७ वैशाख २०८१ शुक्रबार
समाज

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

भेरी अञ्चल अस्पतालमा भर्ना भएका बिरामी । डाक्टरको आन्दोलनका कारण बिरामीले विशेषज्ञ उपचार पाउन सकेका छैनन् । तस्बिर: अर्जुन ओली

नेपालगन्ज- पेट दुख्ने समस्याले सताएपछि उपचारका लागी भेरी अञ्चल अस्पताल आएका दाङ, घोराही निवासी सन्दिप केसी आईतबार निराश भएर घर फर्किए । अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन भनि एका बिहानै घरबाट निस्केका उनी जब भेरी अञ्चल अस्पतालको परिसरमा प्रवेश गरे, त्यसपछि मात्र डाक्टरहरु आन्दोलित भएको जानकारी पाएका थिए। 

भेरी अस्पताल बाहेक बाहिरका निजी अस्पताल र क्लिनिकमा पनि स्वास्थ्य परिक्षण गराउने अनेक कोसिस गरे, तरपनि कतै पाएनन् । ‘पेट दुख्ने समस्याले सताएको धेरै भईसक्यो, नेपालगन्ज आएको त डाक्टरको आन्दोलनले गर्दा चेकअप गराउन पाइएन,’ नागरिकसँग दुखेसो पोख्दै उनले भने।

सन्दिप जस्ता थुप्रै बिरामीले उपचार गराउन पाएनन्। भेरी अञ्चल अस्पताल सहित नेपालगन्जका निजी अस्पताल र क्लिनिकमा स्वास्थ्य परिक्षण गराउन आएका बिरामीको आईतबार विजोग भयो। सदरमुकाम बाहिर तथा बाहिरी जिल्लाबाट आएका बिरामी उपचार गराउन नपाएर घर फर्किनुपर्ने बाध्यता परेका छन्। अस्पतालमा उपचार गराउन आएका कतिपय बिरामी होटल र आफन्तको घरमा बसिरहेका छन्।

‘रोल्पाको अस्पतालले नसकेपछि यता रिफर गरिदियो, २४ हजार एम्बुलेन्स भाडा तिरेर श्रीमतीलाई भेरी अस्पतालमा ल्याईयो,’ उनले भने ‘यहाँ भर्ना गर्ने काम मात्रै भएको छ, तीन दिन भईसक्यो, राम्रा डाक्टर अहिले सम्म देख्न पाएको छैन।’

डाक्टरले थालेको आन्दोलनबाट निर्दोश बिरामीले ठुलो मार खेप्नु परेको छ । राप्तीसोनारी गाउँपालिका–१ खासकुश्माबाट उपचार गराउन आएकी भुमा केसीले पनि आइतबार नेपालगन्जका कुनैपनि अस्पतालमा उपचार गराउन पाईनन्। असार अन्तिम साता सडक दुर्घटनामा परी घाईते भएकी उनी फ्लोअपमा डाक्टरलाई स्वास्थ्य चेकजाँच गराउन आएकी थिईन् । नेपालगन्ज आइसकेपछि अस्पतालका डाक्टरले आफुहरु आन्दोलनमा रहेको र आन्दोलनका बेला बिरामी हेर्न नसकिने जवाफ दिएपछि भुमा केहीबेर अलमलमा परिन्। 

उपचार नपाएर आफन्तको घरमा बसेकी उनले भनिन्, ‘दुर्घटनामा भाँच्चिएको खुट्टाको अवस्था कस्तो छ भनेर चेक गराउन आएकी हुँ, तर डाक्टरको आन्दोलनबारे थाहा थिएन, नेपालगन्ज आइसकेपछि मात्र थाहा पाईयो, बेकारमा आएजस्तो भयो।’ डाक्टरको आन्दोलनका कारण बिरामीले अस्पतालका कुनैपनि ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन पाएका छैनन्, भने निजी क्लिनिकमा पनि डाक्टर आउन छाडेका छन्।

