coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बदला लिन पक्राउ

भारतीय पक्षले तिलाठीको दसगजामा खाँडो खोला थुनेर निर्माण गरेको बाँधविरुद्ध गत वर्ष सीमा बचाऔं आन्दोलनको नेतृत्व गरेबापत सप्तरीका देवनारायण यादवलाई अहिले भारतीय प्रहरीले पक्राउ गरेको घटना भत्र्सनायोग्य छ । सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका–२ तिलाठी टोलका यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले आइतबार पक्राउ गरी वीरपुर जेल चलान गरेको घटना दुःखद हो । कुनौली थानाअन्तर्गत दसगजा क्षेत्रसँगै जोडिएको आदर्श ग्रामपञ्चायतमा सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा अजयलाई प्रहरीले पक्राउ गरेको थियो भने अजयलाई छुटाउन गएका बेला उनका बाबु देवनारायणलाई पनि कुनौली प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले यादव बाबुछोरासहित चार जनाविरुद्ध अपहरणको मुद्दा लगाएको छ जुन आपैंmमा हास्यास्पद छ ।

आवरणमा देवनारायण यादव र उनका छोरा अजयलाई अपहरणको मुद्दा लगाए पनि पक्राउ गर्नुको अन्तर्निहित तथ्य सीमा बचाऔं आन्दोलनमा लागेर भारतीय पक्षसँग प्रतिकार गरेबापतको बदला नै हो ।

गत जेठ २० गते भारतको बिहारस्थित कुनौली–१ की ज्योति कुमारीलाई अजय र देवनारायणसहितका चारजनाले अपहरण गरेको व्यहोराको जाहेरी (एफआइआर) कुनौली थानामा दर्ता भएको र सोही मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको दाबी भारतीय प्रहरी प्रशासनको छ । यति लामो समयपछि अहिले एकाएक देवनारायणका बाबुछोरालाई पक्राउ गर्नुले पनि अपहरण गरिएको भन्ने भारतीय प्रशासनको दाबी  पत्याउन सकिँदैन । यस हिसाबले आवरणमा देवनारायण यादव र उनका छोरा अजयलाई अपहरणको मुद्दा लगाए पनि पक्राउ गर्नुको अन्तरनिहित तथ्य सीमा बचाऔं आन्दोलनमा लागेर भारतीय पक्षसँग प्रतिकार गरेस्वरूपको बदला नै हो ।
यता भारतीय प्रहरी प्रशासनले ज्योति कुमारीको अपहरण गरिएको दाबी गरे पनि उनै ज्योतिले भने आफूले अजयसँग प्रेमविवाह गरेको बताएकी छन् । आफ्ना पति र ससुरालाई भारतीय प्रहरीले अनाहकमा पक्रेर दुःख दिएको ज्योतिको भनाइले नै देवनारायण–अजय पक्राउ प्रकरण प्रतिशोधका कारण मात्रै भएको सहजै बुभ्mन सकिन्छ । ०७३ साउन १३ गते भारतीय पक्षले दसगजा क्षेत्रमा एकतर्फी बाँध बाँधिरहँदा देवनारायणको अगुवाइमा तिलाठीवासीले सीमा रक्षा आन्दोलन मात्रै गरेका थिएनन्, भारतीय पक्षको प्रहारबाट देवनारायण घाइतेसमेत भएका थिए । सरकारले उनको उपचार खर्च बेहोर्दै ‘सच्चा राष्ट्रवादी’ को सम्मानबाट सम्मानित समेत गरेको थियो । तर, अहिले सरकारले उनको रिहाइका लागि खासै पहल गरेको देखिएको छैन जुन आफैंमा राष्ट्रिय लज्जाको विषय हो ।

सीमावर्ती क्षेत्रमा भारतीय पक्षले विभिन्न संरचना निर्माण गर्ने र त्यसका कारण नेपाली भूमि डुबानमा पर्ने मात्र होइन, सीमा नजिक बस्ने नेपालीले सास्ती र हैरानी खेप्नुपरिरहेको छ । एक हिसाबले भन्ने हो भने सीमावर्ती संरचनाले डुबानमा पर्ने जोखिमका कारण सीमानजिक बस्ने नेपालीले असुरक्षा त भोग्नुपरेको छ नै, त्यसको विरोध गरेबापत भारतीय पक्षबाट थप असुरक्षाको सामना गर्नुपर्ने नियति पनि भोग्दै आएका छन् । जस्तो कि अहिले देवनारायण र अजय यादवको सबालमा देखिएको÷भएको पनि त्यही हो । यस सन्दर्भमा सरकारले भारतसँग उच्चस्तरको राजनीतिक तथा कूटनीतिक पहलमार्फत समाधान खोज्ने पहल गर्नुपर्ने हो । तर, सरकारका तर्फबाट त्यस किसिमको पहल देखिँदैन जसका कारण सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारको अनुभूति गर्न पाएका छैनन् । यस अवस्थामा सरकारले सीमावर्ती क्षेत्रमा संरचना निर्माणमा रोक लगाउन त पहल गर्नैपर्छ, त्यससँगै मुख्य कुरा आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ । सरकारले सुरक्षाको प्रत्याभूति गरिदिने हो भने स्थानीय बासिन्दाले भारतीय पक्षसँग नागरिक प्रतिरोध गर्नैपर्ने थिएन । साथै देवनारायण र अजयले झैं बेफ्वाँकमा पक्राउ पनि पर्नुपर्ने थिएन । त्यसैले सरकारले यो पक्षलाई ध्यान दिँदै तत्काल राजनीतिक र कूटनीतिक स्तरबाट यसको पहल गर्नैपर्छ । र, तत्कालका लागि चाहिँ देवनारायण र अजयलाई छुटाउनेतर्फ पहल गर्न आवश्यक छ । यही घटनालाई नजिर बनाउँदै भविष्यमा यस किसिमको प्रकरण दोहारिनै नदिनेतर्फ कदम  चाल्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App