७ वैशाख २०८१ शुक्रबार
अर्थ

७५ प्रतिशत होटल बुकिङ

काठमाडौं- पर्यटनको मुख्य सिजन सुरू भएसँगै होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैतर्फको बुकिङ उत्साहजनक देखिएको छ । यस वर्षको ‘स्प्रिङ सिजन’का लागि ७५ प्रतिशत होटल बुकिङ भएको छ । दुई वर्षअघिको भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र यस वर्षबाट लयमा फर्किएको व्यवसायी बताउँछन् ।  

नेपालीको प्रमुख चाड दसैं र पर्यटकीय समय सुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लो रुपमा बढेको छ । यस सिजनमा धेरै विदेशीले काठमाडौं, पोखरा र चितवन लगायत क्षेत्रमा दसैं समेत मनाउने गरेका छन् । यसले गर्दा होटलहरुमा अकुपेन्सी बढ्दै गएको मलबेरी होटलका प्रबन्धक अमिरकुमार प्रधानले बताए । उनका अनुसार शरद ऋतुका लागि पर्यटकहरु दसैं–तिहारको बीचमा नेपाल आउने गरेका छन् । ‘मलबेरी होटलको कुरा गर्ने हो भने एक वर्ष हुन लाग्यो सञ्चालनमा आएको तर, सिजनका लागि बुकिङ निकै राम्रो छ । समग्रमा ७० प्रतिशत रुम बुकिङ भएको छ,’ उनले भने ।

यो सिजनमा विशेष गरी अमेरिकन, अस्ट्रेलियन तथा क्यानडियन आउने गर्छन् । चिनियाँ र भारतीय पर्यटक भने हरेक समय आउने गरेको पाइन्छ ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार अहिलेसम्म तारे होटलमा पाँच लाख २३ हजार चार सय ५३ रुम छन् । यसको ७५ प्रतिशत बुकिङ भएको हानका महासचिव विनायक शाहले बताए ।

निर्माणाधीन पाँच र चारतारे होटलको निर्माणपश्चात सन् २०२० सम्ममा कम्तीमा तीन हजार दुई सय ६२ कोठा थपिने महासचिव शाहको भनाइ छ ।
शाहले होटल बुकिङमा दुई वर्षअघिको तुलनामा धेरै सुधार भएको बताए । ‘अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था छ । मध्यम खालका होटलदेखि तारे होटलहरु करिब ७० प्रतिशत बुक भएको छ,’ उनले भने, ‘अटम सिजनमा ट्रेकिङ र साना हिमाल आरोहण गर्न पर्यटक आउँछन् । स्प्रिङ सिजन अक्टोबर र नोभेम्बरमा पर्वतीय ट्रेकिङ र एभेरस्ट आरोहण गर्ने आउने भएकाले यस सिजनका लागि होटल धेरै बुक भएको छ ।’
पर्यटकीय क्षेत्र ठमेल, लाजिम्पाट, चितवन, पोखरा लगायत होटलमा पर्यटकको चाप ७० प्रतिशतभन्दा माथि रहेको हानले जनाएको छ । हानका अनुसार अक्टोबर र नोभेम्बरका लागि सबै होटल बुक भइसकेको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पछिल्लो समय ४० प्रतिशतले पर्यटक बढेको बताए । ‘नेपाल आउने हरेक एयरलायन्सको सिट प्याक भएको देखिन्छ । विदेशीहरु आउन थालेका छन् । यस वर्ष करिब १० लाख पर्यटक आउने अनुमान छ,’ उनले भने, ‘यसकारण होटल बुकिङको प्रतिशत बढेको हो ।’
होटल ओशो होमका सञ्चालक तथा टानका सदस्य तारा लामिछानेले पर्यटन क्षेत्रमा सिजन सुरु भएकाले सबै होटलमा बुकिङ बढेको बताए । अगस्टपछि हरेक होटलमा पर्यटकको चाप बढेको उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा करिब ६ लाख पर्यटक नेपाल भित्रिसकेका छन् । यो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको चाप बढेको प्रस्ट हुन्छ ।
नेपाल पर्वतारोहण संघका (एनएमए) अध्यक्ष सन्तवीर लामाले विगतको तुलनामा यसपटक पर्यटक बढेकाले होटल बुकिङ स्वाभाविक रुपमा बढेको बताए । पर्यटक बढेर मात्रै हुँदैन, नेपाललाई आर्थिक रुपमा लाभ हुने पर्यटक आउनुपर्ने लामाको भनाइ छ ।
‘यस वर्षको सिजनमा मौसम सफा भएकाले होटल बुकिङ उत्साहजनक देखिएको छ । ट्रेकिङ क्षेत्रसँगै साना हिमाल आरोहणका लागि पर्यटक आएको देखिन्छ,’ उनले भने, ‘एक्सपिडिसनका पर्यटक बढेका छन् । यो वर्ष मनास्लुमा धेरै आरोही आएका छन् ।’
पर्यटकको सिजन सुरू भएका कारण काठमाडौंमा मात्रै नभएर उपत्यका बाहिरको होटलमा समेत चाप बढेको छ । अनलाइन सिस्टमबाट होटल बुकिङ गर्ने भएकाले पनि पछिल्लो समय यसको तथ्यांक बढेको व्यवसायी बताउँछन् । अब, रुम दिन त्यति सजिलो नभएको उनीहरुको भनाइ छ ।
हालसम्म नेपालमा सन् २०१२ मा सबैभन्दा धेरै आठ लाख दुई हजार पर्यटक आएको तथ्यांक छ । सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित: ९ आश्विन २०७४ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App