८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तहमा एमाले पहिलो

काठमाडौं- स्थानीय तहमा संसद्को दोस्रो ठूलो दल एमाले पहिलो बनेको छ । नयाँ संविधान कार्यान्वयनसँगै दुई दशकपछि भएको स्थानीय निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि एमालेले पहिलो दलका रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आइतबार साँझसम्म प्रदेश २ का आठ जिल्लाको १ सय ३६ स्थानीय तहमध्ये ७ स्थानको चुनावी परिणाम आउने बाँकी छ ।
सात स्थानको परिणाम दोस्रो स्थानमा रहेको कांग्रेसका पक्षमा पुगे पनि एमाले नै पहिलो दल बन्ने निश्चित छ । एमाले र कांग्रेसबीचको अन्तर ३० सिटको छ ।  
झन्डै सात दशक लामो इतिहास बोकेको एमाले स्थानीय तहमा बीस वर्षपछि आफूलाई पहिलो राजनीतिक दलका रूपमा पुनस्र्थापित गर्न सफल बनेको छ । २०५४ को स्थानीय निर्वाचनमा ४७ प्रतिशत मतसहित ७५ प्रतिशत स्थानीय निकाय प्रमुख जितेर एमाले पहिलो दल बनेको थियो ।
संविधानसभाबाट जारी नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । ७ सय ५३ स्थानीय तहमध्ये एमालेले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकासहित २ सय ९३ तहका प्रमुखमा जितेको छ ।
संसद्को ठूलो दल कांग्रेस भने स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा धकेलिएको छ । स्थानीय तहको पहिलो चरण निर्वाचनमै एमालेभन्दा पछि परेको कांग्रेसले दोस्रो र तेस्रो चरणमा आफ्नो अवस्था सुधार गर्ने दाबी गर्दै आएको थियो ।
कांग्रेस एमालेभन्दा ३० तहले पछि छ । कांग्रेसले जम्मा २ सय ६३ तहको प्रमुख जितेको छ ।
तेस्रो स्थान माओवादी केन्द्रले पक्का गरेको छ । उसले हालसम्म १ सय ६ स्थानीय तहको प्रमुखमा चुनाव जितेको छ । चौथो स्थानमा संघीय समाजवादी फोरम रहेको छ । उसले २८ तहमा जित निकालिसकेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले २४, फोरम लोकतान्त्रिकले ९ र अन्य दलले २३ सिट जितेका छन् ।
दलहरुले प्राप्त गरेका सिट संख्याका आधारमा एमालेले ४०, कांग्रेसले ३५, माओवादी केन्द्रले १४, संघीय समाजवादी फोरमले ४, राजपा ३ र अन्यले ४ प्रतिशत स्थानीय तहको प्रमुखमा जितेका छन् ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तहले पछि परेको कांग्रेसले तेस्रो चरणको निर्वाचनमा केही सुधार भने गरेको छ । प्रदेश नम्बर २ र ४ मा मात्र पहिलो दल बन्न सफल कांग्रेसले आइतबार बेलुकासम्म प्रदेश २ मा ३७ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी प्रदेश ४ मा ४४ स्थान हासिल गरेको छ । त्यस प्रदेशमा कांग्रेसले एमालेले भन्दा १० स्थान बढी जितेको छ ।
माओवादी केन्द्रले १०६ स्थानीय तहमा नेतृत्व लिएको छ । माओवादी केन्द्रले सबैभन्दा बढी प्रदेश ६ मा २५ स्थानीय तहको नेतृत्व लिइसकेको छ । त्यसपछि प्रदेश २ मा २१ तह जितेको हो ।
पहिलो र दोस्रो चरणको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सफल देखिएको एमाले तेस्रो चरणको निर्वाचनमा भने कमजोर देखिएको छ । १ सय ३६ तहका लागि असोज २ गते प्रदेश नम्बर २ मा भएको निर्वाचनमा एमाले पाँचांै दलका रूपमा खुम्चेको छ । एमालेले जम्मा १७ तहको मात्र परिणाम आफ्नो पक्षमा पारेको छ ।
एमालेले प्रदेश नम्बर एकमा ६९ तह, प्रदेश नम्बर तीनमा ६४, प्रदेश नम्बर चारमा ३४, प्रदेश नम्बर पाँचमा ४३, प्रदेश नम्बर ६ मा २७ र प्रदेश नम्बर सातमा ३९ तहका प्रमुख जितेको छ । दोस्रो दलमा धकलिएको कांग्रेसले प्रदेश नम्बर एकमा ५१, तीनमा ३५, चारमा ४४, पाँचमा ३३, ६ मा २५ र सातमा ३८ गरी २ सय ६३ स्थानीय तहको प्रमुख÷अध्यक्ष जितेको हो ।
माओवादी केन्द्रले प्रदेश नम्बर एकमा ९, प्रदेश नम्बर तीनमा १७, प्रदेश नम्बर चारमा ५, प्रदेश नम्बर ६ मा २५, प्रदेश नम्बर सातमा १० तहसहित १ सय ६ तह जितेको छ ।   
संघीय समाजवादी फोरम चौथो ठूलो दल बनेको छ । फोरमले २८ वटा स्थानीय तहमा नेतृत्व जितेको छ । तेस्रो चरणको निर्वाचनमा मात्र सहभागी राजपाले २४ तहमा जित निकालेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको राजपा तेस्रो चरणको निर्वाचनमा मात्र सहभागी भएको थियो ।
प्रदेश २ को स्थानी तह निर्वाचनमा फोरम लोकतान्त्रिकको उपस्थिति कमजोर देखिएको छ । उसले आइतबार साँझसम्म ९ तहमा मात्र प्रमुख जितेको छ ।
दोस्रो संविधानसभामा चौथो दलका रूपमा स्थापित तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हालको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच तहमा मात्र जितेको छ ।   
स्थानीय तहको निर्वाचन सहभागी हुन निर्वाचन आयोगमा ८० दलले निवेदन दिएका थिए । त्यसमध्ये पहिलो र दोस्रो चरणमा ६३ दल सहभागी थिए भने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भएसँगै ६४ दलले सहभागिता जनाएका थिए ।

प्रकाशित: ९ आश्विन २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App