८ वैशाख २०८१ शनिबार
समाज

सडकमा चिह्न नहुँदा ट्राफिक नियन्त्रणमा  कठिनाइ

काठमाडौं  – सडकै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म झोल्लिएका बिजुली र टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडकचोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू ।

यो दृश्य हो राजधानीको त्रिुपरेश्वर चोककाे जहाँ ट्राफिक चिह्नहरू छैनन् ।  भएका सबै मेटिइसकेका छन् । सडकमा ट्राफिक लाइट नबलेको वर्षौं भइसक्यो । ट्राफिक चिह्न नभएपछि चिह्नको सबै काम ट्राफिक प्रहरीले गर्नुपरेको सडकमा खटिरहेका ट्राफिक प्रहरी बताए । ‘कुनै ट्राफिक चिह्न नभएपछि चिह्नले गर्ने काम हामीले नै गर्छौं,’ त्रिुपरेश्वर चोकमा खटिएकी ट्राफिक प्रहरी अस्मिता पुनले भनिन् ।

सडकको यस्तो अवस्था त्रिपुरेश्वर चोकमा मात्र हैन राजधानीका प्रायः चोकको अवस्था यस्तै छ । कतै लेन र जेब्रा क्रसिङ चिह्न मेटिनु, ट्राफिक लाइट नहुनु त कतै सडक विस्तार भएपछि पनि सडकमै रहेका बिजुलीका पोलहरू । ‘सिधै दौडिरहेका गाडी बिजुलीको पोलमा ठोकिन्छन्,’ महानगरीय ट्राफिक कार्यालयका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने, ‘त्यहाँमाथि सडकमा हुने खाल्डाले गराउने जामको शास्ती कति कति ।’ महानगरीय ट्राफिक कार्यालयका अनुसार उपत्यकाका धेरै सडक खण्डमा न ट्राफिक बत्ती छन् न जेब्रा क्रसिङका चिह्न। ‘जेब्रा क्रसिङ नभएपछि पैदलयात्री जथाभावी बाटो काटिदिँदा पनि जाम हुने गरेको छ,’ खनालले भने । सडकमा आवश्यक आधारभूत चिह्न नहुँदा एकातिर ट्राफिक चिह्नको काम पनि ट्राफिकले नै गर्नु परेको छ भने गल्ती गरेका सवारी साधनलाई कारवाही गर्नै लाज हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ । ‘सडकमा केही चिह्न हुँदैन, गल्ती गरेका गाडीलाई केही भन्यो भने उल्टै ‘लेन खै’ भन्छन्, त्यतिबेला उल्टै लाज हुन्छ,’ ट्राफिक इनिसपेक्टर रुपा लाबुङले भनिन् । जेब्रा  क्रसिङ, लेन तथा सडक बत्तीको काम आफैं गर्दा सवारी साधनलाई अप्ठेरो पर्छ नै । कतिपय बेलामा ट्राफिकले हातले दिएको इशारा समेत चालकले नबुझ्ने समस्या पनि हुन्छ । ‘लेन नभएपछि नो राइट टर्न हुने चोकमा पनि राइट टर्न भएर दुर्घटना भएका छन्,’ इनिसपेक्टर लावुङले भनिन्।

सडकमा ट्राफिक चिह्नले नै ट्राफिक व्यवस्थापनका धेरै काम गर्ने हुनाले यसको अभावमा उपत्यकाको ट्राफिकमा समस्यामाथि समस्या थपिने गरेको महानगरीय ट्राफिक कार्यालयका डिआइजीपी सर्वेन्द्र खनालले बताए । राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन आवश्यक आधारभूत संरचनाले नै चुनौती दिएको खनाल बताउँछन् । ‘लेन, जेब्रा क्रसिङ र ट्राफिक चिह्न नभएपछि गल्ती गरेका सवारी साधनलाई समेत कारवाही कसरी गर्ने, के आधारमा गल्ती देखाउने ?’ डिआइजीपी खनालले भने।

सडकमा ट्राफिक लाइट निभेको आठ वर्ष बितिसकेको छ । लेन र जेब्रा क्रसिङ कोरिएपछि ६ महिना पनि नटिकेको र सम्बन्धित निकायले समय–समयमा निर्माण नगर्नाले सडक चुस्त बन्न नसकेको ट्राफिकहरू बताउँछन् । सडकमा चिह्न कोर्ने, बत्ती राख्ने, पोल हटाउने, खाल्डो पुर्ने काम छुट्टाछुट्टै निकायको भएकाले सडकमा सवारी व्यवस्थापन गर्ने बाहेक ट्राफिकको अधिकार नभएको खनाल बताउँछन्।

