६ वैशाख २०८१ बिहीबार
विचार

परिवर्तन भइरहेको छ

मुलुकमा परिवर्तन भइरहेको छ । पञ्चायत निरंकुश थियो, त्यसलाई ढाल्न विपरीतमुखी कांग्रेस र वामपन्थी दलहरूमा एकता भयो । त्यो एकतामाथि नेताहरूलाई विश्वास भएन, न त जनतामाथि नै पूर्ण विश्वास । भारतलाई गुहारे । भारतीय नेता चन्द्रशेखर यहाँ आएर क्रान्तिकारी भाषण नै ठोक्नुप¥यो । त्यतिले पनि पुगेन । उनले बोलेको भाषणको क्यासेट बनाएर गाउँगाउँसम्म पु¥याइयो । पञ्चायतको निरंकुशतादेखि जनताले पनि मुक्ति चाहेका थिए, साथ दिए । परिवर्तन भयो । नेताहरूले राजधानीको टुँडीखेलमा मात्र भुकेनन् । जिल्ला जिल्लामा पुगेर नेपालमा अब आर्थिक क्रान्ति भएर विकासको खोलो नै बग्ने घोषणा गरे । जनताले पत्याए । नेताहरू मिलेर संविधान बनाए, जनताले स्वीकारे। 

पहिलो चुनावको घोषणा भयो । नेपालको विकासका लागि कांग्रेस–वाम मिलेर चुनाव लड्नुपर्ने । तर चुनाव लागेपछि कुकुर बिरालाको सम्बन्ध गाँसे । जनतालाई दलको नाममा विभाजित गरे । कांग्रेस र वामबीच पानी बाराबार भयो । विवाह सम्बन्धमा पनि छोरीबेटी एकअर्कालाई दिन बन्देज लगाए । जनता–जनताबीच सम्बन्धमा कटुता ल्याए । हिजो निरंकुश भनिएको पञ्चायती व्यवस्थामा एक अर्काको पूरक भएर, सुखदुःखका साथी भएर बसेका छरछिमेक, गाउँलेबीच कटुता र विभाजनको रेखा कोरियो । यो रेखा पूर्णरूपमा मेटिन सकेन । विकासको खोलो घरघर बगाउने नेताहरूको भनाइ उल्टो भयो । विकासको खोलो जनताको घर दैलोमा नभएर नेताहरूको घर आँगनमा बग्न थाल्यो । हिजो मागीखाने, बिखर्ची नेताहरू रातारात करोडपति–अर्बपति बन्न थाले । नेपालका नेताहरूले नपुगेर अमेरिका, युरोप र भारतबाटसमेत नेताहरू आयात गरेर तिनीहरूलाई नवधनाढ्य बन्ने अवसर दिइयो । नेपालमा साँच्चिकै परिवर्तन ल्याउँछन् कि भन्ने नेता मदन भण्डारीको हत्या गराइयो । 

मुलुकलाई जात, क्षेत्र र धर्ममा विभाजन गरियो । पुष्पकमल दाहाल जहाँ जान्छन्, उसैसँग लभ पर्छ, तर त्यो लभ चिरस्थायी हुँदैन । उनका वास्तविक लभर विदेशी शक्तिकेन्द्र नै हुन्।

जनताले नवपरिवर्तनलाई पचाउन सकिरहेका थिएनन् । मदन भण्डारीको हत्या हुने दिनको केही दिनपछि एमालेमा आउने तयारीमा रहेका पुष्पकमल दाहाल रातारात अदृश्य शक्तिबाट सञ्चालित भएर माओवादी दल गठन गरे । ०५२ सालमा जनवादी गणतन्त्र स्थापनाको सपना बाँडेर जनयुद्धको सुरुवात गरे । जसरी अदृश्य शक्तिबाट पुष्पकमल दाहाल र बाबुराम भट्टराई सञ्चालित भए त्यसरी नै उनीहरूको परिवर्तनकारी नाराले प्रभावित भएर अदृश्य शक्तिबाट सञ्चालित भएर शोषित, पीडित जनता पनि जनयुद्धमा आफ्नो प्राणको आहूति दिन हाम फाले, आफ्ना र आफ्ना सन्ततिहरूका दिन फेरिने आशमा।

