६ वैशाख २०८१ बिहीबार
समाज

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्...

पञ्चायत विरुद्धको आन्दोलनमा लागेका नेतालाई सेल्टर दिएकी झिमामाया गुरुङ । तस्बिर : दमन राई

खोटाङ- भूमीगत होस् या खुला राजनीतिमा स्थानीयको प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनै पनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र आन्दोलनलगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले ‘जोखिम’ मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालीन भूमिगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येका एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ ।
प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुँदैनथे । राजनीतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमिगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिइन् । लेखपढ नभए पनि सामाजिक रूपान्तरणका सवालमा मरिमेट्ने गुरुङलाई वामपन्थी नेताले ‘सेल्टरदाता’का रूपमा मान्छन् ।
विशेषगरी शासक र शासनका विरुद्धमा असहमति जनाउँदै भूमिगत बनेका जिल्लाका राजकुमार अथक, रमेश राई, बाबुराम राई, बबी चामलिङलगायतका वामपन्थी नेतालाई उनले मतानमा मकैको खोस्टामा लुकाएर सहयोग गरेकी थिइन् । तत्कालीन प्रहरी र प्रशासनको नजरबाट सुरक्षित, एकान्त र हत्तपत्ता कोही नपुग्ने भएकाले पनि भूमिगत नेताले २०३९ सालताका गुरुङको घरलाई सेल्टर बनाएका थिए । उनीहरूमध्ये बबी चामलिङ हाल एमालेका जिल्ला अध्यक्ष एवं समन्वय समितिका प्रमुख छन् । रमेश राई संघीय समाजवादी फोरमका पोलिटव्यूरो सदस्य छन् । ‘लुकेर बसेका नेतामध्ये अहिले कोही एमालेका, कोही माओवादीका ठूला नेता भए’, गुरुङ भन्छिन्, ‘भूमिगत नेतालाई आश्रय दिएको चाल पाएका भए सर्वस्वहरण खेप्नु पर्ने रहेछ ।’
१९७८ सालमा जन्मिएकी झिमामाया क्रान्तिकारी स्वभावकी थिइन् । व्यवस्थाका विरुद्धमा लडेका नेतालाई उनले खाना र आवासको व्यवस्था मिलाएर हौसला प्रदान गरे । सुरक्षित आश्रयका कारण भूमिगत नेताले उनको घरमा दस्तावेज, माओत्सेतुङ, काल माक्र्सलगायतका कम्युनिष्ट नेता सम्बन्धी पुस्तक लुकाएर राख्ने गरेका थिए । प्रहरी आउने थाहा भए आउनु अगावै पुस्तक जलाउन भनिएको उनका छोरा मोहन गुरुङ बताउँछन् ।
‘म केटाकेटी अवस्थामा थिएँ, प्रहरीले थाहा पाउनु अगावै पुस्तक र दस्तावेज जलाइदिनु भन्थे,’ हाल नयाँशक्तिका नेता मोहनले भने, ‘त्यो पुस्तक प्रहरीले भेटेको भए हाम्रो सर्वस्वहरण हुन्थ्यो छ, आमा–छोरालाई जेलमा हालिन्थ्यो या गोली नै हानिन्थ्यो होला ।’ सुरक्षित सेल्टरकै कारण २०४२ सालमा अखिल एकता पाँचौंको पाँचौं जिल्ला सम्मेलन हौंचुरपोखरीमा गरिएको थियो । इन्द्रेणीपोखरीमा गर्ने भनिएको सम्मेलन प्रशासनले चाल पाएपछि रातारात झुक्याएर हौंचुरपोखरीमा सारिएको गुरुङ बताउँछन् ।
समाजको क्रान्तिकारी रूपान्तरणका लागि महिला मुक्ति आन्दोलनमा उठेका सबैखाले अभियानमा आफुलाई समाहित गर्दै निरंकुसता विरोधी क्रान्तीकारी योद्धालाई आश्रयस्थल उपलब्ध गराएर महिला आन्दोलनमार्फत देश र जनताको पक्षमा पु¥याएको योगदानको मूल्यांकन गरी झिमामायालाई एमाले निकट अखिल नेपाल महिला संघले ६५ औं स्थापना दिवसको अवसर पारेर गत वर्ष अभिनन्दन गरेको थियो । पञ्चायती व्यवस्थाका विरुद्ध भूमिगत नेतालाई हौसला स्वरूप संरक्षण दिएकी उनी बुढेसकालमा पनि सक्रिया छिन् । अनुहार चाउरिए र केस पाके पनि उनको श्रवण शक्ति अझै पनि बलियो छ । बोली पनि उत्तिकै तगडा छ ।
पञ्चायतकालीन नेता वीरेन्द्रकेशरी पोखरेल, पर्शुराम राई, दिपबहादुर राई, रत्न राई, केदार राईदेखि हालका एमाले नेता पर्शुराम कार्की, बिशाल भट्टराईलगायतसँग उनी परिचित छिन् । उनका छोरा मोहन पनि वामपन्थी राजनीतित हुँदै हाल नयाँ शक्तिको राजनीतिमा क्रियाशिल छन् । मुलुकमा बेला–बेलामा शासन र शासक परिवर्तन भए पनि जनताको प्रवृत्तिमा कुनै परिवर्तन नआएको झिमामायाको दुखेसो छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App