८ वैशाख २०८१ शनिबार
अन्य

दसैँ : पौराणिक कथाहरु

राेशन दाहाल

श्रीराम हरण गरिएकी पत्नी सीता फर्काउने क्रममा लङ्कामाथि आक्रमण गर्ने तरखर गर्दै थिए । आक्रमणअघि समुद्रतटमा रामले नौ दिनसम्म देवीको पूजा गरे । ‘पूजा गरे तिम्रो भलो हुनेछ,’ सृष्टिकर्ता ब्रह्माको सल्लाह थियो ।
रामले देवीको पूजा गर्ने कुरा रावणले पत्तो पाएपछि व्यवधान गर्ने प्रयास गरे । उनी आफैंले पनि विजयप्राप्तिका लागि देवीको पाठ सुररू गरे । रावणले पाठ गर्न थालेको कुरा वायुदेवले रामको कानसम्म पु¥याइदिए । रामले त्यसलाई सहज रुपमा लिए ।
रावणको यज्ञमा ब्राह्मणहरुको सेवा गर्ने बहानामा हनुमान बटुकको रुप बनाएर गए । त्यहाँ उनले सक्दो सेवा गरे । उनीबाट खुसी हुँदै यज्ञमा मन्त्रोच्चारण गरिरहेका ब्राह्मणले उनीसँग इच्छा लागेको कुरा माग्न भने । हनुमानले भने, ‘तपाईं ब्राह्मणहरुले उच्चारण गरिरहेको मन्त्रको अगाडिको अक्षर आफूले भनेअनुसार बदलिदिनु भए पुग्छ ।’ हनुमानको चाल ब्राह्मणहरुले थाहा पाउन सकेनन् । ब्राह्मणहरुले सोच्दै नसोची ‘तथास्तू’ भनिदिए ।
हनुमानले ‘जयादेवी... भूर्तिहरिणी’ मन्त्रबाट ‘ह’ को सट्टा ‘क’ उच्चारण गर्न भने । ब्राह्मणहरुले आफ्नो वचन हार्न सकेनन् र ‘भूर्तिकरिणी’ भनिदिए ।
प्राणीहरुको पीडा हर्ने खालकी ‘हरिणी’ को सट्टा पीडा दिने खालकी ‘करिणी’ हुन गयो । यस्तो मन्त्रोच्चारण देखेर रावणदेखि देवी रुष्ट भइन् ।
यता रामले गर्न लागेको पूजा र हवनका लागि दुर्लभ एक सय आठ नीलकमलको व्यवस्था गरिएको थियो । रावणले आफ्नो यज्ञ सफल र रामको यज्ञ असफल पार्न विभिन्न षड्यन्त्र गरिरहेका थिए । उनले आफ्नो मायावी शक्ति प्रयोग गरेर रामले तयार गरेका नीलकमलमध्ये एउटा गायब पारिदिए । आफ्नो नीलकमल हराएको थाहा पाएपछि देवी रुष्ट होलिन् भनेर राम डराए । दुर्लभ नीलकमलको तत्कालै व्यवस्था गर्न सम्भव पनि थिएन ।
रामलाई मानिसहरुले ‘कमलनयन नवकञ्च लोचन’ भन्ने गर्थे । उनले त्यही सम्झे र आफ्नो यज्ञ पूरा गर्न आफ्नै एउटा आँखा अर्पण गर्न तयार भए । बाणद्वारा आँखा निकाल्नै लाग्दा देवी प्रकट भएर उनलाई रोकिन् र उनको त्याग देखेर खुसी हुँदै विजयप्राप्तिको आशीर्वाद दिइन् ।
नौ दिनको यज्ञ सकिएपछि दसौँ दिन रामले लङ्कामाथि आक्रमण गरे । उनको आक्रमण सफल भयो । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको जीत भएको मानियो र खुसियाली मनाइयो । त्यसैबेलादेखि दसैं मनाउने चलन सुरु भएको मान्यता छ ।
०००
एकताका महिषासुर नामक राक्षस थियो । उसको तपस्याबाट बाध्य भएर देवताहरुले उसलाई अजय हुने वर दिए । वर पाएपछि महिषासुरले नर्कको बिस्तार गर्दै स्वर्गको ढोकासम्म पु¥यायो । उसले सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्रमा, यम, वरुण लगायतका देवताहरुको सबै अधिकार खोस्यो । आफैँलाई स्वर्गलोकको मालिक घोषणा गर्यो । महिषासुरको कृत्यबाट दिक्क र क्रोधित भएका देवताहरुले देवी दुर्गाको रचना गरे । दुर्गाको रचनामा सबै देवताहरुले आफ्नो सबै बल लगाए । आ–आफ्ना शस्त्रहरु दुर्गालाई दिए । सबै देवताको प्रयासबाट दुर्गा बलवान् भइन् । नौ दिनसम्म देवी र महिषासुरको बीचमा युद्ध भयो । अन्ततः महिषासुरको वध भयो । दुर्गा महिषासुरमर्दिनी बनिन् । यसकै खुसियालीमा दसैं मनाउने चलन सुरm भयो ।
असोजको शुक्ल प्रतिपदाका दिनदेखि यो चाड सुरू हुन्छ र पूर्णिमा (कोजाग्रत) सम्म रहन्छ । पहिलो ९ दिनलाई नवरात्रि भनिन्छ । नवरात्रिको अर्थ हो ‘नौवटा रात्रि’ ।
यी नौ दिनसम्म दुर्गाका नौ वटा स्वरुपहरुको क्रमशः आराधना गरिन्छ । दुर्गाको अर्थ हो, जीवनको दुःख हटाउने ।
दुर्गाका नौवटा स्वरुप
शैलपुत्रीः यिनैको आराधनाबाट नवरात्रि सुरm हुन्छ । यिनलाई दुर्गाको पहिलो स्वरुप मानिन्छ । पर्वतराज हिमालयकी छोरी भएकी कारण यिनलाई शैलपुत्री भनिएको हो । वृषभ (गोरु) यिनको वाहन हो । त्यसैले यिनलाई वृषारुढा पनि भन्ने गरिन्छ । यिनले दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल बोकेकी छन् । यिनलाई पूजा गर्ने मन्त्र हो :
वन्दे वाञ्च्छितलाभाय चन्द्रार्धकृतशेखराम् ।
वृषारूढां शूलधरां शैलपुत्रीम् यशस्विनीम् ।।