सडकमा ट्राफिक बत्ती नभएपछि उपत्यकाका चोकमा ट्राफिकले अहिले  ‘स्टप’ लेखिएको बोर्ड प्रयोग गरिरहेका छन् । जतिबेला पनि हात हल्लाउनु पर्ने र चिन्ह देखाउनु पर्दा ट्राफिकलाई सास्ती हुने गरेको प्रमुख खनाल बताउँछन् ।
काठमाडौंको सडक विस्तार, केवुल तथा टेलिफोनको तारहरू जमिनभित्र राख्ने र मेलम्ची खानेपानी जडान, ढल निर्माण दीर्घकालिन कार्यक्रम भित्र परे पनि ट्राफिक व्यवस्थापनमा आवश्यक आधारभूत चिह्न, बत्ती र लेनहरू छोटो अवधिमै निर्माण गर्न सकिने खनाल बताउँछन् । ट्राफिक प्रमुख भएर आए लगत्तै सबै सडकसँग सम्बन्धित सबै निकायसँग बसेर छलफल गरिसकेको खनालले बताए । ‘महानगरपालिकादेखि सडक विभाग, विद्युत् प्राधिकरण सबैसँग सडकको समस्याको बारेमा छलफल गरिसकेका छौं, समन्वय गर्नका लागि, म समन्वय गरेरै सहर र सडकलाई सुन्दर बनाउन चाहान्छु,’ खनालले नागरिकसँग योजना अघि सार्दै भने।

सडकमा ट्राफिक चिन्ह, जेब्रा क्रसिङ र ट्राफिक बत्ती राख्ने जिम्मेवारी सडक विभागको भएकोले विभागसँग आग्रह गरिसकेको उनले बताए । ‘सडक विभागमै पुगेर आग्रह गरिकसकेको छु, समन्वय गर्ने क्रम जारी छ,’ उनले भने । यही अवधिमा उनले नमुना ट्राफिक चिन्ह सडक स्वरुप नारायण गोपालचोकदेखि कलंकीसम्म नमुना सडक निर्माण गर्दैछन् । ‘अहिले यो काम गोगंबु पुगिसकेको छ,’ खनालले भने । चावहिलदेखि बौद्धसम्म फुटपाथका कारण भएको सडक अतिक्रमण पन्छाउने काम पनि आफैंले गरेको बताए । ट्राफिक व्यवस्थापन राम्रो गर्नका लागि खनालले कार्यकाल सुरु भए लगत्तै हर्न बजाउनेलाई जरिवाना, माइक्रोमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम जारी गरिसकेको छ।

खनालका अनुसार यही अवधिमा ट्राफिक कार्यालयले अनुशासनविहीन माइक्रोलाई क्षमताभन्दा बढी यात्रु नराख्न र बांगोटिंगो गरी नकुदाउन निर्देशन दिएको, मालवाहक गाडीलाई रातिमा मात्र प्रवेश दिने, हर्न ट्रनिङमा मात्र बजाउन पाउने, मोटरसाइकललाई सभ्य गरी सडकको प्रयोग गर्न परामर्श दिने, माइक्रो चालकहरूको समूहलाई परामर्श दिने, टयाक्सीलाई कम्पयुटर विलिङ मिटर राख्ने लगायतका गतिविधीहरू सञ्चालन गरेको छ।

तैपनि आधारभूत ट्राफिक चिह्न नहुँदा अहिलेको अवस्थामा ट्राफिक व्यवस्थापन चुनौती बनेको खनालले बताए । यो समस्यालाई हल गर्न सडकसँग सम्बन्धित सबै निकाय जिम्मेवार रहेको खनालको भनाइ छ । उपत्यकामा पानी, ढल, सडक, खानेपानी, विद्युत् प्राधिकरण, सडक विस्तार, टेलिफोन र महानगरपालिका सैब मिलेर एउटै अवधिमा संयुक्त रूपमा काम गर्ने हो भने उपत्यकाको सडक र ट्राफिक व्यवस्थापन राम्रो बनाउन सकिने खनालको धारणा छ । ‘सबै निकाय मिलेर काम गर्न अनुरोध गरेको छु, मुख्य कुुरा प्रतिबद्धताको खाँचो छ,’ उनले भने।

प्रकाशित: १८ आश्विन २०७४ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App