६ वैशाख २०८१ बिहीबार
समाज

टीकाको साइत शनिबार ११:५५ बजे

काठमाडौं-आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीको साइत शनिबार ११:५५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजय दशमीका दिन हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गरिन्छ। 

नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए। 'राज्य सञ्चालकहरूले साइतकै टीका लगाउनु राम्रो हुन्छ। सर्वसाधारणका लागि भने साइत खोजिरहनु पर्दैन', उनले भने। विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत खोज्नु नपर्ने उनको भनाइ थियो। 

विजय दशमीका दिन मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने विश्वास गरिन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी विजय दशमीको दिन मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो। 

प्रकाशित: १३ आश्विन २०७४ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App