coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेटमै भविष्य खोज्दै नेपाली ‘माही’

काठमाडौं- ‘माही’ विश्व क्रिकेटमा चर्चित नाम हो । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई माही भनेर सम्बोधन गरिन्छ । नेपाली क्रिकेटमा पनि माही नामले खेलाडीलाई बोलाइन्छ । ती माही हुन्– महेश क्षत्री । धोनी विकेटकिपर ब्याट्सम्यान हुन् । महेश पनि विकेटकिपर र ओपनिङ ब्याट्सम्यान हुन् । नेपाली क्रिकेटमा मिहिनेती ब्याट्सम्यान र चलाख विकेटकिपरको रूपमा महेशलाई लिइन्छ ।
कीर्तिपुर क्रिकेट मैदानमा अभ्यासकै क्रममा कप्तान पारस खड्काले महेशलाई माही भनेर बोलाएका थिए । त्यसपछि टोलीका अन्य साथी र प्रशिक्षक रोय लुक डायसले महेशलाई माही भनेर बोलाउने गरे । त्यसपछि महेशलाई पुबुदु दासानायके र नेपाली टोली अन्य खेलाडीले माही भनेर बोलाउँछन । डायसले माही भनेर बोलाउँदा क्षण महेशका लागि अविस्मरणीय क्षण हो ।
नेपाली माही अर्थात् महेशले नेपालगन्जको क्रिकेट माहोलबाट ब्याट, ग्लोब समाउन सुरुआत गरेका थिए ।
क्रिकेट पारखीको सहरबाट थुप्रै क्रिकेटर जन्मिए । तर महेशले आफ्नो छिट्टै परिचय बनाएका छन् । मिहिनेती, अनुशासित र क्रिकेटमा समर्पित खेलाडीको रूपमा । २९ वर्षे महेशको दैनिक अहिले पनि क्रिकेट एकेडेमीमा बितिरहेको हुन्छ, त्यसरी नै दुई दशकअघि नेपालगन्ज ४ बिसकोरियन टोलबाट सुरु भएको थियो ।
नेपाली समर्थकले महेशलाई सम्झने थुप्रै योगदान छन् । तर दुई सफलताले महेश नेपाली क्रिकेटमा नबिर्सने नाम बनेको छ । सन् २००६ मा नेपालले यु–१९ क्रिकेट वल्र्ड कप जित्यो । प्रतियोगितापछि महेश यु–१९ विश्वस्तरमा उत्कृष्ट चौथो विकेट विकेटकिपरको वरीयतामा परे । त्यो उपलब्धिको सम्मान गर्दै तत्कालीन युवराज पारसविक्रम शाहले महेशलाई बाइकले पुरस्कृत गरेका थिए ।
नेपालले घरेलु मैदानमा सन् २०१० को डिभिजन ५ क्रिकेट खेलिरहेको थियो । फाइनलमा नेपाल र अमेरिका खेलिरहेका थिए । महेश र अनिलले ८७ रनको साझेदारी गरेर नेपाललाई फाइनल जिताउन मुख्य भूमिका खेले । जसले नेपाली क्रिकेटलाई एक स्तर माथि उठेर क्रिकेटमा अगाडि बढ्न सहयोग गरेको छ ।
नेपालगन्जमा हुने क्लबस्तरीय प्रतियोगितामा गरेको प्रदर्शनबाट महेशले बाँके जिल्लाको टिम हुँदै क्षेत्र नम्बर ५ को टोलीको कप्तानको जिम्मेवारी पाएका थिए । नारायणी उच्च माविमा माध्यमिक स्तरको अध्ययन गरे पनि महेश धेरैजसो मंगलप्रसाद क्रिकेट मैदानमा मिहिनेत गरिरहेका हुन्थे । नेपालगन्ज क्रिकेटका लागि लोकप्रिय सहर हो । तर क्रिकेट खेल्ने मैदान अभाव यहाँ एउटा दुखद पाटो हो । मंगलप्रसाद मावि मात्र नेपालगन्जको क्रिकेट खेल्नका लागि धेरैले प्रयोग गर्ने एक मात्र स्थान हो । महेशले पनि त्यही मैदानबाट आफ्नो करियरको सुरुआत गरे । ब्याट चलाउने सिके ।
