८ वैशाख २०८१ शनिबार
विचार

माओवादीलार्इ एमाले छाता

संविधानसभाको पहिलो निर्वाचन भर्खरै सम्पन्न भएको थियो । एमालेभन्दा ठूलो पार्टीका रूपमा स्थापित भएको त्यो समयमा माओवादी वृत्तमा विशेष उत्साह छाएको थियो । त्यसबेला माओवादीमा पुष्पकमल दाहालपछिको स्थानमा डा.बाबुराम भट्टराई नै थिए । अन्तर्वार्ताका लागि अर्थमन्त्रीको निवासमा भएको भेटघाटको सुरुवातमै यस पंक्तिकारसँग उनले भनेका थिए– यो निर्वाचनले अब एमाले विलयतिर लाग्यो भन्ने प्रस्ट भएको छ, एउटै देशमा एउटै वर्गीय आधार भएका, दुई प्रभावशाली कम्युनिस्ट पार्टी लामो समय अस्तित्वमा रहिरहन सक्दैनन्। 

आज सम्झँदा लाग्छ, माओवादी नेताहरूमा बैसठ्ठी–त्रिसठ्ठीको आन्दोलनको सफलता लगत्तैदेखि नै सकेको खण्डमा एमालेलाई निल्ने सोच थियो । त्यस विपरित आज पुष्पकमल दाहालदेखि माओवादीबाट छुट्टिइसकेका डा.भट्टराईसम्म एमालेमा मिल्ने तयारीमा छन् । राजनीतिमा यस्तो घटनाक्रमलाई जनताको चाहनाको कदर, समयको माग वा अवसरवाद जे पनि भन्न सकिन्छ । तर यो घटनाक्रमले सिर्जना गर्ने सम्भावना र चुनौतीबारे व्यापक लेखाजोखा हुन थालिसकेको छ । 
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र सत्ता गठबन्धनको मेरुदण्ड नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेलदेखि एकीकरणसम्मको सहमति कायम भएको प्रसंगले नेपाली राजनीतिमा तरंग सिर्जना गर्नु स्वाभाविकै हो । तर स्थानीय तहको निर्वाचनमा कांग्रेससँग कार्यगत एकता कायम गर्ने माओवादीले यतिखेर किन आफ्नो बाटो पूरै परिवर्तन गर्नुपर्ने निष्कर्ष निकाल्यो भन्ने विषयमा धेरै जानकारी सार्वजनिक हुन बाँकी नै छ । एमालेले कांग्रेसलाई रोक्न वा माओवादीलाई कांग्रेसको औजार बन्नबाट जोगाउन यस्तो सहमति गर्न तयार भएको बुझ्न सकिन्छ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने मदन भण्डारीको उक्ति एमालेमा निकै दोहो¥याइन्छ । त्यही दिशामा विकसित घटनाक्रम सम्बन्धमा अत्यन्त उत्साहजनक व्याख्यानहरू सार्वजनिक हुनेछन् । तर यो घटनाक्रमको उत्कर्षका सम्बन्धमा अहिल्यै धेरै टिप्पणी गर्नु हतारो हुन सक्छ । 


पुष्पकमल दाहालमा तीन सय साठी डिग्रीको परिवर्तन किन आयो भन्ने शंका एकातिर छ । उनी हारेका जुवाडे हुन् जे पनि दाउ लगाउन सक्छन् भन्ने अनुमान अर्कोतिर छ । चुनावी तालमेलदेखि पार्टी एकीकरणसम्मको खाका उनको संकटमोचनको उपाय हो भन्ने तर्क पनि गर्न सकिएला।  