यिनको पूजामा सेतो रङका सामान चढाइन्छन् । गाईको घिउ प्रयोग गरेर पकाइएका सामान विशेष उपयोगी मानिन्छ । यिनको आराधना गर्नाले रोगबाट मुक्ति मिल्छ ।
जमरा राख्ने दिन :
नवरात्रिको पहिलो दिनमै जमरा राखिन्छ । भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक हो । यस दिन कलश स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ ।
आफू शुद्ध भइसकेपछि चोखो बालुवा वा माटो ल्याई पूजाकोठामा फैलाएर राखिन्छ । त्यसमा विशेष गरी जौ छर्ने चलन छ । जौ नभएको खण्डमा गाउँघरमा चलिआएको अन्न छरिन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपाली हिन्दूका घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम पूजा गरिन्छ । दुर्गासप्तशती (चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदिको पाठ पनि गरिन्छ ।
पूजन विधिः
सुरmमा प्रकृति माता, गुरूदेव र इष्टदेवलाई नमन गर्ने । त्यसपछि गणेशको आह्वान गरेर कलश स्थापना गर्ने । कलशमा आँपको पात र पानी राख्ने । कलशमाथि काँचो नरिवललाई रातो कपडाले बाँधेर राख्ने र सुपारी, सिक्का आदि चढाउने । त्यसपछि सरस्वती, लक्ष्मी र दुर्गाको आह्वान गर्दै धूपबत्ती बालेर देवीका सबै रुपहरुको पूजा गर्ने ।
नवरात्र सकिएपछि कलशको जल घरमा छर्किने र कन्या पूजन गरेर प्रसाद वितरण गर्ने ।
ब्रह्मचारिणी :
नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणीको पूजा–अर्चना गरिन्छ । ब्रह्मको अर्थ हुन्छ, तपस्या र चारिणीको अर्थ हुन्छ, आचरण गर्ने खालकी । यिनले भगवान शङ्करलाई पतिको रुपमा पाउनका लागि घोर तपस्या गरेकी थिइन् । यही कारण उनको नाम ब्रह्मचारिणी भएको हो ।
उनलाई पूजा गर्ने मन्त्र हो :
दधाना करपद्माभ्यामक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

ब्रह्मचारिणीलाई मिस्री, चिनी र पञ्चामृतको भोग लगाइन्छ । यी चीज दान गर्नाले लामो आयु प्राप्त हुन्छ ।
चन्द्रघण्टा :
दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो । नवरात्रिमा तेस्रो दिन यिनको पूजा हुन्छ । यिनको मस्तकमा घण्टाको आकारमा आधा चन्द्रमा छ । यिनका दस वटा हात छन् । प्रत्येक हातमा अस्त्र–शस्त्र लिएकी छन् । देवीको यो रुप परमशान्तिदायक र कल्याणकारी छ ।
यिनको पूजा गर्ने मन्त्र हो :
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकेर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

