८ वैशाख २०८१ शनिबार
अर्थ

दैनिक दुई करोडको खसीबोका बिक्री

कपिलवस्तु,  असोज ११– चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ ।
घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौं पठाउने गरेका छन् । जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दसैंको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ ।
स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायत व्यापारीले खसीबोका ल्याई काठमाडौंलगायत देशका अन्य सहरमा पठाउने गरेका छन् । भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन् ।
चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौं पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले बताए । ‘माग भए बमोजिम खसीबोका पठाउन सकेका छैनौं,’ उनले भने ।
विगत लामो समयदेखि भारत उत्तर प्रदेशको बहराइच र नानपाराका भारतीय व्यापारीले काठमाडौंमा खसीबोकाको व्यापार गर्दै आएका छन् । दसैंका बेला खसीबोकाको माग धान्न गाह्रो हुने गरेको बहराइचका व्यापारी अवरास मुसलमानले बताए । यहाँबाट बाबरी, जमुना पारी र स्थानीय जातका खसीबोका काठमाडौं पठाउने गरिएको छ । एउटा ट्रकमा दुई सय ५० देखि तीन सयसम्म खसीबोका पठाउने गरिएको उनको भनाइ छ । कृष्णनगर भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि हालसम्म करिब आठ हजार भारतीय खसीबोका नेपाल भित्रिएका छन् ।

प्रकाशित: ११ आश्विन २०७४ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App