छयालीस सालको राजनीतिक परिवर्तनलगत्तै हरेक निर्वाचनताका एक वाम, एक ठामको नारा लाग्ने गरेको थियो । जनयुद्धका नाममा माओवादीले एमालेलगायतका वहुलवादी राजनीतिक शक्तिहरूप्रति गरेको शत्रुतापूर्ण व्यवहारका कारण बैसठ्ठी–त्रिसठ्ठीपछि माओवादी एमालेबीचको चुनावी एकता सम्भव हुने कुरै थिएन । तर समयक्रममा एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा माओवादीलाई मूल मेरुदण्ड मानेर सरकार गठन गरिएपछि दुई पार्टीबीच लामो दूरीको यात्रा सुरु भएको निकै प्रचार गरियो । लामो दूरीको यात्रा असमयमै टुंगियो र कांग्रेस–माओवादी केन्द्रको सत्ता साभेदारी सुरु भयो । त्यसपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन अवधिभरि प्रचार गरियो, दुई पार्टीबीच लामो दूरीको कार्यगत एकताको खाका तयार भइसकेको छ । त्यस निर्वाचनको अवधिभर एमाले र माओवादीबीच कुनै सौहाद्र्रता आदान प्रदान भएन । तिक्ततामात्र साटासाट भयो । भरतपुर उपमहानगरपालिकाको निर्वाचन प्रकरणले दुई पार्टीबीचको तिक्ततालाई उत्कर्षमा पुर्‍यायो । 

भित्रभित्र खिचडी जसरी पाकिरहेको होस्, सतहमा देखिएको त्यही तिक्तताको गर्भबाट सहयात्राको नयाँ प्रस्तावनाको उदय हुनु केही आश्चर्यजनक अवश्य देखिन्छ । भन्न त भनिएला, मूलतः राजनीतिक दर्शन उही, लक्ष्य उही, वर्गीय आधार उही, त्यसैले दुई पार्टीबीच एकीकरण हुन असहज छैन । तर कुरा त्यतिमै टुंगिदैन । अझ व्यापक एकीकृत पार्टी बन्ने एमालेको महत्वाकांक्षा यथास्थानमा छँदैछ, पुष्पकमल दाहाल र उनको पार्टी आखिर कुन मनसायले यति धेरै वाम एकता पक्षधर बन्न पुग्यो त भन्ने प्रश्नको उत्तर सहज छैन । त्यसैले आउँदा दिनमा चुनावी तालमेलदेखि पार्टीगत एकतासम्म कोरिएको बहुप्रचारित मार्गचित्र कति सैद्धान्तिक र कति राजनीतिक हो भन्ने विषयमा छलफल गर्ने ठाउँ रहनेछ । 
आउँदा दिनमा शान्तिपूर्ण जनआन्दोलनबाट परिवर्तन हात पारिएको विश्वास गर्ने एमाले र हिंसात्मक गतिविधिको माओवादी जगबीचको समानताको पुष्टि गरिनेछ । दुवै प्रकारका आन्दोलनले नेपाली समाजका पत्रपत्रमा रहेका समस्या उजागर गरेको समीक्षा गरिनेछ । प्रचण्डपथको म्याद समाप्त भइसकेकै छ । बहुदलीयतालाई दुवै पार्टीले स्वीकार गरेकै छन् भन्ने तर्क अघि सारिनेछ । अन्ततः समाजवादमा पुग्ने दुवैको एउटै लक्ष्य छ भन्ने आधार पनि प्रस्तुत गरिनेछ । तर यी सबै तर्क–वितर्क सँगसँगै केही न केही शंकाको बादल भने रहिरहने छ। 

नेपालको कम्युनिस्ट आन्दोलनमा एकताको अभूतपूर्व घटनाक्रम छयालीस सालको जनआन्दोलनलगत्तै विकसित भएको थियो । वाम–प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्वहरू मनमोहन अधिकारी र सहाना प्रधानको नेकपा (माक्र्सवादी) र तत्कालीन नेकपा (माले) बीचको एकीकरण कैयन् अर्थमा ऐतिहासिक थियो । तर त्यो ऐतिहासिक एकीकरणको जन्म पञ्चायतको अन्तिम कालमा गठित वाममोर्चाको गर्भबाट भएको थियो । दुई अलग पार्टीबीचको एकीकरण तालमेल, कार्यगत एकता वा सहकार्यको अभ्यासबाट मात्र परिपक्व हुन सक्छ । त्यसैले एमाले र माओवादीबीच यतिबेला कायम हुन गएको सहमति आउँदा दुई निर्वाचनमा दुई पार्टीबीच हुने सहकार्यको जगमा मात्र परिपक्व हुन सक्नेछ। 

