८ वैशाख २०८१ शनिबार
अन्य

आन्दोलनले बिरामी मर्कामा

काठमाडौं– पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए ।

माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ । ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने ।

बिरामीमाथि लापरबाही भएको खण्डमा त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने कानुन बनाउन मन्त्रिपरिषद्ले निर्णय गरेपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनका कारण उपचारसेवा प्रभावित भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री आउने बेलासम्मका लागि चिकित्सकलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।

मन्त्रिपरिषद् तथा संसद्को निर्णय भएकाले प्रधानमन्त्री आएपछि संशोधनका लागि पहल गर्ने मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले भने, ‘अहिले प्रधानमन्त्री देशबाहिर हुनुहुनुहुन्छ, १२ गते आउनुहुन्छ । उहाँ आएपछि दुवै पक्षलाई मिल्ने गरी एने संशोधनको पहल गर्नेछु ।’

आन्दोलनमा उत्रिएका चिकित्सकले पाँच दिनदेखि मुलुकभरका निजी तथा सरकारी अस्पतालमा बहिरंग सेवा, नियमित शल्यक्रिया र अन्य जाँच बन्द गरेका छन् । उपचारसेवा बन्द हुँदा पालोमा परेका शल्यक्रिया रोकिएको अस्पतालहरुले जनाएका छन् । ‘पालो परेका सयौं शल्यक्रिया रोकिइसकेका छन्,’ टिचिङ अस्पतालका प्रशासक गोविन्दबहादुर प्रधानले भने । ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षमै बिरामीको भीड लागेको र सयौं पालोका शल्यक्रिया रोकिएको वीर अस्पतालले जनाएको छ । सबै अस्पतालमा वार्डमा भर्ना भएका र आकस्मिक सेवामा आएका बिरामीले भने उपचार भइरहेको अस्पतालहरूले जनाएका छन् । स्वास्थ्यमन्त्री पोखरेलले आन्दोलनकारीसमक्ष ऐन संशोधनका लागि प्रधानमन्त्रीसमक्ष लैजाने प्रतिबद्धता नगरेसम्म आन्दोलन स्थगित नगर्ने जनाएका छन् ।

चिकित्सकको माग पूरा गर्न भट्टराईको आग्रह

नयाँ शक्ति पार्टी नेपालले सरकारले आन्दोलनरत चिकित्सकको माग पूरा गरी आन्दोलनको अन्त्य गर्न सरकारसँग माग गरेको छ । पार्टी संयोजक डा. बाबुराम भट्टराईले मंगलबार प्रेसवक्तव्य जारी गर्दै चिकित्सक आन्दोलनका कारण देशभरिका बिरामी उपचार नपाएर अलपत्र परिरहेकाले सरकारले उनीहरूको जायज माग तत्काल पूरा गर्न आग्रह गरेका छन् ।

‘चिकित्सकको जायज मााग पूरा गरी तुरुन्त हडतालको अन्त्य गर्न हामी सरकारसँग माग गर्दछौं,’ वक्तव्यमा उल्लेख छ, ‘स्वास्थ्यजस्तो अति संवेदनशील विषयमा सरकारको उदासीनता भत्र्सनायोग्य छ ।’

नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा २०७४ असोज ६ गतेदेखि सुरु भएको चिकित्सकको हडतालका कारण देशभरिका बिरामी उपचार नपाएर अलपत्र परिरहेका छन् । केही बिरामीको ज्यान गइसकेको र अझ धेरैको ज्यान जानसक्ने खतरा बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App