coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पढ्न मान्दैन सब्बिर

भीष्म उप्रेती

'यो गाडीलाई राम्रोसँग नै मर्मत गर्नुपर्ने भयो,' रमेशले भने। गाडीमा समस्या देखियो। समस्या ठूलो होइन, एउटा सानो नटबल्टुमात्र भाँचिएको हो। तर, ग्यारेज नभएको र मेसिनरी सामान केही नपाइने ठाउँमा सानो समस्या पनि ठूलो भइदियो।

राप्तीपारि भनेर चिनिने बाँके जिल्लाकै दुर्गम लक्ष्मणपुरमा थियौँ। चालक पठान, साथी रमेश र हामीसँगै आउनुभएको नेपालगन्जका चुनिएका गजलकार भोजराज नादिर गाडीलाई अलि उठाएर भाँचिएको सामान निकाल्न लाग्यौँ। म छेवैको रूखको फेदमा एकछिन बसेँ, चुपचाप उनीहरूलाई हेर्दै।

गाडी बन्न समय लाग्लाजस्तो भयो। साथीहरू जुटिरहेकै थिए, मचाहिँ अलि पर बाटोको उत्तरपट्टि टुत्रु्कक्क बसेझैँ देखिने एउटा छाप्रोअघि बसिरहेका दुई जना अधबैँसे मानिसतिर गएँ।

मलाई मानिसले सधैँ आकर्षण गर्छन्। मानिस नै हो जसको जीवनको अनुभवले जहिले पनि केही न केही नयाँ र जीवनोपयोगी कुरा सिकाइरहन्छ।

'नमस्कार।' नजिकै पुगेको मात्र थिएँ एक जनाले भनिहाले।

'नमस्कार।' मैले दुई हात जोडेँ।

उनी डोरी बाट्दै गरेको देखिसकेको थिएँ तैपनि कुराकानीलाई सहज बनाउन सोधेँ– 'के गर्दै हुनुहुन्छ?'

'रस्सी बनावत है खटियाके लिए,' तिनले भने।

'तपाईंको घर यहीँ हो?'

'हो। अलि पर गाउँमा छ। यहाँ सानो गोठ हालेर बसेको छु।' उनले यस पटक नेपालीमै त्यही छाप्रोलाई देखाउँदै भने।

'गाउँमा अलि दुःख छ। यहाँबाट खेतीपाती गर्न पनि सजिलो छ,' सँगै बसेका अर्का अधबैँसेले भने।

'भारत कति टाढा छ यहाँबाट?'

उनले दक्षिणतिर फैलिएको हरियो खेततर्फ देखाउँदै भने– 'ऊ त्यहीँ पर हो। एक किलोमिटर टाढा छ यहाँबाट।'

मैले आँखालाई एक किलोमिटर टाढासम्म फ्याँकेँ। पारिपट्टि हरिया रूखहरू र यतैबाट फैलिँदै गएको खेत अझ उता पनि फैलिएको थियो।

'यो ठाउँमा बसेको कति भयो?' सोधेँ।

'चार पुस्ता त भयो। अब अगाडि कति हुन्छ, त्यो त जान्दिनँ।' बडो निर्दोष पारामा उनले भने।

सोचेँ, यिनी सम्पूर्णतः यहीँको माटोले बनेका रहेछन्। 'राप्तीपूर्व धेरै दुःख छ, वर्षायाममा सहरसँग गाउँ पूरै छुट्टिन्छ, भारत हुँदै आउनुपर्छ सरकारी काम पर्दा नेपालगन्जमा' उनीहरू भन्छन्। सबैथोक सीमापारिबाट किन्नुपर्ने बाध्यता छ। तर, यहाँ चार पुस्ता बिताएको मान्छेलाई यो कठोरता जीवनको सहजता नै भएको होला। उसले यसभन्दा परको सुख भोगेको भए पो यो भोगाइ दुःख हो भन्ने जान्दो हो!

