७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौंमा भेटियो कालो कोकिन

काठमाडौं- ब्राजिल र पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पु¥याउन नाइजेरियाली र बोलिभियाली तस्करले विभिन्न उपाय अपनाउने गरेका छन् । सुटकेसमा फल्स बटम बनाएर लुकाउनु र क्याप्सुल बनाएर निल्नु तस्करीका सामान्य शैली हुन् ।

कोकाबाट बन्ने कोकिनको प्रारम्भिक रङ सेतो नै हुन्छ । सेतो रङको कोकिन बोकेर हिँड्दा सुरक्षाकर्मीले सहजै ठम्याउने भएपछि उनीहरुले जिंक, आइरनक्लोराइड र प्रिन्टमा प्रयोग हुने कार्टेजको  धुलो मिसाएर कोकिनलाई कालो बनाउँछन् ।

नेपालमा पक्राउ परेका कोकिन तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए । २०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो । ७ वर्षबीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकिन बरामद गर्दै आएको थियो ।
आइतबार लागूऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पु¥याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ ।
बोलिभियाका एडमर ऐनेजलोपेज २ किलो कालो कोकिन बोकेर बोलिभियाबाट ब्राजिल, दुबई हुँदै नेपाल आएका थिए । त्यही कोकिन लिन भारत लखनउकी कमर जहान दिल्ली हुँदै हवाईमार्गबाट काठमाडौं आएर ठमेलको एक होटलमा बसेकी थिइन् । लोपेजले कालो ब्यागमा ल्याएको कालो कोकिन बोकेर स्थलमार्गबाट भारत फर्कने योजना पूरा हुनुअगाडि नै ब्युरोको टोलीसम्म उनीहरुको योजना पुग्दा बीचैमा समातिए ।
प्रहरी लोपेजको साथमा रहेको सुटकेस खोलेर हेर्दा कालो धुलो फेला परेपछि एकछिन अलमलमा परेका थिए । कोकिन सेतो पाउडरजस्तो हुने भए पनि सुटकेसमा कालो धुलो थियो । सूचना गलत हो कि भन्ने आशंकामा कालो धुलोको ल्याब परीक्षण गर्दा कोकिन नै भएको पुष्टि भएपछि ब्युरोले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ ।
नेपालमा पहिलोपटक कालो कोकिन फेला परे पनि यो नौलो भने हैन । बोलिभियाली प्रहरीले १९ वर्षअगाडि नै कोकिन तस्करले सुरक्षा निकायको आँखा छल्न कालो कोकिन बनाउने गरेको खुलाएको थियो । बेलायतबाट प्रकाशित  इन्डिपेन्डेन्ट अनलाइनका अनुसार सन् १९९८  सेप्टेम्बरमा पहिलो पटक बोलिभियाली प्रहरीले कालो कोकिन फेला पारेको थियो । यसबीचमा जर्मनी, नेदरल्यान्ड, अस्ट्रेलियालगायतका देशमा समेत कालो कोकिन फेला परिसकेको छ ।
कोकाबाट बन्ने कोकिनको प्रारम्भिक रङ सेतो नै हुन्छ । सेतो रङको कोकिन बोकेर हिँड्दा सुरक्षाकर्मीले सहजै ठम्याउने भएपछि उनीहरुले जिंक, आइरनक्लोराइड र प्रिन्टमा प्रयोग हुने कार्टेजको  धुलो मिसाएर कोकिनलाई कालो बनाउँछन् । लक्षित स्थानमा पुगेपछि पुनः रसायन प्रयोग गरेर उनीहरुले कालो कोकिनलाई सेतो बनाउँछन् ।