पुष्पकमल र बाबुरामहरू सपरिवार भारतमा शाही जीवन बिताएर जनताको छोराछोरीहरूलाई बलि चढाउँदै पश्चिमा शक्ति र भारतको रोबोट बनेर आफ्नो सात पुस्ता सपार्ने काम गरे । धर्म अफिम हो भन्दै सनातन धर्ममाथि आक्रमण गर्न लगाए । सनातन धर्मावलम्बीहरूका मठमन्दिर तोडफोड, धर्मगुरुको हत्या, किरियापुत्रीमाथि आक्रमण आदि सनातन धर्म मास्न जे जे उद्योग गर्नु थियो त्यो गर्न लगाए । तर अरू धर्म उनीहरूका लागि अफिम भएन । यस निहुँमा ख्रिस्टान धर्म प्रचारमा लागे र नेपालका गरीब  आदिवासीहरूलाई आर्थिक प्रलोभनमा पारेर ख्रिस्टान बनाउँदै लगे जो अद्यापि जारी छ।

राजा ज्ञानेन्द्रबाट आफ्नो भाग खोसिएर रिसाएका गिरिजाप्रसाद, माधव नेपाल आदिलाई त्यही बाह्य शक्तिले पुष्पकमल र बाबुरामसँग लगनगाँठो जोडिदिए र प्रणव मुखर्जीले बनाएको १२ बुँदे समझदारीको मस्यौदालाई बाह्य शक्तिको कठपुतली बनेका संसद्वादी सात दलका प्रमुखहरूले ल्याप्चे ठोके । निरंकुश राजतन्त्रको नारा दिएर जनआन्दोलन भयो । जनताले निरंकुश राजतन्त्रको अन्त्य चाहेका थिए, न कि संघीयता, धर्म निरपेक्षता र गणतन्त्र । संसद्मा गिरिजाप्रसाद आफैँले कहिले बेबी किङ त कहिले राजाको जेठो सन्तान छोरी भए पनि राजा बनाउने गरी संविधान संशोधन गर्ने कुरा गरे । जनताको आवाज दबाइयो । जनताले यसैलाई परिवर्तन ठाने ।

गणतन्त्र आयो, जनताले नसोचेको परिवर्तन आयो । सत्र हजारको रगत फोहोर खोलाको पानीझैँ बगेर गयो । भ्रष्टाचार संस्थागत भयो । पञ्चायतकालमा कमसेकम अदालत त निष्पक्ष र स्वतन्त्र थियो । जो चोर उसकै ठूलो स्वर हुन थाल्यो । अदालत दलको भ्रातृ संगठन र भ्रष्टाचारको केन्द्रविन्दु बन्यो । न्यायाधीशहरूको सम्पत्ति छानबीन गरे कति न्यायाधीश इमानदार रहेछन्, स्वतः सिद्ध हुन्छ । सबै सुशीला कार्की हुँदैनन् । राज्यको चारै अंग भ्रष्टाचारको मुहान भएको छ ।

मुलुकलाई जात, क्षेत्र र धर्ममा विभाजन गरियो । पुष्पकमल दाहाल जहाँ जान्छन्, उसैसँग लभ पर्छ, तर त्यो लभ चिरस्थायी हुँदैन । उनका वास्तविक लभर विदेशी शक्तिकेन्द्र नै हुन् ।

