८ वैशाख २०८१ शनिबार
विचार

नर्कको बाटो स्वर्गको यात्रा

प्रेम कैदी
वर्षात्को भयानक झरी र भताभुङ्ग बाटोघाटोबीच कर्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगञ्ज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरु भयो । सर्वप्रथम त कर्णाली जाने गाडी पाउन ज्यादै कठिनाइ । त्यसपछि जो कसैले पनि भनेजस्तो यातायातको साधन प्रयोग गर्न नसक्ने रहेछ । वीरेन्द्रनगरबाट जीतेगडा (कालिकोट) पुग्न लगभग १ सय ३० किमि पुग्न जीपको मालिकले १४ हजार रुपियाँ भन्यो तर सुर्खेतमा रहेको मेरो भतिजा जीवनकुमार शाहीले लगभग ८ हजारमा मिलायो । कर्णालीका दुर्गम र कठिन मार्ग क्षेत्रमा सरकारले विशेष सहुलियत कार्यक्रम चलाएको होला र  त्यहाँ अन्यत्रभन्दा राम्रो व्यवस्था होला भन्ने मेरो कल्पना गलत साबित भयो । किनकि संसारका सबै दुर्गम मार्गहरूमा यस्तो व्यवस्था हुने गर्छ । जापानको होकाइडो, रुसको साइबेरिया, अमेरिका र क्यानाडाको अलास्का क्षेत्रमा राज्यले विशेष यातायात योजना लागू गरेको पाइन्छ । छिमेकी चीन र हिन्दूस्तानका दुर्गम हिमाली राज्यहरूमा यातायातलगायत अन्य क्षेत्रमा सर्वत्र विशेष सहुलियत कार्यक्रम चलाएको मात्र नभई राज्यले कुनै प्रकारको कर असुली नगरेको समेत पाइन्छ ।  
साढे ६ बजे बल्लतल्ल गाडी तयार भयो र घनघोर वर्षात्बीच उकालो लाग्यौँ । सुन्दर हिलस्टेसन बन्न सक्ने गुरासेको डाँडो काट्दा नकाट्दै अँध्यारो भयो । कर्णाली राजमार्गभन्दा दैलेख जाने यो बाटोमा गाडीहरू प्रायः चलेको पाइएन । माथिल्लो डुगेश्वरपछि प्रायः बाटो खराब रहेछ । तल्लो डुगेश्वरबाट कर्णाली राजमार्गमा आइपुग्दा त गाडी रोपाइँ गर्न लागेको खेतमा हालेजस्तो नाच्दै कुदिरहेको थियो । अँध्यारोमा हिलेमार्ग र कतै बस्ती नदेखिने र कसैले मतलब नराखेको त्यो बिरानो मार्गमा हिँड्दा मानव संसारबाट अर्कै मुलुकमा आएको अनुभव भयो । देशको सबभन्दा ठूलो भूगोल भएको अञ्चलमा जाने मात्र होइन जलविद्युत्मा सस्तो लगानीमा सबभन्दा धेरै विद्युत् उत्पादन गर्ने नदीक्षेत्रको बाटोप्रति उपेक्षा मात्र होइन,  राज्यको उपस्थिति नदेख्दा मन साह्रै खिन्न भयो । तल्लो डुगेश्वरबाट पुल तर्नासाथ हाम्रो समयका ब्रह्मज्ञानी सिद्घपुरुष ब्रह्मलीन योगी नरहरिनाथलाई स्मरण गरिरहेको थिएँ ।  उनले २०१२ सालमा सर्वप्रथम यही नगर क्षेत्रको दुल्लुमा भेटेको सिजापति पृथ्वी मल्लको विजय स्तम्भबाट प्राचीन नेपालको इतिहासको ढोका खोलेका थिए । काठमाडौँमा कमलको फूलमा  बागेश्वर ज्वाला जलेजस्तै यहाँ दुल्लुमा सदाकाल बैश्वानरज्वाला  जलिरहेको महाशक्ति महामायाको क्षेत्र भनी योगीले वर्णन गरेका छन् । यस्तो विश्वका अर्बौं हिन्दू, बौद्ध, बोन्पो, जैन, लिंगायत आदिले जुहार्नका लागि ज्यान फाल्ने महान् धार्मिक स्थलको कथित  राजमार्गको दुर्गति र पूर्ण उपेक्षा देख्दा चित्त साह्रै फाट्यो ।
खिडकीज्युला पुगेपछि केही राम्रो बाटो आयो तर थाहा भयो कि त्यहाँ पालतडाभन्दा माथि राति ८ बजेपछि प्रहरीले बाटो बन्द गर्ने रहेछ, त्यसैले हाम्रो अनुरोधमा दैलेखका प्रहरी उपरीक्षक सरोज पौडेलले सहयोग गरेकोले डाव, पालतडा र राकममा हामीलाई प्रहरीले रोकेन । राति राकममा एउटा होटेलमा खाना खाएबापत सित्तै कोठा प्राप्त भयो र रात त्यही बित्यो । बिहान उठेको पश्चिमतिर अछाम र बीचमा विशाल कर्णाली नदी देखियो । राकममा कमल शाही लगायत गाउँजाने केही व्यक्ति भेटिए । कर्णाली किनारैकिनार वारि दैलेख पारि अछाम हेर्दै हामी गुड्दै झन्डै ३० किमि जतिमा दैखोलामा दैलेख छाडेर कालिकोट प्रवेश ग¥यौँ । थोरै अगाडि सडकमा गाडी जाम भएको देखियो । त्यहाँ तीन दिनदेखि पहिरो आएको रहेछ । मुगु, जुम्ला, कालिकोट आदितिर जाने हजारौँ यात्रीहरू अलपत्र परेका र कतैबाट पारि जान नसकिने जस्तै रहेछ । पहिरोमा लगातार ढुङ्गा खसिरहेका थिए । केही दिन अगाडि त्यहाँ पहिरोको फोटो खिच्दा २७ वर्षका जगतबहादुर शाहीलाई ढुङ्गा लागेर तत्काल मारिएका रहेछन् । त्यस्तो ठाउँमा पनि राज्यले कुनै आपतकालीन व्यवस्था गरेको देखिएन । कमल शाहीले के गरौँ भन्दा मैले तीतेपातीका मुन्टा टिपेर मष्टो देउतालाई चढाएँ । अनि जसले सोधे पनि पहिरो आइरहेको ठाउँबाट हिँड्न मिल्छ भने ।