आपतकालिन लगायत अन्य सम्वेदनशिल वार्डमा समेत विशेषज्ञ डाक्टर नियमित रुपमा पुग्ने गरेका छैनन्। यसले गर्दा भर्ना भएर अस्पतालमा बसिरहेका बिरामी समेत गुणस्तरिय सेवा लिनबाट बञ्चित हुन पुगेका छन्।

रोल्पाको थवाङबाट बिरामी श्रीमतीलाई लिएर तीनदिन अघि भेरी अञ्चल अस्पताल आएका गमलाल बुढाले डाक्टरको आन्दोलनका कारण राम्रो उपचार नपाएको गुनासो गरे। ‘रोल्पाको अस्पतालले नसकेपछि यता रिफर गरिदियो, २४ हजार एम्बुलेन्स भाडा तिरेर श्रीमतीलाई भेरी अस्पतालमा ल्याईयो,’ उनले भने ‘यहाँ भर्ना गर्ने काम मात्रै भएको छ, तीन दिन भईसक्यो, राम्रा डाक्टर अहिले सम्म देख्न पाएको छैन।’

उनकी ४५ बर्षिया श्रीमती जुना बुढामगर करिव एक महिनाको सुत्केरी हुन्। घरमै बच्चा जन्माएकी जुनाको रगत बग्ने र पेटसम्बन्धी समस्या बल्झिएपछि गमलालले ऋण, सापटी गरेर रोल्पा अस्पतालमा पुर्याएका थिए। त्यहाँको अस्पतालले नसक्ने जवाफ दिदै नेपालगन्ज रिफर गरिदिएको थियो । डाक्टरको आन्दोलनले गर्दा श्रीमतीले राम्रो उपचार नपाएको र घरबाट ल्याएको पैसा पनि सकिन थालेको उनको चिन्ता छ।

आन्दोलनरत डाक्टरले अस्पतालको ओपिडी कक्षमा बिरामी जाँच्न छाडेपछि आपतकालिन कक्षमा अचेल धेरै चाप बढेको छ। भेरी अस्पताल आपतकालिन कक्षका पारामेडिक्स अर्जुन शाहले ओपिडीमा जानुपर्ने बिरामी आपतकालिन कक्षमा आउँदा धेरै समस्या हुने गरेको बताए । ‘डाक्टर साबहरुले इमेरजेन्सीमा बिरामीको उपचार गरिरहनु भएको छ, ओपिडीबाट फर्केका कतिपय बिरामीले इमेरजेन्सी कक्षमा उपचार गराउन खोज्नुहुन्छ, यसले गर्दा उपचारको व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने । अस्पतालको आपतकालिन कक्षमा १६ वडा शैड्ढया रहेको छ। 

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले उपचारका क्रममा चिकित्सकको हेल्चेक्र्याइँले बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेपछि देशभरका डाक्टर आन्दोलित बनेका हुन्। केन्द्रिय निर्णयअनुसार बाँकेका डाक्टरले पनि शुक्रबारबाट आन्दोलन गरेका हुन्। मन्त्रिपरिषदको निर्णय नसच्याउँदा सम्म आन्दोलन नरोक्ने डाक्टरले चेतावनी दिएका छन्।

नेपाल चिकित्सक संघ भेरी अञ्चल कार्यसमितिका सचिव डाक्टर आर.के. झाँले सरकारले निर्णय नसच्याउँदा सम्म आन्दोलन नरोक्ने बताए। ‘सरकारले निर्णयमा पुर्नविचार नगरे आन्दोलन अझ सशक्त पार्ने हाम्रो योजना छ,’ उनले नागरिकसँग भने। आन्दोलन गर्नु आफुहरुको बाध्यता भएको र बिरामीलाई दुःख दिन नचाहेको उनले जिकिर गरे।

 

प्रकाशित: ८ आश्विन २०७४ १५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App