७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

जेरुसेलम, असोज १० (बिबिसी)– इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।
गोली हान्ने ३७ वर्षका व्यक्ति त्यस क्षेत्र नजिकैको गाउँको रहेको र उनलाई पनि गोली प्रहार गरी मारिएको बताइएको छ । प्यालेस्टिनी कामदारसँगै हार अदारमा प्रवेश गर्न लाइनमा लागेका बेला उनले सुरक्षाकर्मीको गोली खोसेर प्रहरी र सुरक्षा गार्डमाथि प्रहार गरेको प्रहरीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।  सन् २०१५ पछि लगातार रुपमा इजरायली अरब र प्यालेस्टिनी नागरिकले इजरायलीमाथि गरिरहेको शृंखलाबद्ध आक्रमणको यो पछिल्लो घटना भएको बताइएको छ ।
आक्रमणको कुनैपनि समूहले जिम्मेवारी नलिएको भएपनि गाजा क्षेत्रमा आधारित प्यालेस्टिनी सैन्य संगठन हमास र इस्लामिक जिहादले घटनाको स्वागत गरेको बिबिसीले जनाएको छ । गोली प्रहार गर्ने ती व्यक्ति चार बालबालिकाको बाबु भएको र वेस्ट बैंकको सीमा नजिकै इजरायलमा रहेको जिहादी बस्तीमा काम गर्ने अनुमति पत्र बहाक व्यक्ति भएको इजरायलको आन्तरिक सुरक्षा एजेन्सीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । गोली प्रहार गर्ने ती व्यक्ति हार अदारबाट करिब एक माइल पर रहेको बेट सुरिक गाउँबाट त्यस क्षेत्रमा काम गर्न आएको बताइएको छ । घटना भएको स्थल जेरुसेलमबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा रहेको बिबिसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीले नजिकैबाट गोली प्रहार गरेका थिए । उनको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने अर्का एक चिन्ताजनक रुपमा घाइते भएका छन् । आक्रमणमा मारिएका र घाइते भएका कसैको पनि पहिचान सार्वजनिक गरिएको छैन । यहुदी बस्तीमा करिब ३६ हजार प्यालेस्टिनीसँग काम गर्ने अनुमति पत्र रहेको छ । त्यस क्षेत्रमा आक्रमणका विरुद्धको सुरक्षा एकदमै कडा रहेको छ । त्यस क्षेत्रमा रहेको यहुदी बस्ती इजरायल र प्यालेस्टिनीका बीचमा भइरहने झगडाको प्रमुख कारण हो । त्यस बस्तीलाई इजरायली र प्यालेस्टाइन दुवै पक्षले शान्ति प्रकृयाको बाधकका रुपमा देख्ने गरेका छन् । इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलमलाई कब्जा गरेदेखि त्यस क्षेत्रमा करिब एक सय ४० वटा बस्तीमा छ लाख भन्दा बढी यहुदी बसिरहेका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार ती बस्ती गैरकानुनी मानिन्छन् तर इजरायलले भने यसलाई अस्विकार गर्दै आइरहेको छ ।  
अक्टोबर २०१५ देखि हालसम्म इजरायल र उसले कब्जा गरेको क्षेत्रमा छुरा प्रहार गरेर, गोली हानेर र जथाभावी कार कुदाएर कम्तीमा ५० जना इजरायली र पाँच विदेशी नागरिको हत्या भइसकेको छ ।  इजरायलका अनुसार करिब तीन सय प्यालेस्टिनी जसमा अधिकांश आक्रमणकारी रहेका थिए उनीहरु पनि यस अवधिमा मारिएका छन् । अन्य भने इजरायली सेनासँगको झडपमा मारिएका छन् । इजरायलले प्यालेस्टाइनको संस्थापन पक्षले आक्रमणमा मलजल गरिरहेको आरोप लगाउने गरेको छ भने प्यालेस्टाइनका नेताहरुले भने दशकौंदेखि इजरायलले कब्जा गरेर बसेको क्षेत्रका कारण सर्वसाधारणमा नैरस्यता प्रकट भएर घटना हुने गरेको बताउँदै आएको छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App