मंगलप्रसाद माविको मैदानमा गरेको मिहिनेतले महेशलाई सन् २००२ मा पहिलो पटक नेपालको जुनियर टोलीबाट खेल्ने अवसर दिलायो । नेपालले युएईमा भएको यु–१५ एसिया कपमा टेस्ट राष्ट्र बंगलादेशलाई हराएर सेमिफाइनलमा पुगेको थियो । त्यो प्रतियोगिता महेशका लागि पहिलो अवसर थियो नेपालको जर्सी लगाएर खेल्ने । र महेशले प्रतियोगितामा कतारविरुद्ध अर्धशतक प्रहार गरेर पहिलो प्रतियोगितामै आफूलाई प्रभावशाली खेलाडीको रूपमा स्थापित गरिसकेका थिए ।
प्रतियोगितामा नेपालको यात्रा सेमिफाइनलमा पाकिस्तानसँग पराजित भएर टुङ्गियो  ।
श्रीलंकामा गरेको प्रदर्शनपछि महेश क्रिकेट करियर तीव्र गतिमा अगाडि बढ्यो । उनले त्यति बेला हुने सबै उमेर समूहका क्रिकेटबाट खेले । यु–१५ देखि सिनियर टिमको यात्रामा महेशले १२ वर्षभन्दा बढी समय बिताइसकेका छन् ।
क्रिकेटरको जीवन सधै एकनासले बित्दैन । कडा मिहिनेतका बीच खेलाडीले थुप्रै समस्या, पीडालाई पन्छाउँदै अगाडि बढेका हुन्छन् । महेशले त्यस्तै समस्याको सामना गरेका थिए पाँच वर्षअघि । अभ्यासको बेला खुट्टामा इन्जुरीको समस्या देखियो । एंकलमा समस्या आएपछि महेशले एक वर्ष आराम गर्नुप¥यो । खुट्टाको पीडाले सताउँदै गयो । खुट्टाले साथ नदिएपछि नेपाली टिमबाट खेल्न सक्दिनँ भन्ने सोच्न थालिसकेका थिए उनले । चोटको बेला कसैबाट सहयोग पनि पाएनन् । त्यसले महेशको हिम्मतलाई झन् कम गरिरहेको थियो । त्यो अवधिमा उनी क्रिकेटबाट अलग भएर जागिर गर्ने सोचमा पुगिसकेका थिए । पाँच महिना एउटा सामाजिक संस्थामा आबद्ध पनि भए महेश ।
त्यही बेला कप्तान पारसले महेशलाई फोन गरेर अभ्यास गर्न र हिम्मत नहार्न हौसला दिए । महेश भन्छन्, ‘मैले त्यति बेला चोटले क्रिकेटमा फर्कन सक्दिनँ भन्ने सोचिसकेको थिएँ । एक वर्ष टिममा पनि नपरेपछि अब झन् गाह्रो भैरहेको महसुस गरें । तर त्यति बेला पारसले मलाई फोन गरेर नेपाललाई विकेटकिपरको खाँचो भएको बताए । हिम्मत राखेर अभ्यास गर्न सल्लाह दिए । त्यो मेरो करियरको टर्निङ प्वाइन्ट बन्यो ।’
पारससँगको कुराले महेशको जीवनमा नयाँ ऊर्जा थपिदियो । फेरि उनले क्रिकेटको ब्याग लिएर अभ्यासमा निस्कन सुरु गरे । नेपालगन्जबाट काठमाडौं आए । कीर्तिपुर क्रिकेट मैदानमा दैनिक ६ देखि ८ घण्टा अभ्यासको क्रम सुरु भयो । त्यो अवधिमा महेशलाई हौसला थप्ने अर्को साथी थिइन् उनकी जीवनसाथी विनीता । विनीता र महेश स्कुले साथी हुन । साथीको सम्बन्धलाई पछि विनीताले जीवनसाथीको रूपमा रोजेकी थिइन् ।
विनीताले बनाएको खाजाको टिफिन बक्स बोकेर दैनिक कीर्तिपुरमा अभ्यास गरेको महेश सम्झन्छन् । उनले भने, ‘मलाई नेपालको टिममा पुनः फर्कनु थियो । कोठामा गएर खाने समय हुन्थेन । मैले त्यतिबेला विनीताले बनाएको खाजा बोकेर मैदानमा साथीसँग अभ्यास गरें ।’