चन्द्रघण्टालाई दूध र दूधबाट बनेका चीजहरु भोग लगाउँदा राम्रो हुन्छ । दान पनि यस्तै चीजको गर्नुपर्छ । यस्तो गर्दा देवीले दुःख नाश गर्छिन् ।
कूष्माण्डा :
नवरात्रिको चौथो दिन देवी कूष्माण्डाको स्वरुपको उपासना गरिन्छ । यिनका आठ वटा हात छन् । सात वटा हातमा कमण्डलु, धनुष, बाण, कमलको फूल, अमृतले भरिएको कलश, चक्र र गदा लिएकी छन् । यिनको आठौँ हातमा सबै सिद्धि प्रदान गर्ने खालको जपमाला छ ।
यिनको पूजा गर्ने मन्त्र हो :
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

कूष्माण्डाका लागि मालपुवा भोग लगाइन्छ, दान गरिन्छ र आफू पनि खाइन्छ । यस्तो गर्दा बुद्धिको विकास हुन्छ ।
स्कन्दमाता
नवरात्रिको पाँचौँ दिन स्कन्दमाताको पूजा हुन्छ । स्कन्दकुमार कार्तिकेयकी आमा भएका कारण यिनलाई स्कन्दमाता भनिएको हो । यिनी कमलको आसनमा विराजमान रहन्छिन् । यही कारणले यिनलाई पद्मासना पनि भनिन्छ । यिनको वाहन सिंह हो । यिनको पूजा गर्ने मन्त्र हो ः
सिंहसनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।।

स्कन्दमाताको पूजा गरेर केरा भोग लगाउन सकिन्छ । यिनको कृपा पाएको मूर्ख पनि ज्ञानी बन्छ भनी मानिन्छ ।
कात्यायनी
दुर्गाको छैटौँ स्वरुपको नाम कात्यायनी हो । महर्षि कात्यायनले छोरी प्राप्त गर्ने इच्छाले देवीको कठिन तपस्या गरे । देवीले उनको घरमा छोरीको रुपमा जन्म लिइन् । यही कारणले यिनको नाम कात्यायनी रहन गयो ।
भगवान् कृष्णलाई पतिको रुपमा पाउनका लागि ब्रजका गोपिनीहरुले यमुनातटमा यिनकै पूजा गरेका थिए । राम्रो पति पाउने इच्छा राख्ने कुमारीहरुले यिनकै व्रत बस्छन् र पूजा गर्छन् ।
यिनको पूजाको मन्त्र हो :
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।

कात्यायनीको पूजाका लागि मह चढाउन सकिन्छ । यिनको उपासना गर्दा भक्तले सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्छन् भन्ने विश्वास छ ।
कालरात्रि
दुर्गापूजाको सातौँ दिन कालरात्रिको उपासना गरिन्छ । यिनको पूजा गर्नाले ब्रह्माण्डका सबै सिद्धिका ढोका खुल्ने विश्वास गरिन्छ । सबै असुरी शक्तिहरुको नाश हुन्छ । कालरात्रिको नामबाटै यिनको रुप भयानक छ भनेर थाहा पाउन सकिन्छ । यिनका तीन वटा आँखा छन् । शरीरका अङ्ग एकदमै काला छन् ।
यिनको पूजा गर्ने मन्त्र हो :
एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा ।
वर्धमूर्धध्वजा कृष्णा कालरात्रिर्भयंकरी।।

कालरात्रिका लागि सख्खरको नैवेद्य अर्पित र दान गरिन्छ । यिनको कृपा पाएमा भक्त सबै भयबाट मुक्त हुन्छ । यस दिनलाई फूलपाती पनि भन्ने गरिन्छ । दसैंघरमा नवपत्रिका प्रवेश गराई भद्रकाली तथा सरस्वतीको पूजा गरिन्छ ।
बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, उखु, केरा आदि नौ प्रकारका पल्लवहरु दसैं घरमा भित्रयाउने पनि गरिन्छ । यस कार्यलाई फूलपाती भिœयाउने भनिन्छ । यस्तो गर्दा घरभित्रका नकारात्मक कीटाणु र जीवाणुहरु औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् भन्ने मानिन्छ ।
यसै दिन गोरखा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती बढाइँ गर्दै हनुमानढोका दरबार भिœयाउने चलन छ ।
महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि यसै दिन पूजा गरिन्छ ।
महागौरी
दुर्गाको आठौँ शक्तिको नाम हो, महागौरी । यिनका सबै आभूषण र वस्त्र सेतो भएका कारण यिनलाई श्वेताम्बरधरा पनि भनिएको छ ।
शिवलाई पतिको रुपमा पाउनका लागि महागौरीले कठोर तपस्या गरेकी थिइन् । तपस्याकै कारण उनको शरीर कालो बन्यो । पछि उनको तपस्याबाट खुसी हुँदै शिवले यिनको शरीरलाई गङ्गाको जलले धोएर कान्तिमय बनाइदिए । त्यसबेलादेखि यिनलाई महागौरी भन्न थालियो । यिनको उपासना गर्नाले सबै पापबाट मुक्ति भन्ने विश्वास गरिन्छ ।
यिनको पूजा गर्ने मन्त्र हो :
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।

