४ वैशाख २०८१ मंगलबार
खेल

अभ्यास खेलमा पहिलो हार

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि तयारी गर्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार चेन्नईको स्थानीय टोली सेन्टर फर स्पोटर््स साइन्स (सिएसएस) सँग ५ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिएसएसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । २ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर २ सय १० रन मात्र जोड्न सक्यो । भारत भ्रमणमा ४ अभ्यास खेलमा नेपाल पराजित भएको यो पहिलो खेल हो । यसअघिको तीनै खेलमा नेपाल विजयी भएको थियो ।
सिएसएसका लागि ओपनर अनन्थले ४५ रन जोड्नुबाहेक अग्र र मध्यपंक्तिका ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । तथापि तल्लो क्रममा विलकिन्स भिक्टोरले ७४ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डो¥याएका थिए । भिक्टोरलाई तुसेरले २६ तथा एल गणेशले २० रन बनाएर साथ दिएका थिए । ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरेका भिक्टोरले सातौं विकेटका लागि तुसेरसँग ४६ तथा गणेशसँग आठौं विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।
नेपालका सुशन भारीले तीन विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले समान २÷२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सागर पुनको नाममा १÷१ विकेट रह्यो ।
नेपालले पछिल्लो खेलको टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । उपकप्तान ज्ञानेन्द्र मल्लको स्थानमा पारस खड्का तथा शरद् भेषावकर र ललितसिंह भण्डारीको स्थानमा सुशन भारी र सुशील कँडेललाई टोलीमा समावेश गरिएको थियो ।
ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का अर्धशतक बनाउनबाट १ रनले चुके । ४० बलमा ७ चौका र १ छक्का प्रहार गरेका पारसले ४९ रन जोडे । उनले सागर पुनसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । सागरले ७ चौका र २ छक्कासहित ६९ रन बनाए । आरिफ शेख ७ रन बनाएर आउट भए । यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले ४५ रन जोडे । अग्रपंक्तिले राम्रो गरे पनि तल्लो क्रमका ब्याट्सम्यानले खेल्न नसक्दा नेपाल ५ रनले पराजित भयो । विनोद भण्डारीले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सिएसएसका अरुण बालाजीले ५ विकेट लिँदा भिक्टोरले ३ विकेट लिए । गणेश र वेनकटको नाममा १÷१ विकेट रह्यो ।
अग्रपंक्तिले राम्रो गरे पनि तल्लो क्रमका ब्याट्सम्यानले खेल्न नसक्दा नेपाल ५ रनले पराजित भयो ।

प्रकाशित: १० आश्विन २०७४ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App