अभ्यासमा गरेको लगनशीलताले महेशको कमब्याक पनि सानदार भयो । इन्जुरीपछि खेलेको पहिलो प्रतियोगितामै उनी म्यान अफ दी सिरिजको ट्रफी जित्दै सर्वाधिक रन बनाउने खेलाडी बने ।
इन्जुरीपछि महेशले सन् २०१३ को राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा नेपालगन्जको कप्तानका रूपमा खेलेका थिए । प्रतियोगितामा वर्षा बाधक बनेपछि नेपालगन्ज सेमिफाइनलबाट अगाडि बढ्न सकेन । प्रतियोगितामा महेशले तीन खेलमा अर्धशतकसहित १ सय ७७ रन प्रहार गरे ।
त्यसले महेशलाई राष्ट्रिय टोलीमा कमब्याक गराउन सहयोग ग¥यो । त्यही प्रतियोगिताको प्रदर्शनबाट महेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्ने प्रस्ताव पाए । अहिले महेश आर्मीबाट घरेलु प्रतियोगिता खेल्छन् ।
क्रिकेटमा सफलता, खुसीसँगै धेरै दुखदायी कुराको सामना गर्नुपर्ने महेशको बुझाइ छ । उनले कराते खेलाडी बुबा सञ्जयबाट खेलमा सफलता हासिल गर्न मिहिनेत मुख्य कुरा भएको शिक्षा पाएका छन् । आमा पार्वतीले खेलमा छोराहरूलाई सधैं हौसला दिइन् । महेशका भाइ गणेश पनि क्रिकेटर हुन् । उनले नेपालगन्ज टिमबाट राष्ट्रिय स्तरसम्म खेले ।
लगनशीलताबिना कुनै पनि खेलमा सफलता हासिल गर्न नसक्ने महेशले बुझेका छन् । उनी भन्छन्, ‘क्रिकेट मात्र होइन नेपालमा अन्य खेलाडीलाई आफ्नो भविष्यका बारेमा थाहा हुँदैन,
मेरो करियर कसरी अगाडि बढ्छ र कस्तो हुन्छ भनेर ।
घरपरिवारबाट टाढा भइन्छ । काठमाडौंमा बाहिरबाट आएर मिहिनेत गर्न सहज छैन । तर अहिले विगतभन्दा राम्रो हँुदै गएको छ । यो खुसीको कुरा हो ।’
दीपेन्द्रप्रताप सिंह अर्थात् ‘गुड्डु’ महेशलाई ब्याट चलाउन सिकाउने गुरु हुन् । अरुण थापा, एलबी क्षेत्री, मेराज अन्सारीलगायत अन्य धेरै सिनियर दाइहरूले आफूलाई क्रिकेटमा अगाडि बढ्न सहयोग गरेको महेश बताउँछन् । त्यो सहयोगले आफू अहिलेसम्म क्रिकेटमा अगाडि बढिरहेको उनी बताउँछन् ।
पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा पनि महेशले आफ्नो सक्रियता बढाइरहेका छन् ।
राष्ट्रिय, घरेलु प्रतियोगितासँगै महेशले अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा पनि आफूलाई सफल खेलाडीको रूपमा चिनाइसकेका छन् । उनले लन्डन, अमेरिका र भारतका क्लबबाट व्यावसायिक क्रिकेट खेलिसकेका छन् । दुई वर्षअघि महेशले लन्डनको ट्रुन क्रिकेट क्लबबाट प्रिमियर लिग खेलेका थिए, जुन लिगमा उनी उत्कृष्ट ब्याट्सम्यान भए ।
अमेरिकामा बंगलादेशी समुदायको क्रिकेटमा पनि उनले खेलेका छन् । गत वर्ष अमेरिकामा महेशले बंगलादेश क्रिकेट लिगमा एन्टिका क्रिकेट क्लबबाट खेल्दा एउटा खेलमा म्यान अफ द म्याच जितेका थिए ।