अष्टमीको दिन नरिवलको भोग लगाउँदा राम्रो हुन्छ । नरिवललाई आफ्नो शिरमा घुमाएर बगिरहेको जलमा प्रवाहित गर्नुपर्छ । यस्तो गर्दा मनोकामना पूर्ण हुन्छ ।
यस दिनमा भगवतीको वाहन बाघको पनि पूजा गर्नुपर्छ । यसै दिन शस्त्रास्त्र (हातहतियार) र अन्य सामान पनि पूजा गर्ने चलन छ ।
सिद्धिदात्री
नवरात्रि पूजाको नवौं दिन देवी सिद्धिदात्रीको उपासना गरिन्छ । शिवले पनि सिद्धिदात्रीको कृपाले यी सबै सिद्धि प्राप्त गरेका थिए । यिनकै कृपाले महादेवको आधा शरीर देवीको भएको थियो र अर्धनारीश्वरको नामले प्रसिद्ध भएका थिए ।
यिनको पूजाको मन्त्र हो :
या देवी सर्वभूतेषु मां सिद्धिदात्री रुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

नवमी तिथिमा दुर्गालाई विभिन्न प्रकारका अन्नको भोग लगाउन र दान गर्न सकिन्छ । जस्तै– हलुवा, चना, पूरी, खीर पुवा आदि । यसबाट जीवनमा सुखशान्ति हुन्छ । महानवमीमा नवदुर्गाको स्वरुप मानेर नौ जना कन्यालाई भेला गरी पूजा गरिन्छ ।
विजयादशमी
दसौं दिन यस पर्वको मुख्य दिन हो । यस दिन बिहान अपराजिता देवीलाई पूजा गरी टीका–प्रसाद ग्रहण गरिन्छ । वरपरका मानिसलाई प्रसाद ग्रहण र वितरण गर्न सजिलो होस् भनेर पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने चलन छ ।
टीका लाउँदा दिइने आशीष :
आयू द्रोणसुते श्रीयां दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु र दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् । भगवान् रामको जस्तो शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत्त हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् ।
असोज शुक्ल दशमीको रातिको समयलाई विजयप्राप्तिको समय मानिन्छ । यस समयमा नयाँ काम गर्न सकिन्छ । श्रवण नक्षत्रलाई आधार बनाएर कतिसम्म यो शुभ समय रहन्छ भनेर थाहा पाउन सकिन्छ । यो समयमा गरेको यात्रा सफल हुन्छ ।
यसै दिनमा शत्रुमाथि आक्रमण गरेर जितेका प्रशस्त उदाहरणहरु छन् । दुर्योधनले पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्ष वनावास र तेह्रौं वर्षको अज्ञातवासको शर्त दिएको दिन पनि यही थियो ।
यसै दिनमा शमी रुखको पूजा पनि गर्ने गरिन्छ । श्रीरामले लङ्कामाथि आक्रमण गर्न जाँदा शमीले उनको विजयको उद्घोष गरेको थियो । बाह्र वर्षको वनवासपछि एक वर्षको गुप्तवासका लागि जाँदा पाण्डवले आफ्ना हतियार शमीकै रुखमा लुकाएका थिए ।
जमराको सदुपयोग
दसैंको प्रसाद ग्रहण गरेपछि बचेका अङ्कुरित जमराको रस बनाएर सेवन गर्न सकिन्छ । जमरालाई महाऔषधि मानिन्छ । यसको रस बनाएर खानाले असाध्य रोगहरु पनि निको हुने विज्ञहरु बताउँछन् । यसले शरीरलाई तुरुन्तै शीतल बनाउँछ । यसबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ ।
पूर्णिमा
यस दिनदेखि दसैं सकिन्छ ।
यसै दिनमा ‘अब वर्षा पुग्यो’ भनेर इन्द्रलाई समाचार पठाइन्छ । वर्षा रोक्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: १२ आश्विन २०७४ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App