४ वैशाख २०८१ मंगलबार
अन्य

‘प्लास्टिक सर्जरी गर्दा सचेत हुनुपर्छ’

डा.जसवन्त शाक्य
प्लास्टिक तथा कस्मेटिक सर्जन
शरीरको कुनै पनि अंगको आकारलाई शल्यक्रियाबाट परिवर्तन गर्नु प्लास्टिक सर्जरी हो । यो प्लास्टिक सर्जरी भन्ने शब्द ग्रिकबाट आएको हो । प्लास्टिकलाई पगालेर जुनसुकै आकारप्रकारमा ल्याउन सकिने जस्तै मानिसको शरीरको अंग पनि शल्यक्रियाबाट जुनसुकै आकारप्रकारमा ल्याउन सकिने अवधारणाअनुसार यसलाई प्लास्टिक सर्जरी नामकरण गरिएको हो ।
प्लास्टिक सर्जरीबाट मानिसले आफ्नो शरीरको मन नपर्ने अंगलाई परिवर्तन गरेर चाहिने आकार ल्याउन सकिने हुन्छ ।
प्लास्टिक सर्जरीका दुई वटा पाटा छन् ।
१. रिकन्स्ट्रक्टिभ
२. कस्मेटिक
अहिले प्लास्टिक सर्जरी गरेर मानिसले आफ्नो अंगलाई अर्काे आकार दिने चलन बढ्न थालेको छ । प्लास्टिक सर्जरी गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
प्लास्टिक सर्जरी गराउन सुरक्षित छ कि छैन ?
प्लास्टिक सर्जरी एउटा संवेदनशील सर्जरी हो । यस कारण यो सर्जरी गर्नु अगाडि गम्भीर रुपमा विचार पुर्याउनु पर्छ । सर्जरी गर्नैपर्ने अवस्थामा अनुभवी डाक्टरसँग मात्रै गराउनुपर्छ ।
राम्रो डाक्टर र अस्पतालका लागि अचेल त गुगल सर्च गर्न सकिन्छ । अहिलेको जमानामा जुनसुकै डाक्टरको प्रोफाइल हामी सजिलै हेर्न सक्छौँ । डाक्टरको अनुभव, यसअघि उसले गरेको काम सजिलै हेर्न सक्छौं र हेर्नु पनि पर्छ । राम्रो डाक्टर र अस्पतालबाट नभई जोसुकैबाट जहाँतहीँ प्लास्टिक सर्जरी गर्दा हुन सक्ने सम्भावित नोक्सानीबाट सचेत हुनै पर्छ ।
प्लास्टिक सर्जरी कहाँं र कसरी गराउने ?
यसका लागि पनि गुगल सर्च उपयुक्त हुन्छ किनभने अहिले प्रविधिको जमाना छ । त्यस कारण कुनै पनि प्लास्टिक सर्जनसँग उपचार गराउनुअघि राम्रोसँग बुझ्नुपर्छ । त्यसैले डाक्टर र अस्पतालबारे जानकारी लिनैपर्छ । यसो गर्नाले कुनै समस्या आयो भने सजिलै समाधान गर्न सकिन्छ ।
डाक्टर कतिको अनुभवी,  उसले अहिलेसम्म के–के अप्रेसन सफल रुपमा गरे, रिजल्ट के छ, उसको प्रोफाइल कस्तो छ, उसको बायोडाटा के हो आदि इत्यादि सबै बुझ्नुपर्छ । यसो गरेपछि मात्रै डाक्टर र अस्पताल तथा क्लिनिकको छनोट गर्नुपर्छ किनभने यो गम्भीर विषय हो । प्लास्टिक सर्जरी फेल भएपछि पुरानो फेजमा ल्याउन गाह्रो हुन्छ अथवा ल्याउन सम्भव छैन ।   
प्लास्टिक सर्जन कत्तिको महँंगा छन् ?
हो यो अरुभन्दा अलि महँगो नै छ किनभने यसका लागि विशेष पूर्वाधार, औजार चाहिन्छ । जुन महँगो हुन्छ । त्यसैले तुलनात्मक रुपमा अलि महँगो हुने भएको हो । यसकारण आफूले पैसा तिर्नुअघि त्यो अस्पताल, क्लिनिकमा भएको पूर्वाधार हेर्नुपर्छ । पैसा तिर्नुअघि नै त्यस अस्पतालले काम गरेको अनुभव, उसको भौतिक पूर्वाधार, अप्रेसन गर्ने कोठा आदिका बारे अगाडि नै बुझ्नुपर्छ । अप्रेसन कोठा र उसको इक्विपमेन्ट, सुविधा कस्तो छ हेर्न जरुरी छ र त्यस अनुसारले डिसाइड गर्नुपर्छ । त्यो हेरेर त्यसको स्ट्यान्डर्ड हेरेर मात्रै प्रक्रिया अगाडि बढाउनुपर्छ ।  
निःशुल्क प्लास्टिक सर्जरी सम्भव छ ?
प्लास्टिक सर्जरीका दुई पाटा छ ।
१. रिकन्स्ट्रक्टिभ र
२. कस्मेटिक
रिकस्ट्रक्टिभ भनेको विभिन्न कारणले जिउमा भएका अंगभंगलाई मिलाउने हो । आगोले पोलेर, दुर्घटना भएर अथवा जुनसुकै कारण भएको अंगभंगलाई मिलाउनु हो । यस्तो उपचार कुनै–कुनै अस्पतालले निःशुल्क पनि गराउन सकिन्छ तर कस्मेटिक सर्जरी विशेष सर्जरी हो । यसको निःशुल्क व्यवस्था कहीँकतै छैन । बरु यो त महँगो पो हुन्छ !
कस्तो हुन्छ प्रभाव ?
प्लास्टिक सर्जरी गराउनुअघि त्यसको सम्भावित प्रभावबारे पनि चिन्तनमनन गर्नु जरुरी हुन्छ किनभने यसको गम्भीर प्रभाव पनि हुनसक्छ ।
नेपालमा कस्ता प्लास्टिक सर्जरी सेवाहरु उपलब्ध छन् त ?
आखाँको मुन्द्री बनाउने, नाक मिलाउने, स्तन सानो तथा ठूलो बनाउने, पेटको बोसो हटाउने आदि सर्जरी नेपालमा उपलब्ध छन् ।
प्रस्तुति : रेणु त्वानाबासु

 

प्रकाशित: १० आश्विन २०७४ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App