६ वैशाख २०८१ बिहीबार
अन्य

'तपाई राइटिस्ट एकतातर्फ लाग्नुस्'

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको चुनावी तालमेललाई जारी राख्न गरेको अन्तिम प्रयास विफल भएको छ। कांग्रेस सभापति समेत रहेका देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले माओवदी अध्यक्षलाई मंगलबार बिहान भेटेर चुनावी एकता कायम राख्न आग्रह गरेका थिए।

बिहान ९ बजे नेता त्रयबीच भेट भएको थियो। माओवादी र एमालेबीच चुनावी तालमेल र एकता हुन लागेपछि कांग्रेस नेताले एकता तोड्न नदिन सक्रियता देखाएका थिए। स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो।

भेटको क्रममा प्रधानमन्त्री देउवाले केन्द्र र प्रदेशको निर्वाचनमा पनि तालमेल जारी राख्न दाहालसँग आग्रह गरेका थिए। दाहालले त्यसको जवाफमा देश दुई पार्टी सिस्टममा जान खोजेको भन्दै त्यसको सम्भावना टरेको बताएका थिए। 'हामी बाम दलको केन्द्रकरणमा लागेका छौं,' दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, 'तपाईहरु पनि राइटिस शक्तिहरुको एकतातर्फ लाग्नुस्।' भेटमा दाहालले आसन्न प्रतिनिधि सभा र प्रदेशको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास दिलाएका थिए।

'चिर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गर्‍यौं', वरिष्ठ नेता पौडेलले भने, 'माओवादीसँग मिलेर निर्वाचनमा जान हाम्रो प्रयास जारी छ।'

एमाले माओवादी पत्रकार सम्मेलन ५ बजे

चुनावी तालमेल र पार्टी एकताबारे नेकपा एमाले र माओवादी केन्द्रले आजनै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने भएका छन्। अध्यक्ष दाहालको सचिवालयका अनुसार आज बेलुका ५.०० बजे सभागृहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को संयुक्त पत्रकार सम्मेलन हुने भएको छ।  

दुई पार्टीबीच ६०/४० का आधारमा चुनावी तालमेल गर्ने, एमाले र माओवादी केन्द्र आ–आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने, संयुक्त घोषणापत्र बनाएर चुनावमा जाने, पार्टी एकता संयोजन समिति बनाएर जाने र चुनावपछि एकता गर्ने लगायतका विषयमा लिखित सहमति भएको दाहाल सचिवालयले जनाएको छ।

यता उक्त निर्णय आफूहरुलाई मान्य नहुने भन्दै माओवादीका सचिवालय सदस्यहरु मातृका यादव, प्रभु शाह, मणि थापा र गोपाल किरातीले नोट अफ डिसेन्ट लेखेका छन्।

चुनावी तालमेलका लागि माओवादीले अध्यक्ष दाहाल नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ। समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन्।

प्रकाशित: १७ आश्विन २०७४ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App