७ वैशाख २०८१ शुक्रबार
समाज

भुइँचालो समात्ने यी फोटोग्राफर

काठमाडौं- चारैतिरका सबै चिज हल्लिरहेका थिए। भत्कने, झर्ने तीव्रतासँगै टाउको जोगाउँदै, धुलाम्मे सडक छिचोल्दै सबै सुरक्षित स्थानतर्फ भागिरहेका थिए। सबैलाई कसरी बाँचूँ भन्ने चिन्ता थियो। उनमा भने त्यसभन्दा बढी चिन्ता जुगजुगमा मात्र आउने यो दृश्यलाई समात्न (बचाउन) तिर थियो।

एक हातले सातवर्षे भान्जोलाई च्यापेर सुरक्षा दिइरहेका उनले हल्लँदैहल्लँदै ब्यागबाट क्यामेरा झिके र एकफेर 'क्लिक' पार्न भ्याए। वैशाख १२, २०७२ को त्यो विस्मयकारी क्षण सम्झाउने अमूल्य दृश्य अब उनको क्यामेरामा थियो।

राजधानीको संकटा मन्दिरका पूजारी, सोखिन फोटोग्राफर दीपकरत्न बज्राचार्यको त्यही कला– भुइँचालो जाँदाको 'जिउँदोजाग्दो' तस्बिर यस वर्षको उत्कृष्ट फोटो ठहरिएको छ।

त्यस दिन स्वयम्भूमा भुइँचालोबाट भत्किरहेका घरबाट खसिरहेका इँटा र धुलाम्य पृष्ठभूमि रहेको बज्राचार्यले खिचेको तस्बिर नै यस वर्षको 'आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर– ०७३' उपाधि जित्न  सफल भएको छ।

शुक्रबार विशेष समारोहबीच उनको नाम घोषणा हुँदा फोटो पत्रकार तथा सोखिन फोटोग्राफरले भरिभराउ राष्ट्रिय नाचघरको  हलमा एकछिन सन्नाटा छायो। अपेक्षाभन्दा एकदमै फरक र नसुनिएको नाम प्रमुख विजेता घोषित भएपछि 'दीपकरत्न को हो' भन्ने गाइँगुइँले हल गुन्जियो।

एक लाख रुपैयाँ नगद राशिको प्रमुख पुरस्कार जितेका दीपकरत्न भने त्यतिबेला पनि नित्यकर्ममै थिए, संकटा मन्दिरमा साँझको आरतीनिम्ति दियो तयार पार्ने।

'मैले मन्दिरमै आफू विजयी भएको खबर सुनेँ,' दीपकरत्नले नागरिकसँग खुसी साटे, 'निकै खुसी लागेको छ।'

पेसाले पूजारी ३५ वर्षीय बज्राचार्य पाँच वर्षयता फोटोग्राफीमा रुचि राख्न थालेको सुनाउँछन्। देशका पहाडी भूभाग घुम्न मन पराउने उनी ल्यान्डस्केपका सोखिन हुन्। त्यसैले उनी कतै जाँदा झोलामा क्यामरा राख्न भुल्दैनन्।

पछिल्लोपटक उनले भूकम्प जानु दुई महिनाअघि मात्र क्यानन सेभेन डी क्यामेरा किनेका रहेछन्।

वैशाख १२ गतेको भूकम्प जाँदा बज्राचार्य ब्रह्मटोलमा रहेकी दिदी कमलाकहाँ कूलपूजामा सहभागी हुन क्यामेरा बोकेर स्वयम्भू पुगेका थिए। हारती माताको मन्दिरनजिकै पूजाकै क्रममा उनी सानो भान्जालाई डोर्‍याउँदै मन्दिरवरपर घुम्दै के थिए– हल्लन थालिहाल्यो।

'अचानक भुइँचालो आयो, सबै भागाभाग गरे,' उनले सुनाए, 'एक हातमा भान्जो थियो, अर्को हातले भाग्दाभाग्दै उक्त दृश्य खिचेँ।'

आफूले भत्कँदै गरेको घरको एक क्लिक मात्र खिच्न भ्याएको  उनले सुनाए।

जीवनमा पहिलोपटक फोटो प्रतियोगितामा सामेल भएका उनले आफ्नो फोटोले प्रमुख पुरस्कार जित्छ भन्ने आशा गरेका थिएनन्। 'बरु मलाई घान्द्रुकतिर रमाउँदै गरेका बच्चाको तस्बिरले नेपाल स्माइलमा स्थान पाउला कि भन्ने आस थियो,' उनले भने। प्रतिस्पर्धामा उनले विभिन्न विधामा नौ वटा तस्बिर पठाएका रहेछन्।

