काठमाडौं, असोज १० (नागरिक)– साबिक विजेता नेपालले बुधबार यु–१८ साफ च्याम्पियनसिपको उपाधि रक्षा गर्ने आशासहित प्रतियोगिताको अन्तिम खेलमा परिचित प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्दै छ ।
उपाधि रक्षा गर्ने आशा जीवित राख्न नेपालले भारतलाई हराउनै पर्नेछ । त्यो नतिजा मात्र नेपालका लागि पर्याप्त हुँदैन । भुटान र बंगलादेशबीचको नतिजाले उपाधि समीकरणमा प्रभाव पार्छ । लिगका तीन खेल सकिँदा समान ६ अंक जोडेको भारत, बंगलादेश, नेपाल र भुटान गोलभिन्नताका आधारमा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । पुछारमा रहेको माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन ।
पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएका कारण नेपालको उपाधि रक्षा गर्ने लक्ष्य कठिन बनेको हो । पहिलो अप्रत्याशित हार बेहोरे पनि नेपालले प्रतियोगितामा पुनरागमन जनाउन सफल भयो । दोस्रो खेलमा कमजोर माल्दिभ्समाथि २–० को विजय हासिल गरेको नेपालले सोमबार रोमन लिम्बुको दर्शनीय गोल मद्दतमा बलियो मानिएको बंगलादेशलाई २–१ हराउँदै उपाधि रक्षा गर्ने आशा कायम राख्यो ।
‘हामीले बंगलादेशलाई हराउँछौं भनेर मैदान उत्रिएका थियौं जसमा हामी सफल भयौं,’ नेपालका कप्तान अर्पण कार्कीले भने, ‘हामी भारतविरुद्ध पनि त्यही रणनीतिमा खेल्नेछौं । उनीहरूको आक्रमण राम्रो छ । त्यसप्रति होसियार भएर खेल्नेछौं ।’
भारत नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी टोली हो । यसअघि यु–१९ साफ च्याम्पियनसिपको नाममा काठमाडौंमै भएको पहिलो संस्करणको फाइनलमा नेपालले भारतलाई हराउँदै उपाधि उचालेको थियो ।
भारत नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी टोली हो । यसअघि यु–१९ साफ च्याम्पियनसिपको नाममा काठमाडौंमै भएको पहिलो संस्करणको फाइनलमा नेपालले भारतलाई हराउँदै उपाधि उचालेको थियो । निर्धारित ९० तथा थपिएको ३० मिनेट १–१ को बराबरीमा सकिएपछि नेपालले भारतलाई पेनाल्टीमा ५–४ ले हराउँदै उपाधि जितेको हो । तर, यस पटक नेपालले भारतमाथि विजय हासिल गरे पनि उपाधि रक्षाका लागि त्यो पर्याप्त हुँदैन । आयोजक भुटान र बंगलादेशबीचको नतिजा आफ्नो पक्षमा आउनुपर्छ ।
‘भारतलाई जसरी पनि हराउनुपर्छ । हामीसँग जित्नुको विकल्प छैन,’ बुधबारको खेलबारे नेपाली यु–१८ टोलीका प्रशिक्षक छिरिङ लोप्साङले भने, ‘भारतलाई बंगलोदशले हराए पनि हामीले भोलिको खेललाई सहज रुपमा लिएका छैनौं । भारत, बंगलादेश र नेपालको स्तर एउटै हो, त्यसैले भारतविरुद्ध ५०/५० को खेल हुन्छ । तर हाम्रा खेलाडीले शतप्रतिशत खेल दिए भने हामी जित्न सक्छौं ।’
तर, खेलाडीको चोट र पहेेंलो कार्डले प्रशिक्षक लोप्साङलाई चिन्तित बनाएको छ । नेपालका फरवार्ड रिजन सुब्बा घाइते छन् भने केही महत्वपूर्ण खेलाडीले दुई पहेंलो कार्डको सामना गरेका छन् । प्रशिक्षक लोप्साङले थपे, ‘रिजन घाइते छन् । केही महत्वपूर्ण खेलाडीले दोहोरो पहेंलो कार्डका कारण खेल्न पाउँदैनन् । त्यसले केही चिन्तित त बनाएको छ तर, हाम्रो बेन्च पनि राम्रो छ ।’
भारतले बंगलादेशविरुद्ध ३–० को अग्रता लिनाका बावजुद ४–३ को नतिजा सुम्पिएको थियो । त्यसपछि भुटानमाथि ३–० को विजय हासिल गरेको भारतले माल्दिभ्सलाई २–१ ले हराउँदै उपाधि दाबेदारका रूपमा उभिएको छ ।
अफगानिस्तान मध्य एसियामा जानुका साथै पाकिस्तान र श्रीलंकाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालसहित भुटान, बंगलादेश, भारत र माल्दिभ्स गरी ५ टोलीले भुटानमा प्रतिस्पर्धा गरेका हुन् । राउन्ड रोबिन लिगका आधारमा भएको यस प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।
प्रकाशित: ११ आश्विन २०७४ ०३:३८ बुधबार