७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

काठमाडौं- वामपन्थी दलहरूको नयाँ गठबन्धन प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सम्पन्न नहुन्जेल शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परिवर्तनको खेलमा सहभागी नहुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आगामी चुनावका माध्यमबाट नयाँ संसद् नचुनिउन्जेलसम्म देउवा नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बताएका हुन् ।
‘यो गठबन्धन अहिलेको सरकारलाई हटाएर नयाँ सरकार गठन गर्नका लागि निर्माण गरिएको हो । अहिले हाम्रो ध्यान आसन्न संसदीय चुनावमा बहुमत हासिल गरेर सरकार गठन गर्ने हो,’ एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने ।
नयाँ गठबन्धनले मात्रै सरकार गठन गर्ने बहुमत पुग्न सक्ने सम्भावना भए पनि नयाँ सरकार गठनका लागि पर्याप्त समय छैन ।
संवैधानिक व्यवस्थाका कारण कात्तिक ४ गते संसद् विघटन हुँदैछ । निर्वाचन आयोगले कात्तिक ५ गतेका लागि प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ताको मिति तोकेको छ ।
एमालेले वर्तमान सरकार परिवर्तनका लागि कुनै कदम चालिए चुनाव प्रभावित हुने जनाएको छ ।
‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकार परिवर्तन हुन सक्दैन न त यो समयमा प्रधानमन्त्रीले नै कुनै मन्त्रीलाई परिवर्तन गर्न सक्छन्,’ नेम्बाङले भने ।
माओवादी केन्द्र पनि मनोनयनको तीन साताअघि मात्रै नयाँ सरकार गठन नगर्ने पक्षमा देखिएको छ । ‘सरकारको अहिले नेतृत्वसँग कुनै गुनासो नभएका कारण हामी सरकार छाड्दैनौं । चुनावको मनोनयनका दिन नजिकिएको अवस्थामा हामी सरकार परिवर्तनको विपक्षमा छौं,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।
एमालेका एक वरिष्ठ नेताले सरकार परिवर्तनको खेलमा लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव सार्ने बहाना मिल्न सक्ने भएकाले त्यसतर्फ नलाग्न बताए । उनले भने, ‘हामी त्यस्तो हुन दिँदैनौं ।’
अहिलेको सत्ता समीकरणका कारण प्रधानमन्त्री देउवा एकपक्षीय रूपमा कुनै कदम चाल्न सक्ने अवस्थामा छैनन् । माओवादी केन्द्रको सहमतिबिना चालिने कदमको मन्त्रिपरिषद्भित्र अवरोध हुनसक्छ । देउवाले एक पक्षीय रूपमा चाल्ने कदमका लागि राष्ट्रपति, सभामुख वा प्रमुख निर्वाचन आयुक्त बाधक बन्न सक्छन् । देशका प्रमुख पदमा कम्युनिस्ट गठबन्धनको नेतृत्व छ । सरकारको महŒवपूर्ण निकाय गृह मन्त्रालय मात्रै नभएर राष्ट्रपति एमालेबाट तथा उपराष्ट्रपति, सभामुख र प्रमुख निर्वाचन आयुक्त माओवादी केन्द्रबाट रहेको छ । ‘निर्वाचनका समयमा महत्वपूर्ण भूमिका हुने गृह मन्त्रालयको नेतृत्व हाम्रै गठबन्धनको छ । त्यसैले हामीले यो सरकारविरुद्ध किन जानुप¥यो,’ एमालेका एक नेताले भने ।

प्रकाशित: १९ आश्विन २०७४ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App