साथीको आग्रहमा अन्तिम समयतिर मात्र प्रतियोगितामा सामेल दीपकरत्नलाई शुक्रबार दिउँसो ३ बजेतिर आयोजक पिजे क्लबबाट नपत्याउँदो फोन आएको थियो। 'दियो बाल्ने तयारी गर्दै गर्दा म विजेता भएको खबर आयो,' उनले भने, 'मेरो सफलताले मन्दिरमा रहेका सबै आफन्तको अनुहार हँसिलो बन्यो।'

मन्दिरमा पूजा उनको नियमित कर्म हो। सोखिन भए पनि उनी फोटोग्राफीलाई पनि पूजासरह मान्छन्। त्यसैले भविष्यमा फोटो खिच्न अझ लागिपर्ने उनको योजना छ। 'मन्दिरको  पूजा मेरो नित्य काम हो,' उनले भने, 'फोटो खिच्ने काम पनि मेरालागि पूजा  हो।' सफलताले फोटोग्राफीमा झन् भक्ति बढेको उनको भनाइ छ।

फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिताका अन्य  विभिन्न विधामा सोखिन तथा व्यावसायिक फोटोग्राफरले पुरस्कार जिते।

समाचार विधामा नभेष चित्रकारले खिचेको तस्बिर पहिलो भयो भने राजेश गुरुङले खिचेको भूकम्पपछिको ललितपुर खोकनाको तस्बिर दोस्रो। त्यस्तै, लक्ष्मीप्रसाद नाखुसीको तस्बिर यो विधामा तेस्रो भयो।

संस्कृति र पर्यटन विधामा बालाचतुर्दशीमा ललितपुरको ब्रजबाराही मन्दिमा बत्ती बाल्दै गरेका महिलाहरूको दिनेश श्रेष्ठले खिचेको दृश्य पहिलो भयो। सम्ब्रन्दा बज्राचार्यले खिचेको होली खेल्दै गरेका बच्चाको तस्बिर दोस्रो, आभाष कर्माचार्यले खिचेको कात्तिक नाचको तस्बिर तेस्रो भयो।

डेली लाइफ विधामा नरेश श्रेष्ठले खिचेको ह्युमपाइपमाथि  रमाइरहेकी बालिकाको कलात्मक तस्बिरले पहिलो स्थान पायो भने लोमानथाङमा दुई बालबालिका डोर्‍याउँदै गरेको गोपेन राईको तस्बिर दोस्रो। प्रताप थापाले खिचेको साँखुकी महिलाको तस्बिरले तेस्रो स्थान पायो।

नेचर एन्ड वाइल्डलाइफ विधामा चितवनका रमेशकुमार पौडेलको चितवन राष्ट्रिय निकुञ्जभित्र रमाइरहेका मयूरको कलात्मक तस्बिर पहिलो भयो। विश्व तामा्रकार र विकास द्वारेका तस्बिर दोस्रो र तेस्रो भए।

नेपाल स्माइल विधामा स्कुलबाट फर्कंदै गएका एक बालकले काँधमा सानो बच्चा बोकेको नभेष चित्रकारको तस्बिर पहिलो भएको छ। राजेन्द्र केसीले खिचेको काठमाडौं फनपार्कमा रमाइरहेका बालकको तस्बिर दोस्रो र सुलशभक्त श्रेष्ठले खिचेको रोपाइँको तस्बिर तेस्रो भयो।

स्पोर्ट्स विधामा सर्विन्द्रकुमार पुनको रूकुमको तकसेरा गाविसमा फुटबल खेल्दै गरेका स्थानीय बालकको तस्बिर प्रथम भयो। रोविक उपाध्याय र उमेश श्रेष्ठले खिचेका तस्बिर दोस्रो र तेस्रो भए।

भारतीय वरिष्ठ फोटोग्राफर प्रशान्त पन्जियारको अध्यक्षतामा रहेको  निर्णायकमण्डलले विजेतासहित उत्कृष्ट फोटो छानेको हो।

एक हातमा सातवर्षे भान्जो, अर्को हातमा क्यामरा सम्हालेर भाग्ने क्रममा संकटा मन्दिरका पूजारी दीपकरत्न बज्राचार्यले स्वयम्भूमा खिचेको उपाधि विजेता तस्बिर।

प्रकाशित: १५ श्रावण २०७३ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App