नेपाली कांग्रेस त पूर्णरूपमा भारतको गुलाम भइसकेको छ । उसलाई नेपालको हितभन्दा भारतको हित सर्वोपरि छ । कोशी, गण्डक, महाकाली हुँदै फेरि कोशी उच्च बाँध भारतको हितमा निर्माण गर्ने सम्झौता गरेर आएका छन्, देउवा । भ्रष्टाचारको जननी नै हो नेपाली कांग्रेस, राष्ट्रघातको अगुवा हो । अब त ऊ माओवादीको वैशाखी नटेके र माओवादी उसको वैशाखी नटेके चुनाव जित्ने सम्भावना नै छैन । भारतले पारिदिएको यो लभ कति दिनसम्म चल्ला ? कि त दुवै दलको एकीकरण गरेर मांग्रेस पार्टी गठन गर्नुपर्छ, जसको अध्यक्ष पुष्पकमल दाहाल र सभापति शेरबहादुर देउवा होस् । अलिखितरूपमा अहिलेसम्म त्यही छ । 

भारतले गरेको नाकाबन्दीमा भारतसँग नझुकेको र चीनसँग केही दूरगामी महत्वपूर्ण सहमति र सम्झौता गरेको हुनाले एमाले राष्ट्रवादी देखिएको हो । वस्तुतः ऊ मौसमी राष्ट्रवादी पार्टी हो । एमालेमा माथिदेखि तलसम्मका नेता र कर्मचारीहरू प्रायः भ्रष्ट छन् । आफ्नो भ्रष्ट नेता, कार्यकर्ता र कर्मचारीहरूको बचाउ गर्न एमालेले जानेको छ । एमालेका नेताहरूको पनि हिजो भूमिगत हुँदाको हैसियत र आजको हैसियतमा आकाश–जमिनको अन्तर छ । आयल निगमको भ्रष्टाचारको मुद्दामा ऊ रमिते छ । किन ?  

एमाले यदि राष्ट्रवादी हो भने उसले विदेशी भूमिमा विदेशीले बनाएको १२ बुँदे सहमतिलाई खारेज गर्न सक्नुपर्छ । सिआइए र पश्चिमी शक्तिकेन्द्रबाट सञ्चालित उसका एनजिओहरू तत्काल बन्द गर्नुपर्छ । चालीस लाख भारतीयहरूले पाएको नागरिकता खारेज गर्नुपर्छ । अतिक्रमित नेपाली भूमि फिर्ता लिन सक्नुपर्छ । यसका लागि आवश्यक परे अन्तर्राष्ट्रिय अदालतमा जान सक्नुपर्छ । सके सुगौली सन्धिबाट गुमेको हाम्रो भूभाग फिर्ता लिन सक्नुपर्छ । के एमालेले यो गर्न सक्छ ?

कथित मधेसवादी दल त भारतको रोबोट हुन् । उनीहरूको कुनै स्वतन्त्र अस्तित्व छैन । साना दलहरू च्याँखे थापेर बस्ने कुरुवाहरू हुन् । उनीहरूका लागि मुलुकभन्दा आफ्नो स्वार्थ ठूलो छ ।

विश्वकै गरिबतम मुलुकमा पर्छ, नेपाल । त्यसैले यहाँ देशी विदेशीहरूको राजनीतिको मण्डी जहिले पनि उँचाइमा हुन्छ । जुन गरिब अभागीहरूको तावामाथि खुंखार दुष्ट राजनीतिकहरूको रोटी सेकिन्छ, जसका बाध्यताहरूले निहुरिएको कमजोर काँधहरूमाथि  बन्दुक राखेर दाग्दै चमत्कार गर्ने झुठो आश्वासन दिएर स्वार्थ सिद्ध गरिन्छ, त्यो मुलुकमा परिवर्तन जनताको जीवन स्तरमा नभएर नेताहरूको सात पुस्तामा आउने गर्छ र मुलुकको अस्तित्व बिस्तारै बिस्तारै समाप्तितिर जान्छ ।

प्रकाशित: १८ आश्विन २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App