coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

१४ लाख मतदाता थपिए

काठमाडौं- स्थानीय तह निर्वाचनको तुलनामा करिब १४ लाख मतदाता थपिएका छन् । मंसिर १० र २१ मा हुने केन्द्र र प्रदेशको चुनावका लागि १ करोड ५४ लाख २७ हजार ७३१ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४८२ हजार मतदाता थिए ।

छुटेकाहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएपछि १३ लाख ७३ हजार २४९ मतदाता संख्या बढेको हो । निर्वाचन आयोगले मंसिरको चुनावलाई लक्षित गरी नाम छुटेकालाई एक महिनासम्म पुनः नामावली दर्ता गरेको थियो ।

केन्द्र र प्रदेशसभा निर्वाचनका लागि आयोगले सार्वजनिक गरेको मतदाता तथ्यांकअनुसार सबैभन्दा धेरै मतदाता प्रदेश ३ मा छन् । उपत्यकासहितका १३ जिल्ला रहेको ३ नम्बर प्रदेशमा ३० लाख ७४ हजार ४१२ मतदाता छन् । जसमा १५ लाख ४८ हजार महिला र १५ लाख २५ हजार पुरुष छन् । प्रदेश ३ मा सबैभन्दा बढी ३३ वटा केन्द्र निर्वाचन क्षेत्र र ६६ वटा प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ ।

त्यसैगरी प्रदेश १ मा स्थानीय चुनावमा जस्तै दोस्रो नम्बरमा मतदाता संख्या देखिएको छ । पहिलेभन्दा करिब ३ लाख मतदाता थपिएर २९ लाख ९३ हजार ६६९ जना मतदाता छन् । प्रदेश १ मा २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ५६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

मतदाता तथ्यांकका आधारमा प्रदेश २ मा तेस्रो धेरै मतदाता कायम छन् । स्थानीय चुनावको तुलनामा १ लाख मतदाता थपिएर २७ लाख ६७ हजार ३६९ मतदाता रहेका छन् । प्रदेश २ मा ३२ निर्वाचन क्षेत्र र ६४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र तोकिएका छन् ।

त्यसैगरी प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ मतदाता छन् । त्यस प्रदेशमा २६ वटा प्रतिनिधिसभा र ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र तोकिएका छन् ।

प्रदेश ४ मा स्थानीय तह निर्वाचनको तुलनामा करिब ३० हजार मतदाता कम देखिएका छन् । हाल १५ लाख ६८ हजार ८२९ मतदाता न् । चार नम्बर प्रदेशमा १८ वटा प्रतिनिधिसभा र ३६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

त्यसैगरी प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता छन् । त्यस प्रदेशमा १६ वटा केन्द्र र ३२ वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

सबैभन्दा कम मतदाता र निर्वाचन क्षेत्र रहेको प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ मतदाता छन् । त्यस प्रदेशमा प्रतिनिधिसभाका लागि १२ वटा र प्रदेशसभाका लागि २४ वटा निर्वाचन क्षेत्र तय गरिएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले देशभर १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण गरेको थियो । सोही अनुसार मंसिरमा चुनाव हुन लागेको हो ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App