मष्टो देउताका कृपाले म, छोरी मन्नु र भतिजा कमलले माथिबाट ढुङ्गा झर्दाझर्दै बाटो काट्यौँ तर हामीसँग गाडीमा आएका ऊर्जा चिकित्सक डीबी शाही, अभियन्ता मंगल शाही तथा नरेन्द्र, निराकार, नम्रता आदिले पहिरो छिचोल्न सकेनन् । त्यहाँबाट चर्को घाममा भोकभोकै ४ किमि जति हिँडेर हामी जीतेगडा पुग्यौँ । योगी नरहरिले कर्णाली र तिला नदी मिसिएको त्रिवेणी परेको त्यस स्थानलाई सप्तदीपका महाराज तथा मानव जातिका आदि पुर्खा मनुले विश्वभरका शासक तथा हजारौँ ऋषिमुनि राखेर विश्वको पहिलो संविधान प्रदान गरेको इतिहासको आदि थलो भनी वर्णन गरेको स्थलमा हामी पुगेका थियौँ । जीतेगडाभन्दा पूर्वाेत्तर तिलानदीको किनारमा अहिले सानो शिव मन्दिर बनाएको मैले टाढाबाट देखँे । जीतेगडामा खाना खाएर त्यहाँ कर्णालीको झोलङ्गे पुल तरेर हाम्रो टोली झन्डै ५ किमि सडक मार्गबाट रेगिलघाट पुग्यौँ । बाटोमा हप्तौँदेखि दुई ठाउँमा पहिरोले सडकमा पारेको अवरोध हटाउने काम भएको थिएन र तत्काल हुने चालमाल पनि देखिएन । त्यस्तो बेवारिसे सडकमा पनि रेगिलबाट सान्नीगाडसम्म  जीप चल्ने रहेछ । उक्त जीपमा हामी हानथाप गरेर चढ्यौँ र लगभग ७ किमि पर सान्नीगाडमा अर्कै जीपमा रास्कोट नपातिर  उकालो  लाग्यौँ । खापरमाँडुसम्म १२ जना यात्रुको लगभग ७ किमिमा २ सय ५० रुपियाँ प्रतिव्यक्ति भाडा तिरेर पुग्यौँ । त्यहाँभन्दा माथि विजयपुर गाउँ जान चालकले हजार रुपियाँ माग्यो र म त्यो दिन तयार थिएँ तर त्यहाँ मेरा एक आफन्तले मिलाएर थोरैमा घर पुगियो । गाउँमा बसुन्जेल निकै अध्ययन गर्ने मौका पाइयो । जोतिष जन्मदेव पण्डित, सिमनाथका धामी लोकेन्द्र शाही, पाल्सी शाही, पूजारी हरि धमाला, समाजसेवी हरसिंह बोगटी, राजनीतिज्ञ देवजंग शाही, पूर्ण शाही र देउराका पूजारी विष्णु धमाला आदिको सहयोगले रास्कोटको धार्मिक इतिहास अध्ययन गर्ने मौका पाइयो ।
खासगरी म सिमनाथ अर्थात् शिवको सबभन्दा पुरानो मन्दिर र शिवले ब्रह्माण्डमाथि राज्य गरेको मौलाकोट दरबारको यात्रा गरेर त्यसबारे अध्ययन गर्न चाहन्थेँ र त्यो यसपटकको यात्रामा पूर्ण भयो । भदौ १९ मा पूजाइ र २० मा पैठ थियो । दुवै दिन धामीहरू पतुर्ने र दमाईहरूले ताण्डव ध्वनिसाथ दमाहा बजाएको हेर्ने अवसर मिल्यो । मैले १७ गते सिमनाथको मन्दिर जानुअघि छोरी मन्नुसाथ सिउनाकोटको डाँडो चढेर मौलाकोट दरबार गएर केही विशेष फोटो लिन सफल भएँ । अघिल्लो दिनसम्म घनघोर बादल र वर्षा भइरहेकामा मौलाकोट जाँदा मौसम सफा भयो । त्यहाँबाट माथि उपरकोट, टाक्स्या पश्चिममा मालिका र दक्षिणमा सान्नीका सुन्दर पाखाहरू मात्र होइन, पूर्वका कर्णालीपारिका  सिकुका पाखा, झर्ना र हिमचुली पर्वतको दर्शन प्राप्त भयो । अति सुन्दर रास्कोटको समग्र दर्शन पाइने मौलाकोट दरबारबाट तल सान्नीगाडसम्मका गाउँबस्तीहरू मात्र होइन, विजयपुरको दहनिरको बडिमालिका माविको भवन र बजार पनि छर्लङ्ग देखियो । चारैतिर हेर्दै फोटो खिच्दै मौलाकोट दरबारबाट ब्रह्माण्डमाथि राज गर्ने शिव र इन्द्र भगवान् तथा पृथ्वीका राजा मष्टोदेवलाई मैले मनमनै स्मरण गरँे र यात्रा सफल भएकामा धन्यवाद दिएँ ।  

प्रकाशित: ११ आश्विन २०७४ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App