४ वैशाख २०८१ मंगलबार
राजनीति

चिकित्सकको आन्दोलनका कारण अस्पताल र क्लिनिक बन्द, बिरामीको बिजोग

चिकित्सकहरु हड्तालमा जाँदा नारायणी अस्पतालको ओपीडि अगाडी अलमलिएका बिरामीहरु। तस्बिर: रितेश

 वीरगन्ज- चिकित्सकहरुको आन्दोलनले गर्दा सबै अस्पताल, निजी क्लिनिक, नर्सिङहोम बन्द भएपछि वीरगन्जमा सयौं बिरामीहरु बिच्चलीमा परेका छन्। अस्पतालहरुमा आकास्मिक सेवा मात्र संचालित छ। उपचारको क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकहरुबाट क्षतिपुर्ति भराउने बिधेयक सरकारले ल्याउन लागेको  भन्दै सोको बिरोधमा आन्दोलित भएको चिकित्सकहरु बताउँछन्।

एकातिर चिकित्सकहरुको यो आन्दोलन छ भने अर्कोतिर बिरामीहरुको समस्या। वीरगन्जको नारायाणी अस्पतालमा  आइतवार दिनभरी बिरामीहरु आउने र फर्किने क्रम चलिरह्यो। बहिरंग बिभाग (ओपीडि)को चिकित्सकहरुको कोठामा ताला थियो। अलि बढी समस्यामा रहेका बिरामीहरु आकस्मिक कक्षतिर गइरहेका थिए। भिडले गर्दा अस्पतालको आकस्मिक कक्षमा भित्र पस्ने ठाउँ पनि थिएन । टाइफाइड भएको स्थानीय स्वास्थ्यकर्मीले बताएपछि ज्वरोसहित वीरगन्ज नगवाका ६० बर्षे अर्जुन पंडित साढे १० बजे अस्पताल आइपुगेका थिए। अस्पतालसंगै निजी क्लिनिहरु पनि बन्द रहेको थाहा पाएपछि उनी ‘कहाँ जाउँ–नजाउँ’ भन्ने सोँचमा दिउँसो १ बजेसम्म ओपिडीको मेडिकल बिभागमा बसीरहेका थिए । ‘अब के गर्ने होला थाहा छैन्,’ बोल्न पनि समस्या भइरहेका उनले छोटो प्रतिक्रिया दिए।

जगतपुर बाराका नगिना पासवान (दलित)को समस्या अलि फरक थियो। बाथरोगले घुँडा दुखाई बढेपछि झण्डै थलिएका छन् उनी । आइतवार सालोलाई उनले बोलाएका थिए, ‘समय निकालेर आउ मलाई अस्पताल लिएर हिड्।’ अस्पताल आएपछि हड्ताल थाहा पाए । दुखाइले टेक्न गाह्रो भइरहेको खुटा यो सुनेर अझ गल्यो । अस्पतालकै सिढीमा थच्चक बसीहाले। ‘हामी काम गरेर खाने मान्छे, समय निकालेर यिनलाई लिएर आएको थिएँ, यहाँ डाक्टरहरुको हड्ताल रहेछ,’ नगिनाका सालो देवराज पासवानले भने, ‘बसुँ कि बिरामीलाई लिएर फर्कु ? समझमा आएन।’ छप्कैया कि नुरजाँहा खातुन गर्भवति बुहारीको जाँच गराउन आएकी थिइन, फर्केर गइन्।

बन्द रहेको बिरामी जाँचपुर्जी लिने झ्याल नजिक आन्दोलन घोषणा गर्दै चिकित्सक संघ नारायणीले टाँस गरेको सूचना छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सूरक्षा सम्बन्धी ऐन, २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा बिरामीको मृत्यु लापारवाहीबाट भएको बैज्ञानिक अनुसन्धानबाट ठहरिएको खण्डमा उक्त ऐनमा उल्लेखित समन्यव समितिले क्षतिपुर्ति भराईदिने कुरा स्पष्ट ब्यवस्था रहेको सर्वविदितै छ,’ चिकित्सक संघको सूचनामा छ, ‘सो कानूनी प्रवधानलाई बेवास्ता गर्दै मन्त्रीपरिषदको असोज २ को बैठकले उक्त एनको मर्म र भावना बिपरित सम्पुर्ण चिकित्सकहरुको मानमर्दन गर्ने र पेशेवर समाजिक अपराधीहरुको मनोबल बढाउने गरी चिकित्सकहरुबाट क्षतिपुर्ति बढाउने उदेश्यले  बिधेयक बनाउन स्वास्य मन्त्रालयलाई दिएको निर्देशनप्रति चिकित्सक संघ नारायणी घोर भर्तसना गर्दछ ।’ बिज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथी भौतिक आक्रमण हुँदा ‘धरौटी नहुने किसिमको गिरफ्तारी’ हुने ऐनको दफा १५ लाई परिमार्जन गर्न माग पनि गरिएको छ ।

सरकारलाई दिएको ३ दिने अल्टिमेटमको सुनुवाई नहुँदा ६ गतेदेखी आकाश्मिक कक्ष बाहेकको सेवा बन्द गरिएको उल्लेख छ । ‘अस्पतालको ओपिडी वाड बन्द भए पनि सेवाहरु आकाश्मिक कक्षबाटै दिरहेका छौं, एउटा अस्पतालको लागि होइन चौतर्फी आन्दोलन हो, बिरामीलाई समस्यामा पार्ने काम हामी हुन दिदैनौं,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट चितरन्जन साहले भने, ‘चाँडो सरकारले सुनुवाई गरोस्, आइतबार दिनभरी कुनै रेस्पोन्स आएको थाहा पाइएको छैन् ।’ साँझ बस्ने संघको बैठकले आगामी कदम तय गर्ने उनले बताए ।

 

प्रकाशित: ८ आश्विन २०७४ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App