'बर्खाको बसाइ कस्तो हुन्छ यहाँ?' मैले थप सोधेँ।

डोरी बाटिरहेका अधबैँसे डोरी बाट्न छोडिसकेका थिए। उनले मलाई एउटा डोरी बुनेर बनाएको खटियाको छेउमा बस्न आग्रह गरे।

म बसेँ। मलाई उनीसँग अझै एकछिन कुरा गर्न मन लागेको थियो।

'धेरै गाह्रो छ नि। हिउँद्मा त अलिअलि गाडी चल्छ, बर्खामा चल्दैन। मान्छे बिरामी हुँदा अस्पताल लानै सक्दैन।'

'नेपालगन्ज कसरी जाने त?'

'धेरै घुम्नुपर्छ हजुर। यहाँबाट बोर्डरपारि बहराइच, नानपाडा भएर रुपडिहा आउने र टाँगा चढेर नेपालगन्ज जाने। नेपालगन्ज टाढा छ हामीलाई,' उनले भने।

उनले सहजै भने तर यस भनाइको सांकेतिक अर्थ धेरै गहिरो छ। नेपालगन्ज उनीहरूको ठूलो सहरमात्र होइन, प्रशासनिक केन्द्र पनि हो। सबै सरकारी अफिस त्यहीँ छन्। तर, चार पुस्तादेखि यहीँ बसेका उनीहरूलाई नेपालगन्ज धेरै टाढा छ।

'अहिले त राप्तीमा पुल बनेछ नि,' भनेँ।

'हो, अहिले अलि सजिलो भा'को छ,' अर्का अधबैँसेले भने।

'हजुर भारतमा त बाटैबाटो छ सबैतिर। यहाँ त ३६ किलोमिटर बाटो पनि बनाउँदैन सरकार।' उनले मसिनोसँग आक्रोश पोखे। त्यस ठाउँबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ।

यतिञ्जेल हाम्रा कुरा सुनिरहेका अर्का अधबैँसेले भने– 'भारतमा त मानिस जिन्दगीभरि बाटोमात्रै बनाउँदा हुन्।'

'छोरालाई स्कुल पठाउनुभा'को होला नि?' सोधेँ।

'एउटै छोरो छ। पढाउन अनेक गर्छु, पढ्नै मान्दैन,' उनले भने।

उनी जुरुक्क उठे र मेरो प्रतिक्रिया नपर्खीकन झन्डै अलि परै खेलिरहेको छोरालाई बोलाउन थाले। उनी छाप्रोभित्र गए र एउटा पुरानो झोला लिएर आए। झोलाबाट किताब–कापी निकालेर देखाउँदै भने– 'हेर्नुस् न, कापी–किताब किनिदिएको छु, दिनको १० रूपैयाँ खाजा खान सधैँ दिन्छु, तैपनि पढ्दैन। हजुरले सम्झाउँदा पो पढ्न मान्छ कि भनेर हजुर। उसलाई सम्झाइदिनुपर्‍यो।'

मैले अनायस आफ्नो प्राथमिक स्कुल पढ्दाका दिनहरू सम्झेँ। मसँग कहिल्यै पनि दिउँसो खाजा खान पैसा हुँदैनथ्यो। टिफिन खाने भन्ने त सुनेकै थिइनँ मैले। कुनै दिन कुनै कारणले २५–५० पैसा खल्तीमा भयो र दिउँसो किनेर खाजा खान पाइयो भने संसारकै सबैभन्दा धनी र सुखी मनुवा भएको आनन्द उमि्रन्थ्यो भित्रैदेखि।

मैले किताब हेरेँ। कक्षा २ को किताब थियो त्यो। कापीमा भर्खर दुई पाना लेखिएको थियो जबकि आधा वर्ष बितिसकेको थियो विद्यालय सुरु भएको। कापीको बाहिर सब्बिर बेनिया लेखिएको थियो। सब्बिर भर्खर नेपाली र अंग्रेजीको भर्नाकुलर सिक्दै थियो।