कांग्रेस र माओवादीबीच विद्यमान सहकार्य तोडेर नयाँ गठबन्धन तय गर्न त्यसभन्दा उच्च तहको एकताको प्रचार गर्नैपर्ने थियो । त्यसैले ६० र ४० को अनुपातमा उम्मेदवारी दिएर तालमेल कायम गर्नेदेखि पार्टी एकीकरण गर्नेसम्मको खाका सतहमा ल्याइएको हुन सक्छ । तर एकीकरणसम्मको यात्रा साँच्चै सुरु गरिएको हो भने मूल नेताका रूपमा सबैभन्दा ठूलो चुनौती एमाले अध्यक्ष केपी ओलीसमक्ष छ । आज पनि पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनको विषयमा उनले विशेष ध्यान पु¥याइरहनु परेकै छ । आन्तरिक कलहको कहालीलाग्दो विगत उनले भोगिसकेकै छन् । भारतसँग जलस्रोतको साझेदारीमा उत्पन्न विवादका कारण विगतमा पार्टी नै दुई चिरामा विभक्त भएको संस्थागत अनुभव एमालेसँग छ । त्यतिखेर माक्र्सवाद र लेनिनवादमात्र होइन, जनताको बहुदलीय जनवाद र मदन भण्डारीको मार्गदर्शनका सम्बन्धमा समेत पूर्ण मतैक्य कायम हुँदाहुँदै पार्टी दुई टुक्रा भएको थियो। 

त्यसैले वामशक्ति एक हुनुपर्छ, ध्रुवीकरण तेज हुनैपर्छ भन्ने आग्रह जति सुन्दर छ, माओवादीलाई यति ठूलो गोलचक्कर पार गरेर यहाँ आइपुग्न किन यति समय लाग्यो भन्ने प्रश्नको उत्तर त्यत्तिकै दुरुह छ । तर एमालेले कठिन प्रश्नको उत्तर खोज्दै आफ्नो बाटो पहिल्याउने प्रयास गर्नु स्वाभाविकै हो । अहिलेका लागि माओवादीलाई कांग्रेसको छातामुनिबाट आफूतर्फ तान्न सक्नुमात्र पनि एमालेको सफलता हुनेछ । मूल प्रतिद्वन्द्वीको टेक्ने लौरो खोस्नु राजनीतिक कौशल नै ठहरिनेछ। 

पुष्पकमल दाहालमा तीन सय साठी डिग्रीको परिवर्तन किन आयो भन्ने शंका एकातिर छ । उनी हारेका जुवाडे हुन् जे पनि दाउ लगाउन सक्छन् भन्ने अनुमान अर्कोतिर छ । चुनावी तालमेलदेखि पार्टी एकीकरणसम्मको खाका उनको संकटमोचनको उपाय हो भन्ने तर्क पनि गर्न सकिएला । एकीकरण भएको खण्डमा एकीकृत पार्टीभित्रको सांगठनिक संरचना र समीकरणका विषयमा समेत एमाले र माओवादीका अहिलेका खेलाडीहरूले थरीथरीका सपना देखेका छन भन्न पनि सकिएला । यो पहलबाट साँचो अर्थमा वाम ध्रुवीकरणको मार्ग प्रशस्त हुन पनि सक्ला, निर्वाचनको सफलतापछि ऐतिहासिक एकताको घोषणा नै हुन सक्ला । तर यी सबै सम्भावित परिणाम दुई निर्वाचनमा ती दुई पार्टीबीच हुन सक्ने सहकार्यमै निर्भर हुनेछन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न भयो भने यी दुई पार्टीले आपसी विश्वासको साझा द्वारबाट प्रवेश गरेर लामो दूरीको यात्रा सुरु गरेका हुन् कि होइनन् भन्ने ठहर गर्न सकिनेछ । त्यसो भयो भने आउँदो तीन महिनाभित्रै यो कुरा प्रस्ट हुनेछ ।  

प्रकाशित: १८ आश्विन २०७४ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App