नेपालको जगदम्बा राइनोबाट खेल्ने महेशले भारतको विश्व स्वामी क्रिकेट क्लबबाट पनि खेलेका छन् ।
नयाँ सिजनमा लन्डनबाट क्रिकेट खेल्ने तयारी गरिरहेको पनि महेशले बताए ।

महेशले प्रशिक्षक डायससँग ९ वर्ष र पुबुदुसँग ४ वर्ष अभ्यास गरेर नेपाली टोलीबाट खेलेका छन् । पारस नेपाली टिममा महेशको सबैभन्दा नजिकका साथी हुन् । पारस महेशको नजरमा नेपालको लागि उत्कृष्ट कप्तान पनि हुन् । ‘पारससँगै नेपाली टिमका अन्य धेरै साथीसँग धेरै सुख र दुखको क्षण भोगेको छु, महेशले भने, ‘१२ वर्षदेखि हामीले धेरै समय फिल्डमा बिताएका छौं । पारस फिल्ड र फिल्डबाहिर असल साथी हो । खेलाडीलाई सहयोग गर्ने बानीले पारस मेरो आत्मीय मित्र हो । समस्या परेको बेला फिल्ड मात्र फिल्डबाहिर पनि सहयोग गर्ने गुण छ । त्यो धेरै कममा हुन्छ ।’
२९ वर्षे महेश अबको भविष्य पनि क्रिकेटमा नै भएको बताउँछन् । अहिले उनले क्रिकेट क्लबमा जुनियर भाइहरूलाई खेल्न सिकाउने गरेका छन् । महेश भन्छन्, ‘म क्रिकेटका लागि जन्मिएको हुँ । भविष्यमा पनि क्रिकेटका लागि काम गर्छु । भूमिका केही फरक होला ।’
आफूले खेल्न सुरुआत गरेको नेपालगन्जमा एकेडेमी खेलेर क्रिकेट सिकाउने महेशको सोच छ । ‘मलाई आफ्नो ठाउँमा स्कुल स्तरका बच्चालाई क्रिकेट सिकाउने मन छ । नेपालगन्जमा एउटा एकेडेमीको खाँचो छ,’ महेश भन्छन्, ‘नेपालगन्जमा प्रतिभा भएका खेलाडी छन् । तर उनीहरूले अवसर पाइरहेका छैनन् । जे अहिले हामीले पाएका छौं खेलाडीको मिहिनेतले हो । इन्डोर एकेडेमीको खाँचो छ ।’
महेश मध्यपश्चिमबाट लामो समयदेखि राष्ट्रिय टोलीबाट योगदान गर्ने खेलाडी हुन् । नेपालगन्जले महेशपछि राष्ट्रिय स्तरमा प्रभाव पार्ने खेलाडी उत्पादन गर्न सकिरहेको छैन । नेपाली क्रिकेटमा आफूले प्रभावशाली स्थान बनाए पनि नेपालगन्जको क्रिकेट फस्टाउन नसक्दा दुख लाग्ने गरेको महेश सुनाउँछन् । उनले भने,
‘मैले नेपालगन्जबाट खेलेर राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाएँ । यसमा गर्व लाग्छ । त्यसपछि यहाँबाट सोचेजस्तो नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । अहिले प्रनित थापा भाइले उमेर समूहमा राम्रो गरिरहेको छ । तर यहाँ धेरै राम्रा खेलाडी छन् । त्यसका लागि हामीसँग योजना र लगानी छैन ।’
उनले थपे, ‘क्रिकेटको विकासका लागि एकेडेमी र अवसर हुनुपर्छ । नेपालगन्ज क्रिकेटलाई माया गर्ने सहर हो । प्रतिभाको खानी छ यहाँ  । क्रिकेट एक्लैले विकास गर्न सक्ने कुरा होइन । सबैले मिलेर काम गरे नेपालको क्रिकेट विकास गर्न कठिन छैन ।’

 

प्रकाशित: १९ आश्विन २०७४ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App