सब्बिर आइपुग्यो। उसले खैरो हाफपाइन्ट र सेतो पानी गन्जीमात्र लगाएको थियो। भर्खर खेतमा खेलेर आएको ऊ धूलोले छोपिएर झनै कालो–मैलो देखिएको थियो। उसको कान र घाँटीमा मैलोको लेउ लागेको थियो।

ममा अचानक एउटा गम्भीर जिम्मेवारी थपिन पुग्यो। मैले यस अपरिचित केटोसँग कसरी कुरा गर्ने होला, कस्तो भाषाको प्रयोग यसले सुन्न मन पराउला, कस्तो आत्मीयताको चाह गर्ला? म सोचमग्न भएँ र अल्मलिएँ पनि।

'आऊ सब्बिर, म तिम्रो साथी हुँ। यहाँ बस,' मैले सब्बिरलाई मेरो छेउमा बसाएँ।

ऊ केही नबोली आएर बस्यो।

'यो तिम्रो किताब हो?' सोधेँ।

'हो,' उसले भन्यो।

'तिमी स्कुल जान्नौ हो?'

ऊ बोलेन।

'पढ्न मन लाग्दैन हो?'

ऊ बोलेन।

'शिक्षक, स्कुलका साथीहरू मन पर्दैन हो?'

ऊ बोलेन। 'पढेन भने पछि हाकिम बन्न सकिँदैन, पैसा कमाउन, राम्रो काम पाउन र गाडी किनेर चढ्न सकिँदैन भन्ने तिमीलाई थाहा छ है?'

फेरि पनि बोलेन।

'बुवा–आमाले घरमा धेरै काम लगाएकोले थाकेर पढ्न मन लाग्दैन हो?'

ऊ बोल्दै बोलेन।

यतिञ्जेल चुपचाप हाम्रो कुरा सुनिरहेका सब्बिरका बुवाले भने– 'कहाँ काम लगाउनु मालिक, दुइटा बयल छ जम्मा। बयल हेर्नु पर्दैन यसले, बाख्रा चराउनु पर्दैन, घाँस काट्नु पर्दैन। खालि स्कुल गएर पढे पुग्छ। म बरू बोर्डिङ स्कुल पढाउँछु। ऋण काढेर पढाउँछु, यसले पढेमात्र पुग्छ।'

सोचेँ, उसकै भाषामा कुरा गर्दा पो बोल्छ कि! भाषाले पनि मान्छेलाई नजिक ल्याउँछ भन्छन्। सब्बिर पनि भाषाको माध्यमले मेरो साथी बन्न तयार हुन्छ कि!

'बप्पा कै बात सुन्यौ? तुमका यतना प्यार करता है। दिनैपिछै नास्ता खाएक पैसा भी देत है। कल स्कुल जाओ। (बुवाको कुरा सुन्यौ? तिमीलाई कति धेरै माया गर्नुहुन्छ। दिनदिनै खाजा खाने पैसा पनि दिने रे। भोलिदेखि स्कुल जाऊ है)।' मैले सब्बिरको कपाल बिस्तारै चलाउँदै भनेँ।

ऊ फेरि बोलेन। भुइँतिर टाउको निहुर्‍याएर बसिरह्यो, मानौँ ऊ पत्थर हो– निष्प्राण।

'हम नौ हम तुमार साथी नही कहेन? साथी से तौ मन कै बात कहैक चाहिन। (मैले म तिम्रो साथी भनेको होइन? साथीसँग मनको कुरा भन्नुपर्छ त)।' भनेँ।

ऊ बोल्दै बोलेन।

'आज बिहान पनि उसको आमासँग झगडा भयो। स्कुल गएन भनेर आमाले पिट्यो उसलाई,' सब्बिरको बुवाले भने।

'बरू भोकै बस्छ भातै नखाई तर स्कुल जाँदैन। मैले त पढ्न पाइनँ। यसले पढे हुन्थ्यो। स्कुल गए हुन्थ्यो। स्कुल मन नपरे नजिकै मदरसा छ, त्यहीँ गएर ऊर्दू र हिन्दी पढे पनि हुन्थ्यो। बोर्डिङ स्कुल गए पनि हुन्थ्यो। कहीँ जाँदैन। मैले के गर्ने हजुर। सम्झाइदिनुस्। तपाईंले भनेको मान्छ कि!'

