खोटाङ–खोटाङमा मनोज हत्यकाण्ड भएको २५ वर्ष भएको छ। २०४८ साल साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो। दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थी जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो। बिरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी बताउँछन्।
उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यवहार गरेका थिए। सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारी जागीरबाट हटाइएका थिए। सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाइदै आइएको छ।
खोटाङमा मनोज स्मृति प्रतिष्ठान र नेपाल निजामती कर्मचारी संगठनले हप्तादिन अघिदेखि मनोजमार्ग सरसफाई, चेस, ब्याडमिन्टन, निबन्ध, हाजिरी जवाफ प्रतियोगीता, अस्पतालका बिरामीलाई फलफुल वितरण, मौन जुलुस प्रदर्शन लगायतका कार्यक्रम गर्दै मनोज–झपेन्द्र स्मृति दिवस शनिबार समापन गरिँदैछ। कार्यक्रममा अवसरमा मनोज प्रतिभा पुरस्कारबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याउने दिक्तेल नगरपालिका–७ का इमानसिं राईलाई प्रदान गर्ने कार्यक्रम छ।
सदरमुकाम दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोराका रुपमा जोशीको २०३० साल असोज–२३ गते जन्म भएको थियो। वास्तविक नाम सर्मेन्द्र भएपनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए। यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमा परिचित थिए।
मनोजको हत्या भए लगत्तै एक छानविन समिति गठन गरिएपनि अहिलेसम्म दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुन नसकेको मनोज परिवारको गुनासो छ। यसबाहेक जोशीलाई शहीद घोषणा गर्नुपर्ने कर्मचारी संगठन तथा परिवारको माग पनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन। जिल्लाका राजनैतिक असहमतिका कारण जोशीलाई शहीदका रुपमा स्थापित गर्न नसकिएको नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष ध्रुब कार्कीले बताए ।
प्रकाशित: १५ श्रावण २०७३ ०७:३४ शनिबार