजना समयमा निर्माण नहुँदा प्राधिकरणलाई वार्षिक डेढ अर्ब रुपैया“ घाटा भइरहेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख १० हजार युनिट विद्युत् उत्पादन हुन्छ । प्राधिकरणको उपभोक्ता महसुल औसतमा आठ रुपैया“ ६० पैसा छ । यसका आधारमा एकातर्फ प्राधिकरणले आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५८ करोड ४२ लाख रुपैया“ गुमाइरहेको छ भने अर्कोतर्फ मुलुकले लोडसेडिङ बेहोरिरहेको छ ।
बा“ध, विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न सिजिजिसीसित ठेक्का सम्झौता भएको थियो । निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भू–बनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत बढेको छ ।
ऊर्जा मन्त्रालय र प्राधिकारणले आयोजना छिटो सकाउन प्राधिकरण, ठेकेदार र पारमर्शदाता कम्पनीलाई ताकेता गरेको छ । उनले राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएकाले जसरी भए पनि तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित: १९ आश्विन २०७४ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App