सब्बिरको बुवाको अनुहारमा छोराप्रति अथाह मायामात्र थिएन, उसको भविष्यप्रतिको गहिरो चिन्ता पनि थियो, एउटा बाबुको निरीहता पनि थियो। उनले मलाई हृदयदेखि नै आग्रह गरे। मैले फेरि एक पटक उसलाई बोलाउने अन्तिम प्रयास गरेँ।

'म नेपालगन्जमा बस्छु। तिमीलाई नेपालगन्ज कहाँ छ थाहा होला। तिमीले पढे–नपढेको हेर्न फेरि आउँछु। अनि पढेको छैन भन्दा तिमीलाई नै लाज लाग्छ। तिमी लाज लाग्ने कुरा गर्छौ?'

सब्बिर अझै पनि बोलेन।

अन्तिममा सोचेँ– यो बच्चा यसरी अहिलेदेखि नै बोलेन भने कहिल्यै पनि बोल्न सत्तै्कन। बोल्न सक्ने हुँदैन। अनि यहाँ अर्को एउटा पुस्ता यसरी नै खटियामा बसेर आफ्नो सन्तानलाई आफूले नपढेको पछुतो मानिरहेको र राम्ररी पढ्न सम्झाइरहेको हुन्छ।

सब्बिर र उसका बुवालाई त्यहीँ छाडेर म फर्किएँ गाडी भएको ठाउँमा। पठान एक जना स्थानीयको मोटरसाइकल लिएर भाँच्चिएको बल्टु लिन पारि गइसकेका रहेछन्। हामी स्थानीय चिया पसलमा चिया पिउन बस्यौँ।

चिया पसलअगाडि किशोर–किशोरीहरू क्यारेमबोर्ड खेलिरहेका थिए। सब्बिर दौडँदै आएर त्यहीँ उभियो। उसको अनुहार अहिले क्यारेमबोर्ड हेरिरहन पाउँदा उज्यालो थियो। ध्यानपूर्वक हेरिरहेको थियो। त्यहाँ उसकै उमेरका अरू तीन जना केटाकेटी पनि आएपछि ऊ उनीहरूसँगै खेततिर कुद्यो। खेतको छेउमा आँपको ठूलो रूख थियो। उनीहरू त्यही रूखको फेदमा उनीहरूकै भाषामा केके भन्दै रमाएर खेल्न थाले।

सब्बिरलाई यस किसिमको शिक्षण पद्धतिले काम नगरेको होला। जसरी ऊ रमाएर खेलिरहेको थियो शिक्षण पद्धति पनि खेलजस्तै आकर्षक भइदिएको भए ऊ पक्कै पनि रमाउँदो हो! जहाँ अभिरूचि हुन्छ त्यहीँ मन अडिने न हो। उसले कन्भेन्सल शिक्षा पद्धतिलाई अस्वीकार गरिरहेको थियो।

यसैबेला पठान आइपुगे। २० रूपैयाँको एउटा बल्टुले काम गर्‍यो। हामी गुड्न सक्ने भयौँ, तर त्यो सक्कली बल्टु नभएकोले अझ अगाडि नजिकै रहेको सीमासम्म पुग्ने आँट आएन।

बाटाका छेउछाउका घरहरू हेरेँ, ती घरका आँगन र खेतमा काम गरिरहेका स्थानीय मानिसलाई हेरेँ। सब्बिरजस्तै यहाँका मान्छे वास्तवमा बोलेका छैनन् युगौंदेखि। तर, मान्छे सधैँ चुप लागेर बस्न सत्तै्कन। असह्य भएर एकदिन यी मान्छे पनि बोल्नेछन् अवश्य। त्यो दिन कसरी आउला– फर्कंदा बाटोभरि म सोचमग्न भएँ।

प्रकाशित: १५ श्रावण २०७३ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App