coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्वाचनपछि रौतहटमा बढ्यो अपराध

रौतहट – स्थानीय तहको निर्वाचनपछि रौतहट जिल्लामा अपराधिक घटनाहरूमा बृद्धि भएको छ । नेपाल सरकारको निर्देशनअनुसार कडा सुरक्षा घेराबीच शान्तिपूर्ण तवरबाट निर्वाचन गराउन सफल भए पनि त्यसपछि जिल्लामा शान्ति सुरक्षा प्रत्याभूति नहुँदा अपराधिक घटनामा बढोत्तरी हुँदै गएकोे छ । जिल्लामा एकपछि अर्को आपराधिक घटना दोहोरिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ। 

निर्वाचन पश्चात् रौतहटमा चारजनाको हत्या भइसकेको छ भने विभिन्न स्थानमा निर्वाचनको विषयलाई लिएर मारपीट जस्ता आपराधिक गतिविधि बढ््दै गएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने स्थानीय प्रहरी प्रशासन निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउन सफल भएकोमा खुशियाली मनाउनमा व्यस्त रहँदा अपराधिक गतिविधि बढेको आरोप स्थानीयको रहेको छ। 

गत असोज १५ गते बृन्दावन नगरपालिका–५ नरकटिया टोलमा हुलास राय यादव र छिमेकी कृष्णनन्दन चौधरीबीच पानीको विषयलाई लिएर बिवाद पछि भएको झडपमा परी यादवकी तीन वर्षीया छोरी अञ्जली यादवको मृत्यु भयो । झडपमा यादवले चौधरीमाथि भाटाले हिर्काउन खोजेकोमा आफ्नै छोरीलाई लाग्दा अञ्जलीको ज्यान गएको थियो ।
यस्तै असोज १३ गते शुक्रबार राति मौलापुर नगरपालिका–५ मा काठ चिर्ने सःमिल (चिरान मिल) सञ्चालन गर्दै आएका चन्द्रपुर नगरपालिका–१० बडेरवाटोल निबासी ४० वर्षीय वीरेन्द्र साहको हत्या भएको थियो । मिल छेउमै खाट राखेर खुला आकाशमुनि झुल लगाएर सुतेका साहको टाउकोमा भाला घोचेर अज्ञात समूहले हत्या गरे । घटना प्रकृति हेर्दा व्यक्तिगत रिसइवीको कारण हत्या भएको तथा काठ लेनदेनको विषयमा साहको हत्या गरिएको प्रहरीको आशंका रहेको छ। 

परोहा नगरपालिका–२ जिगडवा वेलविछवाका नेपाली कांग्रेसका वडा अध्यक्षका पराजित उमेदवार मौलाना सेराजुदिनका छोरा २५ वर्षीय मोहम्मद अब्बु स्वयवको गत असोज ९ गते विहान ३ बजेको समयमा गोली हानी हत्या भयो । अब्बु स्वयवको छातीमा दुई गोली हानेर हत्या गरिदा पनि अपराधी अहिलेसम्म फरार छन् । यसैगरी असोज ३ गते कटहरिया नगरपालिका–३ बलुवाटोलमा निर्वाचनको विषयलाई लिएर बिवाद हुँदा दुई पक्षबीच झडप भएर ४५ वर्षीय रामपुकार यादवको हत्या गरियो। 

निर्वाचनको आडमा चार वटा गम्भीर प्रकृतिका अपराधिक घटना भए पनि प्रहरीले उक्त घटनाका मुख्य दोषीलाई नसमात्नु तथा केही व्यक्तिलाई समातेको दाबी गरे पनि हालसम्म सार्वजनिक नगर्दा सिंगो सुरक्षा सम्यन्त्र माथि नै ठूलो प्रश्न चिह्न खडा हुनु स्वभाविकै रहेको नागरिक समाजका सचिव विजय किशोर झाले बताए।

जिल्लाको गढिमाई नगरपालिकाको गरुडा नगरपालिकाको गरुडा, शिवनगरलगायत बजारमा रहेका पसलमा समेत चोरीको घटनामा बृद्धि हुँदै गएको छ । गरुडा बजारको आयुषमान ट्रेडर्समा लाखौंको चोरी हुँदा व्यापारीहरू आक्रोशित बन्दै गरुडा बजारमा चक्काजामसमेत गरे । गरुडा बजारको सुरक्षामा खटिएको प्रहरी ड्युटीको सय मिटर पूर्वमा चोरहरूले एलइडी टिभी २१ वटा, १५० वटा मोबाइल, साउण्ड बक्सलगायतका माल समान गरी करिब साढे १३ लाख मुल्य बराबरको चोरी गरेपछि पसलमा प्रहरीको कमजोरीले यस्तो ठूलो परिमाणको चोरी भएको भन्दै स्थानीयले गत बिहीबार करिब पाँच घण्टा चक्काजाम गरेपछि प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, एसपी यज्ञ विनोद पोखरेल लगायतका सुरक्षा प्रमुखले ड्युटीमा खटिएका कर्मचारीलाई कडा कारबाही गर्ने र चोरलाई एक हप्ता भित्र पक्राउ गर्ने प्रतिवद्धतापछि व्यापारीहरूले आन्दोलन फिर्ता लिएका थिए। 

यस्तै जिल्लाको हरषाहा, विश्रामपुर, गम्हरीया पर्सा, नरकटिया, गेडहीगुठी लगायतका गाउहरुमा चुनावको विषयलाई लिएर वादविवाद भएर झडपका घटना पश्चात प्रहरी पुग्ने गरेको भए पनि दोषीलाई समात्ने प्रयास नगर्दा अपराधिक गतिविधिमा बृद्धि हुँदै गएको नागरिक समाजका सचिव झाको आरोप छ । शान्तिसुरक्षाका लागि सूचना संकलन गर्न भन्दै प्रहरीका युनिटले सादा पोशाकमा प्रहरी राखे पनि अपराधिक व्यक्ति तथा त्यस्ता घटना नियन्त्रण गर्न असफल रहेको समेत उनले बताए। 

यस विषयमा रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले परोहा नपाको जिगडवा बेलविछवा मा गोली हानेर फरार भएका व्यक्ति बाहेक अन्य घटनाका दोषिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिहेको बताए । अपराध नियन्त्रण गर्न प्रहरी हरदम सक्रिय भएपनि स्थानीय बासिन्दाहरूको सहयोग भएमा मात्रै पूर्ण रुपमा अपराध माथि अंकुश लगाउन सकिन्छ तर स्थानीयहरूबाट खासै सहयोग नपाउँदा केही घटनाहरू भएको स्वीकार गरे।

 

प्रकाशित: १८ आश्विन २०७४ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App