७ वैशाख २०८१ शुक्रबार
समाज

देवनारायण छुटाउन बुहारी ज्योति पुगिन् वीरपुर अदालत

सप्तरी प्रशासनमक्ष देवनारायणका बुहारी ज्योतिसहितका परिवारजन रिहाइको पहलका लागि याचना गर्दै ।

लहान- अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा भारतीय प्रहरीले पक्राउ गरेका सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण यादव र उनका छोरा अजयको वीरपुर अदालतमा बुधबार थुनछेक बहस सुरु भएको छ ।

                अदालतमा अपहृत भनिएकी ज्योतिसँग बयान लिइएको छ । उनको बयान ढिला गरी सुरु भएको भएको थियो । देवनारायणका परिवारजन तिलाठीबाट मंगलबार नै ज्योतिलाई लिएर वीरपुर पुगेका थिए । मंगलबार अदालत पुगे पनि बुधबार दिउँसो ४ बजेमात्र उनको बयान लिने काम सुरु भएको वीरपुरबाट फर्केका सप्तरीका स्थानीय पत्रकार धर्मपाल राउतले बताए ।

                भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ परेका देवनारायणको थुनछेक बहसअन्तर्गत ज्योतिको बयान सकिएपछि अपहरण मुद्दामा आरोपित देवनारायण र अजयको बयान सुरु हुन्छ ।

                दुई न्यायाधीश रहेको यो अदालतमा अहिले एकजना न्यायाधीश मात्र भएकाले देवनारायण मद्दा सुनवाइमा ढिलाइ भइरहेको छ । बिहीबार सार्वजनिक बिदा भएकाले यो मुद्दाउपरको सुनुवाइ शुक्रबारका लागि सारिएको छ ।

आफूले मन पराएको केटासँग विवाह गर्दा ससुरा र पति भारतीय प्रहरीबाट पक्राउ पर्नु अनुचित भएको ज्योतिले दोह¥याउँदै आएकी छन् । ‘मैले  स्वेच्छाले अजयसँग प्रेम विवाह गरेकी हुँ,’ उनले भनिन्, ‘मलाई कसैले मेरो इच्छाविपरीत ल्याएका छैनन् ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले देवनारायण र उनका छोरा अजयलाई मंगलबार भारतको वीरपुर न्यायालयमा हाजिर गराएको बताए । ‘मंगलबारदेखि नै अदालती कारबाही सुरु भइसकेको छ,’ पाण्डेले भारतीय प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै भने, ‘वीरपुर अदालतमा बयान लिने एउटा र आदेश गर्ने अर्को न्यायाधीश भएकाले प्रक्रिया लम्बिएको हो ।’ बिहीबार बिदाका कारण शुक्रबार सबै कुरा अनुकूल भयो भने देवनारायण यादव छुट्ने सम्भावना रहेको उनले बताए ।

भारतको कुनौली–१ की ज्योति कुमारीलाई देवनारायणका छोरा अजयसहितका चारजनाले अपहरण गरेको भन्दै ज्योतिको परिवारजनले कुनौली थानामा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएका थिए ।

मंगलबार सप्तरीका प्रजिअ पाण्डेसहित प्रहरी र सशस्त्र प्रहरीका सप्तरी प्रमुख कुनौली थाना पुगेर अदालती प्रक्रियालाई प्रशासनिक स्तरबाट हुने प्रक्रियामा सहयोग गरिदिन आग्रह गरेका थिए । अफूहरूको आग्रहपछि समकक्षी प्रहरी अधिकारीले मंगलबार ज्योतिलाई वीरपुर न्यायालयमा पेस गरेको उनले बताए । यो मुद्दामा ज्योतिको बयान महŒवपूर्ण छ ।

ज्योति कुमारीको आधार कार्डबाट उनको उमेर १८ वर्ष ८ महिना रहेको देखिन्छ । यद्यपि बालिग हुन उनको उमेर १९ वर्ष पुग्नुपर्नेमा चार महिना कम रहेको प्रजिअ पाण्डेले बताए ।

  भारतको कुनौली १ का कैलाशप्रसाद साहकी छोरी ज्योतिलाई देवनारायण, उनका छोरा अजयलगायतले अपहरण गरेको भन्दै परिवारजनले कुनौली थानामा जाहेरी दिएको आधारमा देवनारायण र उनको छोरालाई कुनौली प्रहरीले आइतबार पक्राउ गरी सोमबार जेल चलान गरेको थियो ।

                पक्राउ परेलगत्तै नेपाल सरकार गृह मन्त्रालयबाट देवनारायणको रिहाइका लागि पहल सुरु भएको थियो । गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रजिअ भगीरथ पाण्डेलाई फोन गरी सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायाणको रिहाइका लागि सक्रिय पहल सुरु गर्न निर्देशन दिएका थिए ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App