खुल्दैनन् मुख्य नाइके
नेपालमा पहिलो पटक २०६८ मा कोकिन फेला परेको थियो । सात वर्षबीचमा प्रहरीले २३ किलोभन्दा बढी कोकिनसहित भारतीय, पाकिस्तानी, थाई, बोलिभियाली र दक्षिण अफ्रिकी गरी १७ जनाभन्दा बढी पक्राउ परिसकेका छन् ।
पक्राउ परेका भरियाबाट पेरु र ब्राजिलमा रहेका नाइजेरियाली नागरिकले नेपाललाई ट्रान्जिट बनाएर ब्राजिल, दुबई, भारत, मलेसिया, पाकिस्तान, अस्ट्रेलियामा रहेका नाइजेरियन मूलका नागरिकलाई परिचालन गरी तस्करीको जालो चलाउने गरेको खुले पनि मुख्य नाइके खुल्न सकेको छैन ।
नेपालमा पक्राउ पर्ने कोकिन भरियाले भेनेजुयलामा रहेका क्याथरिन र जोन नामका नाइजेरियाली नागरिकले कोकिन बोकेर पठाउने गरेको बयानमा खुलाउने गरेका छन् तर प्रहरीले जोनको पहिचान गर्न सकेको छैन । नेपाललाई ट्रान्जिट बनाउन हङकङमा वाहिद नामका अर्का पास्तिानीसमेत सक्रिय देखिएका छन् ।
ब्युरोका प्रमुख डिआइजी ठुले राईका अनुसार बोलिभियाबाट नेपालमा कोकिन पठाउने मुख्य ब्यक्ति नाइजेरियन नागरिक हुन् भने दिल्लीबाट जहानलाई नेपाल पठाउने व्यक्ति भारतीय महिला हुन् । जहानले आफ्नो नाइकेको परिचय ‘बेहेनजी’ मात्रै बताएकी छिन् । बोलिभियाली नागरिकले नाइजेरियाली नागरिक रफक्वाइनले कोकिन दिएर नेपाल पठाएको दाबी गरेका छन् ।
प्रहरीले वर्षको बीचमा जति पनि पक्राउ गरेको छ उनीहरुको भूमिका भरियामात्रै हो । आइतबार ब्युरोबाट सार्वजनिक दुईजनाको भूमिका पनि भरिया नै हो । बोलिभियाली नागरिकले १ हजार ५ सय अमेरिकी डलर पाउने भएपछि आफू कोकिन बोकेर ब्राजिल हुँदै नेपाल आएको बयान दिएका छन् ।
बोलिभियाली नागरिक पहिलो पटक नेपाल आएको खुलेको छ । भारतीय महिलाको हवाईयात्राको रेकर्ड हेर्दा उनी चल्तीको कोकिन भरिया देखिन्छ । उनी नेपालमा पक्राउ पर्नुअगाडि विभिन्न अफ्रिकी देशसँगै बंगलादेश र मलेसिया गएको खुलेको छ । कोकिन तस्करीमा यी सबै देश ट्रान्जिटका रुपमा प्रयोग हुने गरेका छन् ।

कोकिन बरामदको शृंखला
आइतबार १४ महिनापछि नेपालमा कोकिन फेला परेको हो । २०७३ साउनमा बोलिभियाली महिला रोसी गुड्डी र वारान्या काउपिकुल ३ किलो ५४ ग्राम कोकिनसहित पक्राउ परेपछि नेपालमा कोकिन फेला परेको थिएन ।
नेपालमा कोकिन बरामद शृंखला भने ७ वर्षदेखि सुरु भएको हो । २०६८ पुस १२ मा ब्युरोले एक किलो कोकिनसहित सुपरेत्ता मेक्यान्तोस पक्राउ परेकी थिइन् । पेरु, अर्जेन्टिना, कतार हुँदै नेपाल आएर मलेसिया हुँदै थाइल्यान्ड जान विमानस्थल पुग्दा उनको झोलामा रहेको टुना फिसको बट्टामा कोकिन फेला परेको थियो ।
प्रायः अन्तर्राष्ट्रिय यात्रुले नेपालबाट माछाको बट्टा लैजाँदैनन् । उनले आफू माछाको सौखिन भएकाले बोकेको दाबी गरेकी थिइन् । प्रहरीले बट्टा हल्लाउँदा आवाज नआएपछि खोलेर हेर्दा कोकिन फेला परेको थियो ।
२०७० फागुन ६ मा दुबई हँुदै काठमाडौं आएका नामिबियन रेमन्ड जुगु ओपेलको पेटबाट कोकिनको २ सय ६९ क्याप्सुल फेला परेको थियो । २०७१ जेठमा २ किलो ८ सय ग्राम कोकिनसहित फिलिपिनी नागरिक क्रिस्टिना हारो र पाकिस्तानी आइसा हुसेन पक्राउ परेका थिए । त्यही वर्ष चैतमा विनित जमाउद्दिनको ल्यापटप ब्यागमा ११ किलो कोकिन फेला परेको थियो । सोही वर्ष जेठ १२ मा २ किलो ६ सय ग्राम कोकिनसहित भेनेजुएलाकी यमरिस कारमिन, भारतीय नागरिक तोहिद खान, नेपाली दिलबहादुर गुरुङ र नाइजेरियाली मोहम्मद लिमा डोबा पक्राउ परेका थिए ।
२०७२ चैत १५ मा २ किलो ७ सय ग्राम कोकिनसहित दक्षिणी अफ्रिकी एमपाथोनी मसानी र भारतीय नागरिक मेर्सी पक्राउ परेका थिए । २०७३ जेठ १६ मा चिनियाँ नागरिक चुन म्यान हो ३ किलो कोकिनसहित पक्राउ परेका थिए ।

प्रकाशित: ९ आश्विन २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App