८ वैशाख २०८१ शनिबार
समाज

निर्वाचनपछि आपराधिक घटनामा वृद्धि, फेरि एकको हत्या

सञ्जय मिश्रा

रौतहट- दुईदशक पश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ। बिहीबार राति फेरि एकजनाको हत्या भएको छ। यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुगेको छ। मौलापुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ। 

मौलापुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुर नपा–१० बाल्चनपुर बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साहको हत्या भएको प्रहरीले जनाएको  । 

चिरान मिल छेउमा रहेको भागरित साहको घरको अगाडि सुतिरहेको अवस्थामा वीरेन्द्र साह आज बिहान मृत फेला परेका हुन्। 

यसअघि परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडा उम्मेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकाका राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भइसकेको छ। 

खाटमाथि झुलभित्र सुतिरहेका मृतक साहको टाउकामा अज्ञात मानिसले भाला प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। प्रहरी उपरीक्षक पोखरेलका अनुसार व्यक्तिगत रिसइबीका कारण साहको हत्या भएको प्रहरीको बुझाइ छ। 

प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए। मृतक साहले मौलापुर बजार छेउमा स्थापना गरेको चिरान मिल केही दिन अघिदेखि मात्र सञ्चालनमा आएको थियो। 

यसअघि परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडा उम्मेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकाका राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भइसकेको छ। 

निर्वाचनपछि जिल्लामा चोरीका घटनासँगै ठाउँठाउँमा कुटपिटका घटनासमेत हुन थालेका छन् । 

गएराति कटहरिया नपा–५ बजारस्थित राजु मोबाइल रिपेयरिङ सेन्टर पसलमा ढोका फोडेर ल्यापटप, मोबाइल गरी करिब रु एक लाख ५० हजार बराबरको चोरी भएको पसलधनी अमिन्दर यादवले बताए। बुधबार राति गरुडा बजारस्थित आयुस्मान ट्रेडर्स पसलको ढोकाको ताला खोलेर चोर समूहले करिब रु १४ लाखको सामान चोरेर लगेका छन्। 

प्रहरीको लापर्बाहीले यत्रो ठूलो चोरीको घटना भएको भन्दै पसलधनी पवन जयसवालसँगै स्थानीय व्यापारीले बिहीबार गौर, चन्द्रपुर सडकखण्डमा करिब पाँच घण्टा चक्काजाम गरेका थिए। प्रहरीले सुरक्षामा सक्रियता बढाउने शर्तमा दिउँसो २ बजे बाटो खुलाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए।

त्यसैगरी, गौर र गरुडामा दुईवटा मोटरसाइकल पनि निर्वाचनपछि नै चोरी भएको जिप्रका रौतहटको तथ्यांकमा रहेको छ। स्थानीय निर्वाचनमा पराजित र बिजयी भएका कार्यकर्ताबीच पटक–पटक कुटपिटका घटना पनि भइरहेका छन्। वृन्दावन नपा, कटहरिया, देवाही गोनाहीलगायत १८ स्थानीय तहका अधिकांश ठाउँमा कार्यकर्ताबीच भनाभन र कुटपिटका घटना भइरहेको प्रहरीले जनाएको छ। 

प्रजिअ उद्धवबहादुर थापाले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न भएपश्चात् हार र जितलाई सबैले स्वाभाविक प्रक्रियाको रुपमा बुझ्नु पर्ने बताए। दशैँ तिहारमा सबै मानिस आफैँमा व्यस्त हुने भएकाले गस्तीलाई व्यापक बनाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ थापाले जानकारी दिए।

जित हारलाई सबैले अंगिकार गरी संयमित रहन र चोरीका घटना हुन नदिन प्रहरीसँगै सबै जिल्लावासी सजग रहन प्रजिअ थापाले आग्रह गरे। रासस

प्रकाशित: १३ आश्विन २०७४ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App