७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली नदी पौडीका लागि निकै जोखिमपूर्ण

टीकापुर- कर्णाली नदीले पटकपटक कैयौं होनहार युवाहरूको ज्यान लिएको छ । कैयौं व्यक्तिहरू बेपत्ता छन । जसको न त लाश भेटियो न उनीहरू जीवितै रहेको कुनै आधार छ ।
आइतबार अपराह्न पितमारी नजिकै नदीमा पौडीने क्रममा बेपत्ता काका भतिजाको अझै अत्तोपत्तो छैन । चिसापानी घुम्न निस्किएका टीकापुरका २१ वर्षका काका रमेश न्यौपाने र २० वर्षका भतिजा मुकुन्द न्यौपाने नदीमा नुहाउन गएका थिए । मुकुन्द त्रिचन्द्र कलेजमा बिएस्सीमा अध्ययनरत र रमेश बिएस्सीएजीमा नाम निकालेर अध्ययनका लागि तयारी अवस्थामा थिए ।
उनीहरूसँगै रहेका अनुराग धामीका अनुसार दुवैजना एकसाथ नदीमा पसेका थिए । धामीको घरमा दसैंको टीका थापेर तीनैजना चिसापानी घुम्न निस्किएका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बोहराले नदीमा पौडिने क्रममा कैयौं व्यक्तिको ज्यान गएको बताए ।
गएको जेठमा टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरका विद्यार्थीद्वय कक्षा ९ का पारस ठकुल्ला र कक्षा १० का राजन भण्डारीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गयो । उनीहरु लगायत सात जना विद्यार्थी नदीमा पौडी खेल्न गएका थिए ।
यस्तै टीकापुरका पवन रावल २०६४ साउन १५ गते काकाको मलामी गएका बेला डुबेर बेपत्ता भए । उनीलगायत छ जना पौडिएर नदी पारि गए । फर्किने क्रममा पाँच जना वारि किनार लागे तर रावल नदीमा बग्न थाले । मलामी गएकाहरूले उनी बग्दै गरेको देखे ।
नदीमा बग्दै गरेका रावललाई बचाउने प्रयास गर्दै उनीहरु नदीको किनारै किनार दौडिए । तर नदीमा हाम फालेर बचाउने साहस कसैले गर्न सकेनन् । झण्डै दुई किलोमिटर तल पुगेपछि रावल नदीमा बेपत्ता भए । उनको शव भेटिएन । परिवारले आफ्नो परम्परा अनुसार मरणोपरान्त गर्ने सबै कार्य गरे ।
रावललाई खोज्न टीकापुरस्थित उग्रतारा सशस्त्र प्रहरी गणबाट टोली खटियो । सशस्त्र प्रहरीले निकै खोजी गरे । तर दुर्भाग्य रावललाई खोज्न गएका मध्ये एक जना सहायक हवल्दार कञ्चनपुरका अविराज भाट कहिल्यै नफर्किने गरी नदीमा बेपत्ता भए ।
२०६९ कार्तिक २८ गते दिपावलीको दिन थियो । सबैका घरमा दिपावलीको तयारी थियो । टीकापुरका राजेन्द्र तिमिल्सिना र धर्म धामीका घरमासमेत दिपावलीको रौनकता छाएको थियो । एमबिबिएस पढदै गरेको तिमिल्सिना र इन्जिनियरीङ पढदै गरेका धामी मिल्ने साथी थिए । उनीहरू विदाको समयमा घर आएका थिए । उनीहरूका अन्य साथीहरू समेत आएका थिए ।
साथीहरुबीच दिपावलीको दिन चिसापानी घुम्न जाने सल्लाह भयो । सात जना घुम्न गए । उनीहरू चिसापानी पुल नजिकै नदीमा पौडी खेल्न थाले । धेरैपछि भेट भएकोमा उनीहरू निकै रमाइरहेका थिए । तर अचानक उनीहरूको रमाइलोमा बिपत्ती आयो । तिमिल्सिना र धामी नदीमा एकाएक बेपत्ता भए । कैयौं दिन खोजी गर्दा पनि दुवै जनाको अत्तोपत्तो लागेन ।
