६ वैशाख २०८१ बिहीबार
राजनीति

कार्कीविरुद्ध बढे सांसद

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र अन्य पदाधिकारीहरूले गरेको अख्त्यिार दुरुपयोग विरुद्ध आवाज उठाउने सांसदहरूको संख्या बढ्दैछ।

भर्खरै संसदमा सभामुख गगनकुमार थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्वजनिक महत्वको प्रस्ताव राखिसकेका छन्। उनीहरूले उक्त प्रस्तावमाथि सभामुखले छलफल अगाडि बढाउनु पर्ने माग पनि गरिरहेका छन्।

यसै सन्दर्भमा सरोकारवालाहरूले अख्तियार, संसद र सुशासनको सेरोफेरोमा रही शुक्रबार राजधानीमा आयोजना गरेको छलफलमा सभासदहरूको सहभागिता बढेन मात्र उनीहरूले निर्भिक भएर अघि बढ्ने विश्वास पनि दिलाएका थिए। उनीहरूले अख्तियार प्रमुख कार्की र अन्य पदाधिकारीहरू विरुद्ध दह्रो प्रमाण भएको समेत बताएका थिए।

अन्तरक्रियाका सहभागी सभासदहरूले आफू डराएर केही नगरेको भन्ने होइन बरु सांसदको संख्या बढ्दैछ गएको बताएका थिए। उनीहरूले आफूहरू प्रतिनिधिको रुपमा सहभागी भएको र भोलि संसदको छलफलमा यो संख्या धेरै बढ्ने समेत बताएका थिए।

सभासदहरू धनराज गुरुङ, गगन थापा, श्याम श्रेष्ठ, रविन्द्र अधिकारी, अमनलाल मोदी, डिआर पौडेल, आशा कोइराला, रामहरि खतिवडा, भीमसेनदास प्रधान, लालबाबु राउत, मीना पुन, अख्बल अहमद साह लगायतले छलफलमा भाग लिएका थिए।

सांसद अख्बल अहमद साह सुशासन समितिले यसमा काम गर्नेवाला रहेको बताए। पहिले पनि अख्तियारले समितिलाई निर्देशन पठाउँदा दराजमा पत्र थन्क्याइदिएको जानकारी दिँदै उनले मन्त्रिपरिषद समेत संसदप्रति जवाफदेही हुनुपर्नेमा संवैधानिक अंगले निर्देशन पठाउन नसक्ने बताए। अख्तियार प्रमुख समितिको दायरामा रहेनन् भने समितिभित्र ठूलो आवाज उठाउने विश्वास पनि उनले दिलाए।

घनश्याम भुषाल, ठाकुर गैरे, प्रदीप ज्ञवाली, प्रत्युष वन्त र खगेन्द्र संग्रौला लगायतले आफ्ना धारणा राखेका थिए। लेखक खगेन्द्र संग्रौलाले लोकमान लोकतन्त्रका निम्ति खतरा भएको बताएका थिए।

एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टीले जसले केन्द्रिय कमिटीबाटै अख्तियार प्रमुख कार्कीको विरोध गरेको  उल्लेख गर्दै उनका गल्ती सच्याउने यो अन्तिम मौका भएको बताएका थिए। …हामी संसदमा छैनौं जो त्यहाँ हुनुहुन्छ आवाज उठाउनोस् हामीले बाहिरबाट सक्दो सहयोग गर्न तयार छौं,' उनले भने। 

सांसद आशा कोइरालाले आफू संसदमा बोल्न तयार भए पनि समय नपाएको बताएकी थिइँन्। अर्का सभासद धनराज गुरुङले सबै जना बाहिर बोलेको देखिए पनि संसदभित्र गएपछि कोही पनि बोल्न नमान्ने गरेको बताए। तैपन वढ्दो संख्या देख्दा अब आफूहरू तीनजनामा सीमित नभएको उनले उल्लेख गरे। अरु सांसदले पनि संसदमा गएर बोल्ने आशा उनले व्यक्त गरे।

सांसद अमनलाल मोदीले अख्तियारको कुरा सुशासन समितिमा पनि उठाइरहेको बताउँदै आफूहरूले यसमा पहल गर्ने बताए। सुशासन समितिले अख्तियार प्रमुखमाथि गर्नुपर्ने निर्णयबारे आफूहरू सजग भएको पनि उले उल्लेख गरे। सांसदको आलोचना गर्ने मात्र होइन सहयोग पनि पुर्‍याउनु पर्ने बताए।

सांसद श्याम श्रेष्ठले तीन खालका सांसदबारे बताएका थिए। आफूहरू सि क्लासका सांसद भएकोले पार्टीकै सदस्य भए पनि जनताको हितमा बोल्ने गरेको बताए।  बि क्लासका सांसद बाहिर बाहिर बोल्ने तर संसदमा नबोल्ने र ए क्लासका चाहिँ आफ्नो स्वार्थ मात्र हेरेर नबोल्ने किसिमका भएको उनले बताए।

 

प्रकाशित: १५ श्रावण २०७३ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App