coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीयले थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति

राजविराज– भारतीयहरुले दशगजा क्षेत्रमा थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फका सप्तरी प्रशासनका अधिकारी र भारततर्फको बिहार राज्यको सुपौल जिल्ला प्रशासनका अधिकारीबीच शुक्रबार भएको वार्तापछि उक्त सहमति भएको हो।

सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्लाअन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायतबीच दशगजा मिचेर भारतीयहरुले बाँध बनाउन लागेको भन्दै नेपालतर्फका स्थानीयहरुले बिहीबार प्रतिकार गरेका थिए। सोही क्रममा नेपाली तथा भारतीयहरुबीच झडपसमेत भएको थियो। झडप पश्चात उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै दुवै तर्फका स्थानीय प्रशासनले शुक्रबार बिहानैदेखि सहमतिको पहल थालेका हुन्।

सप्तरीको कुनौलीस्थित कोसी योजनाको कार्यालयमा दुवैतर्फका अधिकारीहरुको उपस्थितिमा भएको वार्तापछि दशगजामा बाँध बनाउने काम तत्काल रोक्ने निर्णय गरिएको तिलाठीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी गराए। श्रेष्ठका अनुसार दुवैतर्फका जलस्रोत एवम् सिंचाईका प्राविधिकहरुले एक साताभित्र खाँडो नदी निकासको सम्बन्धमा प्रतिवेदन बुझाउने र सोही आधारमा नदीको निकास निर्माण गरेपछि मात्रै भारतीय पक्षले काम थाल्ने सहमति भएको हो।

हाल विवादित क्षेत्रमा नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारततर्फ भारतीय सीमा सुरक्षा बल(एसएसबि) र बिहार पुलिसका जवानहरु ठूलो संख्यामा परिचालित गरिएको छ। बिहीबार जस्तै असहज परिस्थिति उत्पन्न नहोस् भनेर दुबैतर्फका सुरक्षाकर्मीहरु शतर्क बसेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।  

बिहीबार साँझ भएको झडपका क्रममा भारतीयहरुको कुटाईबाट नेपालतर्फका एक १२ जनाभन्दा बढी सर्वसाधारण घाइते भएका थिए। भारतीयहरुले दशगजा मिचेर नेपालतर्फ बाँध बनाउन लागेको स्थानीय नेपालीहरुको गुनासो गरेका छन्।

 

प्रकाशित: १४ श्रावण २०७३ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App