यस्तै घटनाको सामना २०७२ साल कोजाग्रत पूर्णिमाको दिन तुलप्रसाद पाण्डेको परिवारले भोग्नु पर्यो । सशस्त्र प्रहरीमा कार्यरत पाण्डे दशैंको टीका थाप्न सपरिवार पथरैयास्थित आफन्तको घर पुगेका थिए । आफन्तको जमघटले परिवारमा खुशीयाली छाएको थियो । उनीहरुले चिसापानीदेखी टीकापुर पार्कसम्म कर्णाली नदीमा रयाफ्टिङ गर्ने सल्लाह गरे । २५ जना र्याफ्टिङका लागि तयार भए ।
पाण्डेको परिवार चढेको डुङ्गामा १३ जना र अर्कोमा १२ जना चढे । डुङ्गामा बालबालिका पनि थिए । उनीहरु रमाउँदै अघि बढिरहेका थिए । अपरान्ह अढाई बजेतिर अचानक पाण्डे चढेको डुंगा पल्टियो । सबै नदीमा खसे । कतिलाई पाण्डेले जीवितै उद्दार गरे । उनले ६० वर्षिया आमा बल्चिमा, २ वर्षकी छोरी यशोदा र १२ वर्षका छोरा दिपेशलाई गुमाए । उनका आमा र छोरीको शव केही तल भेटियो भने छोरा बेपत्ता भए ।
टीकापुरका रमेश थापाका छोरा सागर निकै मिहेनती थिए । पढाइमा पनि अब्बल भएका कारण उनले जागिर समेत गर्न थालेका थिए । साझा विकास बैंकमा कार्यरत उनी टीकापुर पार्क घुम्न गएका बेला साथीहरुसँगै कर्णाली नदीमा पौडी खेल्न थाले । उनी पौडी खेल्ने क्रममा अचानक बेपत्ता भए । धेरै खोजी गर्दा पनि नभेटिए पछि आफन्तले मृत्यु भैसकेको ठहर गर्दै काजकिरिया गरे ।
रोचक बडुवाल टीकापुरस्थित गणेशबाबा स्कुलका कक्षा १० का प्रथम विद्यार्थी थिए ।  २०७२ जेठ महिनातिर विद्यालय बिहान लागेको थियो । उनी विद्यालयबाट घर फर्किए । साथीहरुसँगै नदीमा नुहाउन हिँडे । उनी पनि पौडी खेल्ने क्रममै अचानक बेपत्ता भए । चार दिनपछि करिव १२ किलोमिटर तल उनको शव भेटियो ।
चिसापानीका पदमबहादुर रासकोटी बाढी मापन केन्द्रका गेज रिडर थिए । कर्णाली नदीको सतह मापन गर्नु उनको दैनिकी थियो । २०४७ भदौ ३ गते उनी एकाबिहानै नदीतर्फ लागे । नदीको सतह मापन गर्ने ठाउँसम्म पुग्न निकै भिरालो थियो । उनी चिप्लिएर नदीमा खसे । बाढीको जोखिमबाट तटीय क्षेत्रका बासिन्दाको ज्यान जोगाउन सक्रिय रासकोटीले आफूलाई जोगाउन सकेनन् । उनी सधैंका लागि कर्णाली नदीमा बिलिन भए ।
२०६३ तिर नयाँ वर्षको अवसर पारेर नेपालगञ्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययनत विद्यार्थीहरू पिकनिक मनाउन चिसापानी पुगे । उनीहरु मध्ये केही नदीमा पौडिन थाले । ती मध्ये दुई जना पौडिने क्रममै नदीमा डुबेर बेपत्ता भए । बेपत्ता हुनेमा कास्कीका पूर्ण विक र भारतीय नागरिक अशोक अग्रवाल थिए । त्यसको केही वर्षपछि नेपालगञ्जकै स्टाफ नर्सको समूह नदीमा र्याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टियो । सो घटनामा समेत केही स्टाफ नर्स पढ्दै गरेका विद्यार्थीहरू बेपत्ता भएका थिए ।
यी त केवल जानकारीमा आएका घटना मात्रै हुन । यस्ता कैयौं घटना बारम्बार दोहोरिरहेका छन । चिसापानी पुलको आसपासमा पौडी खेल्न प्रतिबन्ध लगाइएको छ । घुम्न जानेहरू लुकिछिपी पौडिने गरेको पाइन्छ ।
धेरै व्यक्ति पौडी खेल्ने, नदी तर्ने, ¥याफ्टिङ गर्ने, डुंगा दुर्घटना लगायतमा परेका छन् । कर्णाली नदीमा डुबेर बेपत्ता अधिकांशको शवसमेत भेटिँदैन ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App