coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जितले नेपालको सम्भावना जीवित

काठमाडौं- खेल सकिन दश मिनेट बाँकी छँदा रोमन लिम्बुले दर्शनीय गोल गरेपछि नेपालले सोमबार यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशलाई २–१ ले हराएको छ ।
खेल बराबरीतर्फ धकेलिने सम्भावना भएको अवस्थामा रोमनले मैदानको मध्यभागबाट प्रहार गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपालले २२औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर, साबिक विजेता नेपालले अग्रता लामो समय टिकाउन सकेन । त्यसको ८ मिनेट नबित्दै बंगलादेशका मोहम्मद अल्लामिनले बराबरी गोल फर्काए । तर खेल सकिन १० मिनेट बाँकी रहँदा रोमनले फ्रिकिकमा गोल गर्दै नेपालको जित पक्का गरे ।
प्रतियोगितामा नेपाल पहिलो खेलमै आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराउँदै नेपालले प्रतियोगितामा उत्कृष्ट पुनरागमन ग¥यो । तेस्रो खेलमा बंगलादेशलाई हराएपछि नेपालले च्याम्पियनसिपको ट्रफी जित्ने सम्भावना बढेको हो ।
जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ६ अंक नै जोडेको भारत र बंगलादेश क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ६ अंक नै जोडेको आयोजक भुटान गोलअन्तरका आधरमा चौथो स्थानमा छ । माल्दिभ्सले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । अन्तिम खेलमा नेपालले अब भारतसँग प्रतिस्पर्धा गर्नेछ भने भुटानले बंगालदेशसँग खेल्नेछ । उपाधि रक्षा गर्न नेपालले भारतलाई हराउनैपर्ने दबाब छ । नेपालले भारतलाई हराए पनि बंगलादेश र भुटानको नतिजाले मात्रै उपाधिको टुंगो लाग्नेछ ।
नेपालले दुई वर्षअघि घरेलु मैदानमा पहिलो संस्करणको साफ यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश, भारत र माल्दिभ्स गरी ५ टोलीको सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।

प्रकाशित: १० आश्विन २०७४ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App